"तिम्रो सोच अनुसारको परिचय हुँ म"
तिम्रो आँखाको ऐनामा,
उभिएको एउटा बिम्ब हुँ म
तिम्रो दृष्टीको उज्यालो हुँ
तिम्रै सोचको कुचीले कोरेको अन्धकार हुँ ।
तिमीले फूल ठान्यौ—फुलिदिएँ
काँडा ठान्यौ—मौन भइदिएँ
तिम्रो सोचको तराजुमा
आफ्नै अस्तित्व जोखिइदिएँ।
रामले देखेको मर्यादा हुँ म
रावणले देखेको अहङ्कार
तिम्रो दृष्टिको ऐनामा उभिएर
तिमीले देखेजस्तै भईदिएँ म ।
कृष्ण देख्यौ—गीता भइदिएँ
कर्ण देख्यौ—निष्ठा भईदिएँ
तिम्रै बुझाइको कुरुक्षेत्रमा
धर्मयुद्धको दुई भिन्न व्याख्या भईदिएँ ।
तिमीले पढ्यौ सतह मात्र
गहिराइ पढ्न कहाँ सक्यौ र?
लहर गनेर सागर नाप्ने
तिम्रो दृष्टि कहाँ पुग्यो र?
म त बादलभित्रको पानी
मौनताभित्रको आवाज
बर्लिनका भत्किएका पर्खालझैँ
भत्काउन खोज्छु विभेदको समाज।
ग्यालिलियोको सत्यझैँ
म पनि प्रश्नको कैदी हुँ
समयले गलत ठहर्याए पनि
आफ्नै विवेकको साक्षी हुँ।
तिम्रो सोच अनुसारको परिचय हुँ म
सोचको सीमारेखा होइन
तिमीले बुझेको एउटा अर्थ हुँला
तर मेरो सिंगो कथा त्यहाँ समेटिन्न ।
तिमीले नामको लेप लगायौ—
आफ्नै दृष्टिको रङ्ग चढायौ,
तर तिम्रो दृष्टिको क्यानभासलाई
आफ्नै आकृति कसरी मानूँ म?
तिम्रो दृष्टिको एउटा प्रतिविम्ब हुँ म
मेरो अस्तित्व
तिम्रो परिभाषा बन्न सक्दैन
तिम्रो सोचाई
सत्यको अन्न्तिम क्षितिज होईन
म त केवल
तिम्रो चेतनाले कोरेको एउटा आकृति हुँ
मात्र तिम्रो सोच अनुसारको परिचय हुँ२।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस