"प्रतीक्षा"

"गाउँको एउटा सानो घरमा, टिनको चुहिने छानामुनि, एउटी बूढी आमा अझै बाटो हेरिरहेकी थिइन्—आफ्नो छोराले के ल्याउँछ भनेर होइन, उसले ढोकाबाट भित्र पस्दा फेरि एकपटक ‘आमा’ भनेर बोलाउँछ भनेर ।किनकि संसारका सबै चाडपर्वभन्दा ठूलो उत्सव एउटी आमाका लागि त्यही हुन्छ—उस

बनेपा बसपार्कको एउटा कुनामा मनबहादुर टुसुक्क बसेको थियो। पल्लो छेउको सार्वजनिक शौचालयबाट निस्किएको ह्वास्स गन्धले उसको नाकै थुन्न खोज्थ्यो। तर ऊ उठेर अर्को ठाउँमा जान सक्दैनथ्यो। किनकि थकाइले उसका खुट्टा गलिसकेका थिए, र गरिबीले उसका रहरहरूलाई धेरै पहिल्यै घुँडा टेकाइसकेको थियो।
उसले लगाएको सर्टको ठाउँठाउँमा पुरानो फलामे रङजस्तो खिया लागेको थियो। कतै कतै कपडा च्यातिएर सेता धागाले सिलाइएको थियो। काँधमा झुन्डिएको पुरानो झोलाभित्र थोरै चिउरा, एक पोको मसला र आमाका लागि किनिएको सस्तो रातो पछ्यौरा थियो। झोलाबाट निस्किएको मसलाको गन्धले शौचालयको दुर्गन्धलाई चुनौती दिइरहेको थियो। मानौँ, गरिबीले पनि दुर्गन्धित संसारमा आफ्नो अस्तित्वको सुगन्ध जोगाउन खोजिरहेको हो।
आज दशैँको फूलपातिको  दिन थियो।
बसपार्कमा मान्छेको भीड उर्लिरहेको थियो। नयाँ लुगा लगाएका बालबालिका बुबाका हात समातेर बस चढ्दै थिए। कसैको हातमा मिठाईका पोका थिए, कसैको काँधमा नयाँ झोला। महँगा गाडीका झ्यालबाट हाँसोहरू बाहिर पोखिरहेका थिए। सहरका पसलहरूमा किनमेलको चहलपहल थियो। मानौँ, दशैँ सबैको आँगनमा समान खुसी बोकेर आइपुगेको छ।
तर मनबहादुरका लागि दशैँ खुसीको पर्वभन्दा पनि अभावको हिसाबकिताब गर्ने दिन थियो।
ऊ एउटा घरमा घरेलु कामदार थियो। बिहानदेखि रातिसम्म भाँडा माझ्थ्यो, भुइँ पुछ्थ्यो, लुगा धुन्थ्यो र मालिकका छोराछोरीका जुठा प्लेट उठाउँथ्यो। मालिकका छोराले नयाँ जुत्ता किन्ने पैसा माग्दा तुरुन्तै पाउँथ्यो, तर मनबहादुरले महिनाभरि काम गरेर कमाएको ज्याला माग्दा पनि कहिलेकाहीँ पर्खनुपर्थ्यो।
यसपालि उसले दशैँका लागि छुट्याएको पैसाबाट आमाका लागि रातो पछ्यौरा किन्यो। आफ्ना लागि केही किन्न मन लागेन। मन त लागेको थियो, वर्षौँदेखि नफेरिएको सर्ट फेर्ने, एउटा नयाँ जुत्ता लगाउने, अनि गाउँका साथीहरूसँग निधारभरि टीका लगाएर हाँस्ने। तर इच्छाहरूको पनि मूल्य हुँदो रहेछ, जुन गरिबका लागि प्रायः बजारभन्दा बाहिर हुन्थ्यो।
उसको आँखामा घरको तस्बिर नाचिरहेको थियो।
टिनको छानो भएको सानो घर। भित्ताको माटो झरेको थियो। चुलोको छेउमा एउटी बूढी आमा बसेर बाटो हेरिरहेकी थिइन्। हरेक गाडीको आवाजमा उनी झस्किन्थिन्।
‘मेरो छोरो आयो कि?’
सायद उनले बिहानैदेखि यही प्रश्न मनमनै दोहोर्‍याइरहेकी थिइन्। छोराले के ल्याउँछे भनेर होइन, छोरो आफैँ आउँछ कि आउँदैन भनेर। तर आमाको मन पनि कस्तो हुन्छ! छोराले केही नल्याए पनि उसले ल्याउने आशाको पोको खोल्न आतुर हुन्छ।
