"अभावको आँगनमा फुलेको खुसी"

:"दिउँसो छिमेकीको घरबाट थोरै पोलेको मासु आयो। मनबहादुरले त्यो मासु हातमा लियो र निकै बेरसम्म हेरिरह्यो। उसले त्यसलाई कुनै भोजको दुर्लभ परिकार पाएजस्तै गरी बिस्तारै खायो। हरेक गाँससँगै उसको अनुहार उज्यालो हुँदै गयो। “आमा, यस्तो मीठो मासु त मैले कहिल्यै खा

दशैँ आएको थियो। गाउँका घरहरू रातो टीका, जमरा र नयाँ लुगाले सजिएका थिए। कतै मासु पाकिरहेको थियो, कतै नयाँ कपडाको कुरा चलिरहेको थियो। बालबालिकाका अनुहारमा उत्साह थियो। घरघरमा दशैँको रौनक छाएको थियो।
तर मनबहादुरको घरमा दशैँ अरूको जस्तो थिएन। उसको घरको छानो पुरानो थियो, भित्ताहरू चर्किएका थिए र चुलोमा बाल्न राखिएका दाउरासमेत चिसा थिए। घरमा प्रशस्त खानेकुरा थिएनन्, नयाँ लुगा किन्ने पैसा थिएन। तर मनबहादुरको मनमा भने दशैँप्रतिको उत्साह कसैले खोस्न सकेको थिएन।
मनबहादुर गरिब थियो, तर उसको मन गरिब थिएन। उसँग धेरै कुरा थिएनन्, तर थोरै कुरामा रमाउन सक्ने एउटा सुन्दर बानी थियो।
 बिहान भयो।
आमाले चुलोमा आगो बाल्ने प्रयास गरिन्। चिसा दाउराले धुवाँ त निकाल्यो, आगो निकाल्न मानेन। आमाका आँखा धुवाँले रसाए कि जीवनका दुःखले, छुट्याउन गाह्रो थियो। धेरै बेरको प्रयासपछि बल्ल चुलोमा आगो बल्यो। घरमा भएको थोरै चामल पकाएर आमाले छोरालाई खुवाइन्।
मनबहादुरले आमाको अनुहार हेर्‍यो। आमाको अनुहारमा थकान थियो, तर छोराका लागि केही गर्न सकेको सन्तोष पनि थियो।
“आमा, आज दशैँ हो नि, हैन?” उसले खुसी हुँदै सोध्यो।
“हो बाबु, आज दशैँ हो,” आमाले मुस्कुराउने प्रयास गर्दै भनिन्।
“आज त म खुब रमाउँछु, आमा!”
छोराको कुरा सुनेर आमाले केही भनिनन्। उनको मनमा अनेक कुरा खेले।छिमेकीका छोराहरू नयाँ लुगा लगाएर टीका थाप्न जाँदै थिए। उनको छोराले भने पुरानै लुगालाई चाडको नयाँ पहिरन ठानिरहेको थियो। अरूका घरमा थरीथरीका परिकार पाकेका थिए। उनको घरमा भने दुई छाक टार्ने चिन्ता अझै सकिएको थिएन।
तर आमालाई थाहा थिएन, छोराको खुसीका लागि संसारका सबै सुख जुटाउन नसके पनि उनको एउटा सानो उपहारले उसको मनमा ठूलो उत्सव जन्माउनेछ।
आमाले पुरानो बाकस खोलिन्। बाकसको कुनामा सफासँग पट्याएर राखिएको रातो पृष्ठभूमिमा ठूला चील ठूला ठूला आँखा भएको तस्वीर अंकित रुमाल  निकालिन्। त्यो रुमाल नयाँ थिएन। धेरै ठाउँमा पुरानो भइसकेको थियो, तर आमाले त्यसलाई निकै जतन गरेर राखेकी थिइन्।
“बाबु, यो दशैँमा तिमीलाई दिन मसँग यही छ,” आमाले भनिन्।
मनबहादुरले रुमाल  हातमा लियो। त्यसलाई केही बेर हेरिरह्यो। उसले आमाको अनुहारतिर पुलुक्क हेर्‍यो। आमाको आँखामा सङ्कोच थियो, ओठमा अपूरो मुस्कान।
“आमा, यो त रातो छ नि! मलाई त साह्रै मन पर्‍यो।”
उसले रुमाल छातीमा टाँस्यो। मानौँ, आमाले उसलाई रुमाल होइन, सारा संसारको माया दिएकी थिइन्।
त्यसपछि मनबहादुरले पुरानो लुगा लगायो। च्यातिएको ठाउँ मिलाएर लगायो, धुलो टक्टक्यायो र आफ्नो लुगालाई हेर्दै हाँस्यो। उसलाई त्यो दिन आफ्नो पुरानो लुगा पनि नयाँजस्तै लागिरहेको थियो।
आँगनको भुइँ चिसो थियो। उसले त्यही भुइँमा चकटी ओछ्यायो र आमाको अगाडि टुसुक्क बस्यो। आमाले थालीमा अक्षता, दही र रातो टीका तयार पारिन्। जमरा छोराको शिरमा राख्दै निधारमा टीका लगाइदिइन्।
“ठूलो मान्छे बन्नू बाबु, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू। अरूको मन नदुखाउनू। तिम्रो जीवन हामीले भोगेको भन्दा राम्रो होस्।”
आमाको आवाज थोरै काँप्यो।
मनबहादुरले आमाको हात समात्यो।
“आमा, म ठूलो मान्छे बनेपछि तपाईंलाई धेरै खुसी दिन्छु।”
आमाले छोराको शीर मुसारिन्। उनको आँखाबाट एउटा आँसु खस्यो। त्यो आँसु दुःखको थियो कि छोराको भविष्यप्रतिको आशाको, उनलाई आफैँलाई थाहा भएन।
टीका लगाइसकेपछि मनबहादुरले आमालाई आफूले किनेर ल्याएको  रातो पछ्यौरा ओढाइदियो।
“आमा, यो तपाईंलाई सुहायो कि सुहाएन?”
आमाले पछ्यौराको फेर समातिन्। उनको अनुहारमा यसपटक साँच्चिकै मुस्कान थियो।
“साह्रै सुहायो बाबु।”
मनबहादुर आमालाई पुलुक्क हेरेर हाँस्यो। उसले आमालाई केही महँगो दिन सकेको थिएन। तर आफ्नो सानो खुसी आमालाई दिन पाएकोमा उसको मन भरिएको थियो।

