यसपालि त यस्तै भो आमा…
"म चिसो भुइँमा थकित शरीर बिसाइरहेको हुन्छु। तपाईं आँगनमा बसेर छोराको खबर सुन्न बाटो हेर्दै हुनुहुन्छ, म भने अपरिचित सहरका सडकमा आफ्नो पसिनाको मूल्य खोजिरहेको हुन्छु।कसैको रुखो बोली सहनुपर्छ, कसैको अपमान चुपचाप पचाउनुपर्छ, मन रोइरहे पनि हाँस्नुपर्छ।"
यसपालि त यस्तै भो आमा,
फेरि पनि उही गीत दोहोरियो
जीवन शर्माको स्वरझैँ मनको कुनै कुनाबाट गुञ्जिरह्यो,
“अर्को साल आउने छु दशैँमा…”
गत वर्ष पनि यही भनेको थिएँ,
तपाईंका आँखामा आशा सजाउँदै,
आफ्नो मनलाई पनि ढाडस दिँदै
“आमा,
यसपालि त पक्कै आउँछु,
तपाईंको हातको टीका लगाउँछु,
आँगनमा बसेर जमरा सिउरिन्छु,
र धेरै वर्षदेखि थन्किएको मेरो बाल्यकाल फेरि एकपटक बाँच्छु।”
तर आमा,
वाचाहरू समयसँगै थाक्दा रहेछन्,
रहरहरू परिस्थितिसँगै हार्दा रहेछन्।
घर फर्किने बाटो आँखाभरि हुँदा पनि खल्तीको हिसाब र जिम्मेवारीको भारीले मेरो पाइला फेरि परदेशमै रोकिदियो।
फेरि एकपटक मेरो वाचा चुँडियो,
फेरि एकपटक तपाईंको प्रतीक्षा लम्बियो,
र मेरो दशैँको सपना परदेशको अँध्यारो आकाशमा तारा झरेझैँ हरायो।
शरीर त यहाँ छ
आमा,
तर मेरो आत्मा अझै गाउँमै छ।
त्यही पुरानो घरको दलानमा, त्यही गोठको न्यानो गन्धमा, त्यही बारीको डिलमा बसेर घाम तापिरहेको मेरो बाल्यकालमा।
धानका बाला हावासँगै झुल्दा तिनको सुगन्ध छातीभरि भर्न मन छ,
खेतका आलीमा पाइला टेक्दै माटोसँग आफ्नो दुःख साट्न मन छ।
गाउँका ती पाखा, पखेरा, पँधेरा र चौतारीहरू, गोठबाट सुनिने गाईबस्तुका आवाज, साँझपख चराकाे चरिविरी,
आँगनमा खेल्दै बिताएका ती दिनहरू
आहा ! आमा,
यी सबै सम्झनाहरू परदेशको कोठामा एक्लै हुँदा मेरो साससँगै आइपुग्छन्।
कहिलेकाहीँ लाग्छ,
आँखा चिम्लेर एकपटक गाउँ पुगूँ,
तपाईंको काखमा टाउको राखूँ,
मनभित्र थुप्रिएका पीडाहरू आँसु बनेर बग्न दिऊँ।
तपाईंले कपाल मुसार्दै भन्नुहोस्
“केही हुन्न बाबु, सबै दुःख बिस्तारै हराउँछन्।”
तर आँखा खोल्दा सामुन्ने उही परदेशको कोठा, उही एक्लोपन, उही अधुरो सपना र उही नफर्किएको बाटो हुन्छ।
दशैँ नजिकिँदै जाँदा सामाजिक सञ्जाल पनि रङ्गीन बन्छ
आमा,
साथीहरू नयाँ लुगा लगाएर जमरा र टीकासहितका तस्बिर राख्छन्। कसैको निधारमा रातो टीका, कसैको कपालमा पहेँलो जमरा, कसैको तस्बिरमा हजुरबा–हजुरआमाको आशीर्वाद,
कसैको घरमा परिवारको हाँसो।
म पनि ती तस्बिरहरू हेर्छु,
मनमनै खुसी हुन्छु,
अनि थाहै नपाई आँखाको कुनाबाट आँसु झर्छ।
अरूको खुसी देखेर डाह लाग्दैन आमा,
बरु आफ्नै भाग्य सम्झेर मन रुन्छ।
किनकि ती तस्बिरहरूमा मैले पनि बाँच्न चाहेको जीवन हुन्छ,
तर त्यो खुसीको घेराभित्र म कतै अटाउन सक्दिनँ।
“दशैँमा किन नआएको?”
“घरको याद आउँदैन र?” “आमाबुबालाई भेट्न मन लाग्दैन?”
यी प्रश्नहरू सुन्दा ओठमा मुस्कान टाँसेर भन्छु
“कामले गर्दा आउन सकिनँ,
अर्को साल अवश्य आउँछु।”
तर कसलाई सुनाऊँ आमा,
यो मुस्कानभित्र लुकेको आँधी?
कसलाई देखाऊँ यो मनमा वर्षौंदेखि थुप्रिएको पीडा?
उत्तर त मसँग पनि छैन। छ त केवल विवशताको एउटा ठूलो घेरा,
जसको भित्र म दिनहुँ बाँचिरहेको छु।
न चाहेर पनि छुट्न सकिने,
न सजिलै तोड्न सकिने यो परदेशको बाध्यता कहिलेकाहीँ आफ्नै छायाँ पनि आफूभन्दा टाढा भएको जस्तो लाग्छ।
आमा,
परदेशको घडी र गाउँको घडी कहिल्यै एउटै समयमा चल्दैनन्।
तपाईं बिहानको खाना खाँदै हुनुहुन्छ,
म बेलुकाको ड्युटीमा निस्कँदै हुन्छु।
तपाईंको चुल्होमा आगो बलिरहेको हुन्छ,
म चिसो भुइँमा थकित शरीर बिसाइरहेको हुन्छु। तपाईं आँगनमा बसेर छोराको खबर सुन्न बाटो हेर्दै हुनुहुन्छ,
म भने अपरिचित सहरका सडकमा आफ्नो पसिनाको मूल्य खोजिरहेको हुन्छु।
कसैको रुखो बोली सहनुपर्छ, कसैको अपमान चुपचाप पचाउनुपर्छ,
मन रोइरहे पनि हाँस्नुपर्छ,
शरीर थाकेर गलिसक्दा पनि भोलिको जिम्मेवारी सम्झेर उठ्नुपर्छ।
किनकि
आमा,
यहाँ मेरो थकाइभन्दा ठूलो घरको आवश्यकता छ,
मेरो रहरभन्दा ठूलो परिवारको भविष्य छ,
र मेरो आँसुभन्दा ठूलो तपाईंको अनुहारमा खुसी देख्ने सपना छ।
मलाई पनि अरूजस्तै दशैँमा घर फर्किने रहर छ,
नयाँ लुगा लगाएर तपाईंको अगाडि बालकझैँ उभिने रहर छ।
तर यहाँ रहरले मात्र चुल्हो बल्दैन,
आँसुले मात्र ऋण तिरिँदैन, र सम्झनाले मात्र घरको जिम्मेवारी पूरा हुँदैन।
त्यसैले
आमा,
म आफ्नो मनलाई सम्झाउँछु
“अलिकति सह, राजकुमार, सायद भोलि परिस्थिति फेरिएला, सायद अर्को दशैँमा आमाको आँगनमा पाइला टेक्न पाइएला।”
तर एउटा पीडा छ
आमा,
जसलाई सम्झनासम्म पनि मनले सजिलै सहन सक्दैन।
तपाईंकी छोरी मान्दै, मेरी बहिनी जुनी मायाको सम्झना।
उनको मायालु अनुहार, उनको त्यो आत्मीय बोली, मलाई देख्नेबित्तिकै “दाइ!” भनेर बोलाउने त्यो स्वर
आज पनि मेरो मनको कुनाकाप्चामा जस्ताको तस्तै जीवित छ।
कहिलेकाहीँ सपनामा देख्छु,
उनी मुस्कुराउँदै मेरो छेउमा आउँछिन्। म हतारहतार सोध्छु
“बहिनी, तिमीलाई कस्तो छ?