गत वर्ष मनबहादुर घर जाँदा आमाले सोधेकी थिइन्, “बाबु, तेरो साहूले राम्रोसँग खान दिन्छ नि?”
उसले हाँस्दै भनेको थियो, “दिन्छ नि आमा, पेटभरि खान पाइन्छ।”
उसले झूट बोलेको थियो। कहिलेकाहीँ अरूले खाएर छोडेको खाना खाँदै उसले आमाको अनुहार सम्झिन्थ्यो। आमालाई आफ्नो दुःख सुनाएर रुवाउने साहस उसमा थिएन। गरिबका सन्तानहरू आफू भोकै बस्न सक्छन्, तर आमाको मनमा भोकको कल्पना पनि रोप्न चाहँदैनन्।
बसपार्कमा एकजना मानिसले फोनमा भन्यो, “आमा, यसपालि तपाईंलाई राम्रो सारी ल्याइदिएको छु। घर पुग्नै लागेँ।”
मनबहादुरले अनायासै आफ्नो झोलाभित्रको पछ्यौरा छाम्यो। उसको ओठमा मुस्कान आयो, तर आँखाको कुनामा आँसु टिलपिलायो। आमाका लागि उसले पनि केही ल्याएको थियो। त्यो महँगो थिएन, तर त्यसमा उसका कयौँ दिनका रहरहरू सिलाइएका थिए।
घण्टौँ बित्यो। बस आए, गए। यात्रुहरू चढे, ओर्लिए। उसका आँखाले हरेक बसमा आफ्नो गाउँ पुग्ने बाटो खोजिरहे।
अन्ततः एउटा पुरानो बस आयो। सहचालक  करायो, “गाउँ जाने हो भने छिटो चढ्नुस्!”
मनबहादुर झोला बोकेर उठ्यो। खल्ती छाम्यो। भाडाका लागि छुट्याएको पैसाले पुग्ने हो कि होइन भन्ने चिन्ता फेरि जाग्यो। उसले एकछिन बसलाई हेर्‍यो, अनि बिस्तारै चढ्यो।
झ्यालको सिटमा बसेपछि उसले मोबाइल निकाल्यो। आमाको नम्बर थिच्यो।
“आमा, म बस चढेँ। आज घर आइपुग्छु।”
उताबाट बूढो स्वर आयो, “साँच्चै बाबु? बाटोमा केही खाएर आउनू है। म तेरो बाटो हेरेर बसेकी छु।”
उसले ‘हुन्छ’ मात्रै भन्न सक्यो। त्यसपछि फोन काट्यो र झ्यालबाहिर हेर्न थाल्यो। सहरका झिलिमिली बत्तीहरू पछाडि छुट्दै थिए। उसको आँखामा भने आमाको धमिलो अनुहार झन् नजिकिँदै थियो।
उसले मनमनै सोच्यो—कस्तो विडम्बना! कसैका लागि दशैँ नयाँ लुगा, मिठाई र रमाइलोको नाम हो। कसैका लागि ऋण थपिने डर। अनि कसैका लागि वर्षभरि नदेखेको छोराको अनुहार हेर्न पाउने एउटा दिन।
दशैँको टीका निधारमा लगाइन्छ, तर त्यसको खुसी कहाँ लगाइन्छ? सुनका गहनाले सजिएका निधारमा, महँगा लुगाले ढाकिएका शरीरमा, कि अभावले चाउरिएका अनुहारमा?
सायद खुसीको कुनै निश्चित ठेगाना हुँदैन। तर गरिबको घरमा पुग्न उसले धेरै दुःखका गल्लीहरू पार गर्नुपर्छ।
बस अगाडि बढिरह्यो।
मनबहादुरले झोलाभित्रको रातो पछ्यौरा फेरि छाम्यो। उसलाई लाग्यो, त्यो पछ्यौरा होइन, आमाको अनुहारमा मुस्कान फुलाउने उसको अन्तिम सामर्थ्य हो।
बाहिर दशैँ आइरहेको थियो।
भित्र एउटा गरिब छोरो घर पुग्न हतारिइरहेको थियो।
र गाउँको एउटा सानो घरमा, टिनको चुहिने छानामुनि, एउटी बूढी आमा अझै बाटो हेरिरहेकी थिइन्—आफ्नो छोराले के ल्याउँछ भनेर होइन, उसले ढोकाबाट भित्र पस्दा फेरि एकपटक ‘आमा’ भनेर बोलाउँछ भनेर।
किनकि संसारका सबै चाडपर्वभन्दा ठूलो उत्सव एउटी आमाका लागि त्यही हुन्छ—उसको सन्तान घर फर्किएको दिन।

प्रतिकृया दिनुहोस
↑