त्यो घरमा न त नयाँ लुगा थियो, न मिठा परिकारको थुप्रो, न पाहुनाको भीड। तर त्यहाँ आमाको माया थियो, छोराको सपना थियो र अभावभित्र पनि बाँचिरहेको एउटा सुन्दर सम्बन्ध थियो।
दिउँसो छिमेकीको घरबाट थोरै पोलेको मासु आयो। मनबहादुरले त्यो मासु हातमा लियो र निकै बेरसम्म हेरिरह्यो। उसले त्यसलाई कुनै भोजको दुर्लभ परिकार पाएजस्तै गरी बिस्तारै खायो। हरेक गाँससँगै उसको अनुहार उज्यालो हुँदै गयो।
“आमा, यस्तो मीठो मासु त मैले कहिल्यै खाएको थिइनँ!”
आमाले छोरालाई हेरिन्। उनलाई थाहा थियो, त्यो मासु संसारकै सबैभन्दा मीठो मासु थिएन। तर भोक, अभाव र लामो प्रतीक्षापछि पाएको सानो स्वाद मनबहादुरका लागि कुनै ठूलो भोजभन्दा कम थिएन।
खाना खाइसकेपछि ऊ आँगनमा निस्कियो। पुरानो लुगा लगाएर, खाली खुट्टा चिसो माटोमाथि उभियो र आफ्नै तालमा नाच्न थाल्यो।
उसको नाच हेर्न कुनै बाजा बजिरहेको थिएन। कतैबाट गीत पनि आइरहेको थिएन। ऊ आफ्नै खुसीको तालमा नाचिरहेको थियो। कहिले हात उठाउँथ्यो, कहिले खुट्टा उचाल्थ्यो, कहिले आफैँ हाँस्थ्यो। उसका चालहरू मिलेका थिएनन्, तर मनको ताल भने कतै चुकिरहेको थिएन।
आमा ढोकाको छेउमा उभिएर छोरालाई हेरिरहिन्।
छोराको त्यो नाच देखेर उनी पनि मुस्कुराइन्। उनको घरको गरिबी उस्तै थियो। चुलोमा दाउरा उस्तै थोरै थिए। छानो उस्तै पुरानो थियो। भोलिको चिन्ता पनि उस्तै थियो। तर त्यस क्षणमा उनको घरभित्र खुसीको एउटा सानो संसार जन्मिएको थियो।
मनबहादुर नाचिरह्यो।
उसलाई थाहा थिएन, संसारले खुसीको मूल्य पैसामा नाप्छ। उसलाई यति मात्र थाहा थियो—आज आमाले टीका लगाइदिनुभएको छ, आमाले रातो पछ्यौरा पाउनुभएको छ, आफूले मीठो मासु खान पाएको छ र मन लागेको गरी नाच्न पाएको छ।
उसका लागि यति नै पर्याप्त थियो।
साँझ पर्दै गयो। आकाशमा घामको रङ फिक्का हुँदै गयो। मनबहादुर आमाको छेउमा गएर बस्यो। आमा अझै त्यही रातो पछ्यौरा ओढिरहेकी थिइन्।
“आमा, आजको दशैँ कस्तो लाग्यो?” उसले सोध्यो।
आमाले छोराको निधारमा बाँकी रहेको रातो टीका हेरिन्।
“धेरै राम्रो लाग्यो बाबु।”
“मलाई पनि! यो दशैँ त जिन्दगीकै सबैभन्दा रमाइलो भयो।”
आमाले छोरालाई अँगालो हालिन्। उनको आँखाबाट फेरि आँसु झर्‍यो।

प्रतिकृया दिनुहोस
↑