यति लामो समय कहाँ हरायौ?
दाइलाई एक्लै छोडेर किन यति टाढा गयौ?”
उनी केही बोल्न खोज्छिन्,
म उनको हात समात्न खोज्छु, तर त्यही क्षण निद्रा खुल्छ।
सामुन्ने उही सुनसान कोठा,
हातमा उही मोबाइल, र मनमा उही कहिल्यै नमेटिने रिक्तता।
त्यसपछि धेरैबेरसम्म म आफैँलाई सम्हाल्न सक्दिनँ
आमा।
आँखाबाट झर्ने आँसु पुछ्दै उनको पुरानो तस्बिर हेर्छु, र मनमनै भन्छु
“बहिनी, एकपटक मात्रै फर्केर आऊ, दाइले तिमीलाई धेरै कुरा भन्न बाँकी छ।”
मोबाइल उठाउँछु, फोन गर्न मन लाग्छ, उनको आवाज सुन्न मन लाग्छ, तर नम्बर थिच्न खोज्ने औँलाहरू एकाएक रोकिन्छन्।
कसलाई फोन गरूँ
आमा,
कहाँबाट बोलाऊँ उनलाई? कुन आकाशमा खोजूँ मेरो त्यो प्यारो बहिनीलाई?
उनी त अब सम्झनाको आकाशमा टाँगिएकी एउटी चङ्गाझैँ भएकी छन्,
जसको डोरी समयले चुँडाइदियो,
तर जसको सम्झना मेरो मनबाट कहिल्यै चुँडिन सकेन।
सायद तपाईं पनि आजसम्म उनको बाटो हेर्नुहुन्छ होला, घरको कुनै कुनामा उनको अभाव महसुस गर्दै आँचलले आँसु पुछ्नुहुन्छ होला।
कुनै पुरानो कुरा सम्झँदा अचानक चुप लाग्नुहुन्छ होला, र मनमनै भन्नुहुन्छ होला “मेरी छोरी आज भइदिएकी भए…”
आमा,
तपाईंको त्यो मौन पीडा म यहाँबाट कसरी बुझूँ? तपाईंको आँसु पुछ्न नसक्ने यो छोराको विवशता कसरी शब्दमा उतारूँ?
अब उनी फर्केर आउँदिनन्,
यो सत्य स्वीकार्न मनले अझै सिकिरहेको छैन। हामीले भने बाँच्नुपर्छ,
उनका अधुरा सपनाहरू सम्झेर, उनको मायालाई मुटुभित्र राखेर,
उनको हिस्साको खुसीसमेत एकअर्कालाई बाँडेर।
दशैँ आयो आमा, तर यसपालि मनमा उज्यालो आएन। घरघरमा मङ्गलधुन बज्दा, मन्दिरमा घण्टीहरू बज्दा,
आकाशमा चङ्गाहरू उड्दा, परदेशको यो मन भने कतै शून्यमा अड्किएर रह्यो।
यहाँ पनि दशैँ आउँछ,
बजारमा रङ्गीचङ्गी सामान सजिन्छन्, मानिसहरू नयाँ लुगा किन्छन्,
आफ्ना परिवारलाई उपहार पठाउँछन्।
तर आमा,
मेरो मनले खोजेको दशैँ बजारमा पाइँदैन।
मलाई चाहिएको त तपाईंको हातको त्यो टीका हो,
मखमली र सयपत्रीको त्यो सुगन्ध हो, आँगनको डिलमा बसेर तपाईंले स्नेहपूर्वक खुवाएको खिर हो, र निधारमा टीका लगाइदिँदै कम्पित स्वरमा भन्नुभएको त्यही आशीर्वाद हो
“मेरो छोरो सधैँ सुखी रहोस्,
जहाँ बसे पनि सुरक्षित रहोस्, दुःखले कहिल्यै नछोओस्, भगवान्ले सधैँ रक्षा गरून्।”
आमा,
तपाईंको त्यो पहेँलो सारी, हातमा टीकाको थाली, निधारमा रातो टीका, ओठमा मधुर मुस्कान र आँखामा छोरालाई देख्दाको खुसी यी दृश्यहरू आज मेरा लागि स्मृतिका तस्बिर मात्र बनेका छन्।
ती तस्बिरहरू सम्झँदा मन एकैपटक हाँस्छ पनि, रोइदिन्छ पनि।
किनकि खुसीका ती दिनहरू समयले टाढा लगिसकेको छ, तर तिनको न्यानोपन आज पनि मेरो मुटुमा बाँकी छ।
आमा,
मलाई थाहा छ,
तपाईंलाई ठूलो उपहार चाहिएको छैन, न त सुनचाँदीका गहना, न महँगा कपडा, न कुनै विशेष सौगात।
तपाईंलाई त केवल ढोकाबाट “आमा!” भन्दै भित्र पस्ने आफ्नो छोरो चाहिएको हो। थाकेको शरीर लिएर आए पनि तपाईंको काखमा टाउको राख्ने त्यही पुरानो बालक चाहिएको हो।
सायद तपाईंको मनले मेरो कमाइभन्दा धेरै मेरो उपस्थितिको मूल्य बुझ्छ।
सायद तपाईंका आँखाले मैले पठाएका पैसाभन्दा धेरै मेरो अनुहार हेर्न खोज्छन्।
तर म यहाँ छु
आमा,
कर्तव्यको डोरीमा बाँधिएको, समयको कठोर घेराभित्र थुनिएको,
तपाईंको मायालाई छातीमा च्यापेर दिनरात आफ्नो भविष्यसँग जुधिरहेको।
मलाई माफ गर्नुहोला
आमा,
यसपालि पनि आउन सकिनँ। मेरो प्रतीक्षामा बितेका दिनहरू, ढोकातिर हेरेर टोलाएका साँझहरू, दशैँको दिन पनि छोराको अभावमा भिजेका तपाईंका आँखाहरू
यी सबैको ऋण सायद म जीवनभरि तिर्न सक्दिनँ।
तर एउटा कुरा विश्वास गर्नुहोस्, म तपाईंलाई बिर्सिएको छैन। परदेशको भीडमा हराउँदा पनि मेरो मनले तपाईंलाई खोजिरहन्छ। कामको थकाइले आँखा बन्द हुँदा पनि मेरो सपनाले गाउँको बाटो समाउँछ।
रातको सुनसानमा एक्लै हुँदा मेरो ओठबाट निस्कने पहिलो नाम अझै पनि तपाईं नै हुनुहुन्छ
आमा
यसपालिको पीडालाई म भोलिको आशा बनाएर साँच्नेछु। यो अधुरो दशैँलाई अर्को दशैँको वाचा बनाएर राख्नेछु।
तर यसपटक वाचा गर्दा मनभित्र एउटा डर पनि छ,
कतै समयले फेरि मेरो रहरभन्दा छिटो पाइला चाल्ने त होइन?
कतै तपाईंको प्रतीक्षामा बित्ने दिनहरू म फर्किनुअघि नै धेरै टाढा पुग्ने त होइनन्?
