विश्वासको स्तम्भ

मनको एकान्त कुनामा
एउटा विशाल स्तम्भ उभिएको छ।
हरेक पल
म त्यही स्तम्भको चरणमा
आफ्नो श्रद्धा र समर्पण
चढाइरहेको छु।

मेरो दृष्टि निरन्तर
त्यही स्तम्भतिर हुन्छ।
मनमा अनेक प्रश्न उठ्छन्,
समयका चोटहरूले
कतै यो स्तम्भ खस्किने त होइन?
आफ्नै उचाइको भारले
कतै झुक्ने त होइन?

तर,
म आफ्नो मनलाई बाँधेर ,
आशङ्काका बादल पन्छाउँछु,
र सोच्छु 
मेरो विश्वासको जगमा उभिएको
मेरो मनको स्तम्भ,
मेरो आस्थाको स्तम्भ,
भरोसाको त्यो अग्लो शिखर
कहिल्यै भुइँमा ढल्ने छैन!

बरु यसको खम्बा 
कमजोर भयो भने
नयाँ आधार थपौँला,
डगमगाएको धरातलमा
बिश्वासको  नयाँ टेको लगाउँला।
तर,
यसलाई ढल्न दिनेछैनँ,
गल्न दिनेछैनँ।

यो स्तम्भ
मेरो आस्थाको,
मेरो पहिचानको,
मेरो अस्तित्वको प्रतीक हो।

म फेरि शिर उठाएर भनिरहेछु 
यो स्तम्भ!
मेरो अभिमान हो,
मेरो जीवनको अमर कीर्ति हो।

स्तम्भ!
तिमी मेरो पहिचानको गौरव हो 
मेरो आस्थाको दीप हौ,
मेरा जिजीविषाहरूको
अलकापुरी हौ।

त्यसैले,
मेरो विश्वास नढलोस्
मेरो आत्मविश्वास नडगमगाओस्।
मैले जतन गरेर जोगाएको
मेरो मनको यो स्तम्भ
कहिल्यै नभत्कियोस्
कहिल्यै नटुटोस्।

युगौँयुगसम्म मुस्कुराउँदै
अविचल उभिइरहोस्!
मेरो विश्वासको स्तम्भ,
मेरो आस्थाको स्तम्भ,
मेरो जीवनको आधार!
      

प्रतिकृया दिनुहोस
↑