त्यसैले आमा,
आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। समयमै खाना खानुहोस्,
औषधि खानुपर्ने भए नबिर्सनुहोस्, धेरै चिन्ता नगर्नुहोस्।
म टाढा छु भन्दैमा आफ्नो मनलाई दुःखमा नडुबाउनुहोस्।
म चाँडै फर्किने दिनको कल्पना गर्दै हरेक बिहान काममा निस्कन्छु,
हरेक रात थाकेर ओछ्यानमा पल्टन्छु, र मनमनै भगवान्सँग प्रार्थना गर्छु
“हे भगवान्, मेरी आमालाई स्वस्थ राखिदिनू, उहाँको मुहारको उज्यालो जोगाइदिनू, र मलाई त्यो दिन देखाइदिनू जुन दिन म फेरि आफ्नै घर फर्कन सकूँ।”
त्यो हराएको हाँसो फर्काउन नसकूँला, बहिनीको अभाव कहिल्यै पूरा गर्न नसकूँला, बितेका वर्षहरू फेरि फर्काएर ल्याउन नसकूँला।
तर तपाईंको आँखामा फेरि एकपटक खुसी देख्न, तपाईंको हातको टीका लगाउन, बहिनीको सम्झनामा सँगै बसेर केही आँसु झार्न, र तपाईंको काखमा मनको सबै बोझ बिसाउन म सधैँ कोसिस गरिरहनेछु।
आमा,
अर्को दशैँमा आउन पाऊँ या नपाऊँ, मेरो मनको बाटो भने सधैँ तपाईंको घरतिरै फर्किरहनेछ।
मेरो हरेक प्रार्थनामा तपाईंको नाम हुनेछ,
मेरो हरेक सपनामा गाउँको आँगन हुनेछ,
र मेरो हरेक धड्कनमा तपाईंको माया जीवित रहनेछ।
आज परदेशको आकाशमुनि उभिएर टाढा कतै गाउँको आकाश सम्झँदै म यति मात्रै भन्न चाहन्छु
“आमा,
मेरो अनुपस्थितिलाई मेरो बेवास्ता नसम्झनुहोला। म टाढा छु, तर तपाईंको मायाभन्दा टाढा छैन।
मेरो पाइला परदेशमा रोकिएको छ, तर मेरो मनको घर अझै पनि तपाईंको काखमै छ।”
यसपालि त यस्तै भो
आमा…
फेरि पनि दशैँ अधुरै रह्यो। फेरि पनि तपाईंको हातको टीका मेरो निधारसम्म आइपुगेन।
फेरि पनि बहिनीको सम्झनाले मेरो मन भित्रभित्रै रोइरह्यो।
तर आशा अझै मरेको छैन
आमा,
घर फर्किने सपना अझै बाँकी छ। कुनै दिन यो परदेशको बाटो छोडेर तपाईंको आँगनमा उभिनेछु, ढोकाबाट चर्को स्वरमा बोलाउनेछु— “आमा,
म आएँ!”
त्यो दिन तपाईंको आँखामा आनन्दका आँसु देख्न पाऊँ, तपाईंको हातले मेरो अनुहार मुसारोस्,
म तपाईंको काखमा टाउको राखेर वर्षौंदेखिको थकाइ बिसाउन पाऊँ।
त्यो दिनका लागि म आज पनि सपना देखिरहेको छु,
आज पनि पसिना बगाइरहेको छु,
आज पनि तपाईंलाई सम्झेर आफ्नो मन सम्हालिरहेको छु।
आमा,
मलाई पर्खिरहनुहोला,
तर मेरो प्रतीक्षामा आफूलाई नदुखाउनुहोला।
तपाईंको आशीर्वाद नै मेरो शक्ति हो,
तपाईंको माया नै मेरो सम्पत्ति हो, र तपाईंको काख नै मेरो संसार।
उही परदेशको छायाँबाट गाउँको आँगन सम्झेर आँसु पुछिरहेको,
बहिनीको स्मृतिमा मन भिजाइरहेको, आमाको मायाका लागि हरेक दिन आफ्नै विवशतासँग लडिरहेको—
उही तपाईंको अभागी छोरा,
राजकुमार
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस