दशैँको उज्यालो र हाम्रो समाजका अँध्यारा कुनाहरू
"चाडको खुसीको मूल्य कति हुनुपर्छ ? के ऋणको ब्याजमा बाँधिएको उत्सव साँच्चै स्वतन्त्र र खुसी हुन सक्छ ? अरूको सम्पन्नतासँग आफ्नो जीवन तुलना गर्दै मन खिन्न पार्नुले दशैँको मर्मलाई कहाँ पुर्याउँछ ?"
उत्सवको रौनक भन्दा पर दशैँको सांस्कृतिक अर्थ, सामाजिक यथार्थ र हाम्रो सामूहिक विवेकको खोजी
– शिशिर भण्डारी
भूूमिका:
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले समृद्ध देश हो । यहाँको सामाजिक जीवन अनेक भाषा, आस्था, परम्परा, संस्कार र सांस्कृतिक अभ्यासको अन्तरघुलनबाट निर्मित भएको छ । हिमाल देखि तराई सम्म र पूर्वदेखि पश्चिम सम्म फैलिएका विविध समुदायका आफ्नै चाडपर्व, जीवनदर्शन र सांस्कृतिक स्मृतिहरू छन् । यही विविधता भित्रको सहअस्तित्व, पारस्परिक सम्मान र सामाजिक सद्भाव नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक पुँजी हो ।
दशैँ नेपाली समाजको एउटा महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो । विशेषतः हिन्दू परम्परामा यसको सम्बन्ध देवी दुर्गाको आराधना, असत्य माथि सत्यको विजय र अन्याय विरुद्ध शक्तिको प्रतीकात्मक स्थापनासँग जोडिएको छ । टीका, जमरा, आशीर्वाद, पारिवारिक पुनर्मिलन र मान्यजन प्रतिको सम्मान यसका विशिष्ट पक्ष हुन् । धेरै नेपालीका लागि दशैँ केवल धार्मिक अनुष्ठान होइन; बाल्यकालका स्मृति, पुर्खासँगको सम्बन्ध, गाउँघरको अपनत्व र वर्षभरि टाढिएका आफन्त सँग पुनः जोडिने भावनात्मक अवसर पनि हो।
तर दशैँलाई बुझ्ने दृष्टिकोण सबैको एउटै छैन । धार्मिक आस्था, पारिवारिक पृष्ठभूमि र सामाजिक परिस्थिति अनुसार यसको अर्थ फरक हुन सक्छ । कसैका लागि यो गहिरो आस्थाको पर्व हो, कसैका लागि पारिवारिक मिलनको अवसर र कसैका लागि बाल्यकालको भावुक स्मरण । अर्कोतर्फ, आर्थिक अभाव, पारिवारिक विछोड, सांस्कृतिक बहिष्करण वा चाडपर्वसँग जोडिने अनावश्यक सामाजिक दबाबका कारण सबैले दशैँलाई समान रूपमा अनुभव गर्न सक्दैनन् ।
कुनै पर्वको सांस्कृतिक महत्त्व स्वीकार गर्नु र त्यससँग सम्बन्धित अभ्यास माथि आलोचनात्मक प्रश्न उठाउनु परस्पर विरोधी कुरा होइनन् । बरू स्वस्थ सांस्कृतिक चेतनाले परम्पराका सुन्दर पक्ष संरक्षण गर्दै तिनमा रहेका असमानता र विसङ्गतिलाई सच्याउने बाटो पनि खोज्छ ।
दशैँको चर्चा प्रायः यसको रौनक, धार्मिक महिमा, नयाँ लुगा, मीठोमसिनो, टीका, जमरा र पारिवारिक भेटघाटमा केन्द्रित हुन्छ । यी पक्ष पर्वका अभिन्न अङ्ग हुन्, तर यिनले मात्र दशैँको समग्र सामाजिक अर्थ उद्घाटित गर्दैनन् । उत्सवको उज्यालोभित्र लुकेका मानवीय पीडा, आर्थिक असमानता, सम्बन्धमा बढ्दो दूरी र हाम्रो व्यवहारमा बाँकी रहेका अन्यायका प्रश्नलाई पनि उत्तिकै गम्भीरतापूर्वक हेर्न आवश्यक छ ।
आखिर, कुनै पर्वको वास्तविक अर्थ त्यसलाई मनाउने विधिमा मात्र हुन्छ कि त्यसले हाम्रो जीवन र व्यवहारमा पार्ने प्रभावमा पनि ? निधारमा रातो टीका लगाउँदा हाम्रो मनमा कति प्रेम भरिन्छ ? देवीको विजय गाथा गाउँदा हामीले आफ्नै जीवन भित्रका अहंकार, विभेद र अन्याय माथि कति विजय हासिल गरेका छौँ ? सायद दशैँको गहिरो अर्थ खोज्न हामीले यसको रौनकलाई मात्र होइन, त्यसको अर्को छेउमा उभिएको मौनतालाई पनि सुन्नुपर्छ ।
घर फर्कनेहरूको उत्सव, पर्खिरहनेहरूको प्रतीक्षा:
दशैँलाई प्रायः घर फर्कनेहरूको चाड भनिन्छ । वर्षभरि सहर, परदेश र कामको व्यस्ततामा हराएका मानिसहरू गाउँ फर्कन्छन् । बसपार्कमा भीड लाग्छ, राजमार्गमा सवारीसाधनको लर्को देखिन्छ र विमानस्थलमा पुनर्मिलनका दृश्य दोहोरिन्छन् । लामो समयपछि भेटिएका आफन्तका अँगालोमा समयले बनाएका दूरी केही क्षणका लागि भए पनि हराएझैँ लाग्छन् ।
तर दशैँ फर्कनेहरूको कथामात्र होइन; फर्कने बाटो हेरिरहनेहरूको कथा पनि हो । गाउँको पुरानो घरमा एउटी आमाले आँगन बढारेर छोराको बाटो हेरिरहेकी हुन सक्छिन् । विदेशमा काम गरिरहेको छोराले टिकट काट्न नसकेर ‘अर्को वर्ष पक्कै आउँछु’ भनेको हुन सक्छ । भिडियो कलको पर्दामा टीका लगाइदिने आमाको हात देखिन्छ, तर त्यो हातले छोराको निधार छुन पाउँदैन । प्रविधिले अनुहार नजिक त ल्याएको छ, तर स्पर्शको दूरी अझै मेटिएको छैन ।
हाम्रो समयको एउटा विडम्बना यही हो—जुन चाडले घर फर्कन सिकाउँछ, त्यही चाड मनाउन लाखौँ नेपाली आफ्नो घरबाट टाढा रहन बाध्य छन् । उनीहरूको श्रमले देशभित्रका धेरै घरको चुलो बल्छ, तर आफ्नै घरको चुलोछेउ बसेर दशैँको भोजन गर्न पाउँदैनन् । उनीहरूले पठाएको पैसाले परिवारका आवश्यकता पूरा हुन्छन्, तर पैसाले किन्न नसकिने सँगै बिताउने समय अपूरै रहन्छ ।
घरमै रहेका वृद्ध आमाबुबाका लागि पनि दशैँ कहिलेकाहीँ एक्लोपनको सामना गर्ने समय बन्छ । छोराछोरीका लागि नयाँ लुगा किन्ने, मीठा परिकार बनाउने र टीकाको थाली सजाउने हातहरू विस्तारै कमजोर हुँदै जान्छन् । ती हात समातेर ‘आमा, तपाईंलाई के चाहिएको छ ?’ भनेर सोध्ने सन्तानको उपस्थिति नै उनीहरूका लागि सबैभन्दा ठूलो उपहार हुन सक्छ ।
त्यसैले यहाँ घर फर्कनुलाई भौगोलिक यात्राका रूपमा मात्र बुझ्नु पर्याप्त छैन । वर्षौँदेखि बोलचाल नभएको आफन्तसँग संवाद सुरु गर्नु, वृद्ध आमाबुबाका कुरा धैर्यपूर्वक सुन्नु र एक्लोपनमा रहेका मानिसलाई समय दिनु पनि घर फर्कनुकै अर्को अर्थ हो । तसर्थ घर पुग्नु र घरको मान्छे बन्नु फरक कुरा हुन् । दशैँले हामीलाई यीनै दुई बीचको दूरी मेटाउन सिकाउनु पर्छ ।
एउटै दशैँ, फरकफरक संसार:
दशैँको बजारमा उत्सवको एउटा अनुहार देखिन्छ । नयाँ लुगा, जुत्ता, मोबाइल, मिठाई, मासु र उपहारले बजार भरिन्छन् । विज्ञापनले खुसीलाई वस्तुसँग जोड्छन् र सामाजिक सञ्जालमा दशैँको सम्पन्नता प्रदर्शन गर्ने प्रतिस्पर्धा सुरु हुन्छ । कसले कति महँगो लुगा किन्यो ? कसले कहाँ घुम्यो ? र कसको घरमा कस्तो भोज भयो ? भन्ने कुराले कताकता खुसीको मापनसमेत आर्थिक हैसियतसँग जोड्न थालेको देखिन्छ ।
तर बजारको यही उज्यालोबाट केही पर अर्को यथार्थ पनि भेटिन्छ । त्यहाँ- कुनै घरमा छोराछोरीका लागि नयाँ लुगा छानिँदै गर्दा अर्को घरमा बाबुआमा औषधि किन्ने कि चाड मनाउने भन्ने हिसाब गरिरहेका हुन सक्छन् । कुनै परिवारले किनमेलमा ठूलो रकम खर्च गरिरहँदा अर्को परिवारले ऋण लिएर भए पनि सामाजिक अपेक्षा पूरा गर्नुपर्ने दबाब महसुस गरिरहेको हुन सक्छ ।
यहाँ सबाल नयाँ लुगा लगाउनु वा मीठो खानु गलत हो भन्ने होइन । चाडपर्वमा खुसी साट्नु र आफ्नो क्षमता अनुसार खर्च गर्नु स्वाभाविक मानवीय चाहना हो । तर समस्या त्यतिबेला सुरु हुन्छ,- जब खुसी भन्ने कुरा देखाउनु पर्ने वस्तु बन्छ, सामाजिक प्रतिष्ठा जोगाउन ऋणको भारी बोक्नु पर्ने अवस्था आउछ र अरूको नजरमा सम्पन्न देखिने चिन्ता आफ्नै खुसी भन्दा ठूलो हुन पुग्छ ।
हामीले कहिल्यै सोचेका छौँ, कि—चाडको खुसीको मूल्य कति हुनुपर्छ ? के ऋणको ब्याजमा बाँधिएको उत्सव साँच्चै स्वतन्त्र खुसी हुन सक्छ ? अनि अर्कोकुरा- अरूको सम्पन्नतासँग आफ्नो जीवन तुलना गर्दै मन खिन्न पार्नुले दशैँको मर्मलाई कहाँ पुर्याउँछ ?
वास्तवमा दशैँले त अभावमा पनि आत्मीयता बाँड्न, आफ्नो क्षमता अनुसार खुसी मनाउन र छिमेकीको अवस्थाप्रति संवेदनशील हुन सिकाउनु पर्ने हो । त्यसैले यहाँ बुझ्नुपर्ने कुरा के हो भने- समाजको समृद्धि सबैका घरमा उस्तै सामान पुग्नुमा मात्र हुँदैन; कसैले अभावका कारण आफ्नो मानवीय सम्मान गुमाउन नपर्ने वातावरण बन्नुमा पनि हुन्छ ।
चाडपर्वको अर्को महत्त्वपूर्ण पक्ष घर भित्रको श्रम हो । घर सफा गर्ने, खाना बनाउने, पाहुनाको सत्कार गर्ने र पारिवारिक व्यवस्थापन गर्ने जिम्मेवारी प्रायः कसको काँधमा पर्छ ?- भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । उत्सवको खुसी सबैले बाँड्ने हो भने त्यसका लागि आवश्यक श्रम र जिम्मेवारी पनि न्यायपूर्ण रूपमा बाँडिनुपर्छ ।
खुसीको मूल्य पैसाले निर्धारण गर्न थालेपछि चाडको आत्मीयता बजारको वस्तुमा बदलिन थाल्छ । त्यसैले दशैँ मनाउँदा आफ्नो घरमा कति आयो भन्ने प्रश्नसँगै आफ्नो खुसीबाट अरूको जीवनमा कति उज्यालो पुग्यो भन्ने प्रश्न पनि जोडिनुपर्छ ।
निधारमा टीका, मनमा दूरी:
मेरो बिचारमा दशैँको सबैभन्दा भावुक दृश्यमध्ये एउटा हो—ठूलाबडाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्नु । निधारमा रातो टीका, कानमा जमरा र शिरमाथि आशीर्वादको हात - यस दृश्यमा सांस्कृतिक परम्परा, पारिवारिक निरन्तरता र पुस्तौँबीचको आत्मीयता एकै ठाउँमा भेटिन्छन् ।
तर यही दृश्यले एउटा असहज प्रश्न पनि जन्माउँछ । एउटै थालीबाट टीका लगाउने दाजुभाइबीच वर्षभरि सम्पत्तिको विवाद किन रहन्छ ? आमाको हातबाट आशीर्वाद लिने सन्तानले आमाको वृद्धावस्थामा समय दिन किन सक्दैन ? निधारमा माया र सद्भावको प्रतीक सजाउने मानिसले व्यवहारमा घृणा, ईर्ष्या र अहंकार किन पालिरहन्छ ?
टीकाले सम्बन्धलाई क्षणभरका लागि नजिक ल्याउन त सक्छ, तर ती सम्बन्ध टिकाइराख्न आवश्यक संवाद, विश्वास र संवेदनाको अभ्यास वर्षभरि हुनुपर्छ । आशीर्वादको वास्तविकता निधारमा अक्षता राख्नुमा मात्र सीमित छैन । कसैको दुःख सुन्नु, गल्ती स्वीकार्नु, आफूले चोट पुर्याएको व्यक्तिसँग क्षमा माग्नु र पुरानो मनमुटावलाई संवादबाट समाधान गर्ने साहस गर्नु पनि आत्मीयताका विस्तारित रूप हुन् ।
यद्यपि, सबै पारिवारिक सम्बन्धमा मेलमिलाप सम्भव वा सुरक्षित हुँदैन । हिंसा, दुर्व्यवहार वा निरन्तर अपमान भोगिरहेका मानिसलाई जबर्जस्ती क्षमा गर्न लगाउनु सम्बन्ध सुधार्नु होइन । साँचो मेलमिलापमा सम्मान, उत्तरदायित्व र सुरक्षित सीमाको स्थान हुन्छ । दशैँले सम्बन्ध जोड्न प्रेरित गरोस्, तर अन्याय सहन बाध्य नबनाओस् ।
टीका निधारमा लगाइन्छ, तर त्यसको अर्थ व्यवहारमा देखिनुपर्छ । यदि हाम्रो व्यवहारमा माया, सम्मान र न्याय छैन भने टीकाको रातो रङले मात्र सम्बन्धको उज्यालो बढाउन सक्दैन ।
बदलिँदो दशैँ र हराउँदै गएको सामूहिकता:
हाम्रो पुस्ताले देखेको दशैँ र नयाँ पुस्ताले अनुभव गरिरहेको दशैँमा धेरै भिन्नता भेटिन्छन् । पहिले गाउँमा दशैँको तयारी सामूहिक अनुभव जस्तै हुन्थ्यो । घरआँगन सफा गर्ने, बाटोघाटो मर्मत गर्ने, पिङ हाल्ने, आफन्तको घर जाने र छिमेकीसँग सुखदुःख बाँड्ने अभ्यासमा सामाजिक जीवनको आफ्नै लय थियो ।
आज पनि ती परम्परा धेरै ठाउँमा जीवित छन् । तर सहरीकरण, वैदेशिक रोजगारी, व्यस्त जीवन र प्रविधिको बढ्दो प्रभावले चाड मनाउने तरिकामा निश्चितै केहि परिवर्तन ल्याएको छ ।
आज हामी टाढा रहेका आफन्तसँग भिडियो कलमा जोडिन सक्छौँ, सामाजिक सञ्जालमा टीकाका तस्बिर साझा गर्न सक्छौँ र अनलाइनबाट सामान किन्न सक्छौँ । प्रविधिले दूरी घटाएको छ र कतिपय सम्बन्धलाई जीवित राख्न सहयोग गरेको छ । यस परिवर्तनलाई केवल नकारात्मक भन्न मिल्दैन ।
तर प्रविधिले सम्पर्कको सुविधा दिँदैमा आत्मीयताको सुनिश्चितता गर्दैन । सामाजिक सञ्जालमा परिवारको सुन्दर तस्बिर देखिन सक्छ, तर त्यही परिवारभित्र संवादको अभाव हुन सक्छ । मानिस एउटै कोठामा बसेर पनि आआफ्नै मोबाइलको पर्दामा हराइरहेको हुन सक्छ । त्यसैले सम्पर्क र सम्बन्ध एउटै कुरा होइनन्। सम्पर्क प्रविधिले सहज बनाउन सक्छ; सम्बन्ध भने समय, विश्वास, संवेदना र व्यवहारले निर्माण गर्छ ।
यसको अर्थ पहिलेको दशैँ पूर्ण थियो र आजको दशैँ बिग्रिएको छ भन्ने पनि होइन । पुराना समाजमा पनि विभेद, असमानता र पारिवारिक तनाव थिए । नयाँ समयले व्यक्तिगत छनोट, स्वतन्त्रता र विविध जीवनशैलीका लागि थप ठाउँ दिएको छ ।
परम्पराको संरक्षण गर्नु भनेको पुराना सबै अभ्यासलाई जस्ताको तस्तै दोहोर्याउनु होइन; तिनका जीवन्त र मानवीय पक्ष पहिचान गरेर समयअनुसार परिष्कृत गर्नु हो । हामीले जोगाउनुपर्ने कुरा पिङको डोरी, टीकाको थाली वा जमराको विधि मात्र होइन; ती परम्पराले बोक्ने सामूहिकता, अपनत्व, सहयोग र पुस्तान्तरणको भावना पनि हो ।
नयाँ पुस्तालाई दशैँ सिकाउनु भनेको कुन दिन टीका लगाउने र जमरा कसरी राख्ने भन्ने जानकारी दिनुमा मात्र सीमित हुनु हुँदैन । दशैँ किन मनाइन्छ, यसको सांस्कृतिक महत्त्व के हो र यसले हामीलाई कस्तो मानिस बन्न प्रेरित गर्नुपर्छ भन्ने संवाद पनि आवश्यक छ । यसर्थ परम्परा संग्रहालयमा राखिएको वस्तु होइन; पुस्तौँले आफ्नो जीवनमा अर्थ दिँदै अगाडि बढाउने सांस्कृतिक प्रक्रिया हो ।
महिषासुरमाथि विजयपछि पनि बाँकी रहेका राक्षसहरू:
दशैँको धार्मिक तथा सांस्कृतिक केन्द्रमा देवी दुर्गाको विजयगाथा छ । महिषासुरमाथि देवीको विजयलाई अन्याय र दुष्टतामाथि शक्तिको विजयका रूपमा बुझिन्छ । यस आख्यानले अन्याय जतिसुकै शक्तिशाली देखिए पनि त्यसको प्रतिरोध सम्भव छ भन्ने सन्देश दिन्छ ।
तर यही सन्देशलाई वर्तमान समाजको ऐनामा राखेर हेर्दा केही प्रश्न अनिवार्य रूपमा उठ्छन् ।
देवीलाई शक्तिको प्रतीक मानेर पूजा गर्ने समाजमा महिलाले हिंसा र विभेद किन भोग्नुपर्छ ? सत्य र धर्मको विजय मनाउने समाजमा भ्रष्टाचार, छलकपट र बेइमानीले ठाउँ किन पाउँछन् ? कमजोरको रक्षा गर्ने आदर्श स्वीकार्ने समाजमा गरिब, श्रमिक र सीमान्तकृत मानिसका आवाज किन सजिलै बेवास्ता हुन्छन् ? यी प्रश्न उठाउनु धर्म वा परम्पराको विरोध गर्नु होइन । बरु परम्पराले दिएको नैतिक सन्देशलाई गम्भीरता पूर्वक लिनु हो ।
यदि देवीको आराधनाले हामीभित्र अन्याय विरुद्ध उभिने साहस पैदा गर्दैन भने हामीले त्यस आराधनाको नैतिक अर्थमाथि पुनर्विचार गर्नुपर्छ । नारी शक्तिको पूजा गरे पनि घरभित्र छोरी र बुहारीलाई समान अधिकार दिँदैनौँ भने हाम्रो पूजा र व्यवहार बीचको दूरी पहिचान गर्नुपर्छ । विजया दशमीमा असत्यको पराजयको कामना गर्दै दैनिक जीवनमा व्यक्तिगत लाभका लागि असत्यसँग सम्झौता गर्छौँ भने त्यो विजय अधुरो रहन्छ ।
आजका सामाजिक सन्दर्भमा राक्षसी प्रवृत्ति भन्नाले हिंसा, लोभ, घृणा, भ्रष्टाचार, विभेद, शोषण र अरूको पीडाप्रति उदासीनतालाई पनि बुझ्न सकिन्छ । यी प्रवृत्ति कुनै एक व्यक्तिभित्र मात्र होइन, कहिलेकाहीँ सामाजिक संरचना र सामूहिक व्यवहारभित्र पनि विद्यमान हुन्छन् ।
यिनलाई पराजित गर्ने खड्ग पनि प्रतीकात्मक रूपमा हाम्रै हातमा छ—इमानदारी, विवेक, शिक्षा, न्याय, समानता र उत्तरदायित्वका रूपमा । तर यस्ता समस्या व्यक्तिगत सदाचारले मात्र समाधान हुँदैनन् । न्यायपूर्ण नियम, संस्थागत उत्तरदायित्व र समान अवसरको सुनिश्चितता पनि उत्तिकै आवश्यक हुन्छ ।
महिषासुरमाथिको विजयको कथा विगतको धार्मिक आख्यानमा मात्र सीमित नरहोस् । त्यसले वर्तमानमा हामीलाई अन्याय चिन्न, त्यसको प्रतिरोध गर्न र आफूभित्रका गलत प्रवृत्तिलाई सच्याउन प्रेरित गरोस् । यस अर्थमा देवीको पूजा र नारीको सम्मान, सत्यको आराधना र इमानदार व्यवहार, विजयको उत्सव र अन्याय विरुद्धको प्रतिरोध बीचको दूरी घट्दै जाँदा मात्र दशैँको सांस्कृतिक सन्देश जीवन्त हुन्छ ।
दशैँको अर्को अर्थ: आफूलाई बदल्ने अवसर:
दशैँलाई हामी प्रायः अरूलाई सम्झने, भेट्ने र खुसी बाँड्ने पर्वका रूपमा बुझ्छौँ । तर यो आफैँलाई जाँच्ने अवसर पनि हुन सक्छ ।
गत वर्षको दशैँपछि हामी कति बदलियौँ ? हाम्रो व्यवहारमा कति सहिष्णुता थपियो ? हामीले कति पुराना पूर्वाग्रह त्याग्यौँ ?परिवारका सदस्यको विचारलाई कति सम्मान गर्न सिक्यौँ ? आफ्नो सुविधाबाहिर रहेका मानिसको पीडाप्रति कति संवेदनशील भयौँ ? यी प्रश्नको उत्तर सजिलो नहुन सक्छ । तर आत्ममन्थनको उद्देश्य आफूलाई दोषी ठहर्याउनु मात्र होइन; सुधारको सम्भावना पहिचान गर्नु पनि हो ।
दशैँको टीका लगाउँदा हामी सुख, शान्ति, समृद्धि र दीर्घायुको आशीर्वाद लिन्छौँ । यी कामना मूल्यवान् छन् । तर तिनलाई जीवनमा अर्थपूर्ण बनाउन केही जिम्मेवारी पनि जोड्न सकिन्छ—आमाबुबालाई वर्षभरि समय दिने, परिवारभित्र मतभेद हुँदा अपमान होइन संवाद रोज्ने, आफ्नो खुसीका लागि अरूलाई देखावटी प्रतिस्पर्धाको दबाब नदिने, महिलाको सम्मानलाई पूजाको दिनमा मात्र सीमित नराख्ने र विपन्न तथा एक्ला मानिसलाई सम्मानपूर्वक साथ दिने ।
यस्ता परिवर्तन ठूला घोषणाबाट सुरु हुन आवश्यक छैन । कहिले काहीँ एउटा फोन, एउटा इमानदार क्षमायाचना, एउटा भेदभावरहित निर्णय वा कसैको कुरा ध्यानपूर्वक सुन्ने केही मिनेटबाट पनि सुरु हुन सक्छ ।
तर व्यक्तिगत परिवर्तनसँगै सामाजिक र संस्थागत परिवर्तनको आवश्यकता पनि बिर्सनु हुँदैन ।श्रमिकको श्रमको सम्मान, सार्वजनिक जीवनमा इमानदारी, समान अवसर र कमजोर नागरिकको अधिकार संरक्षण गर्ने जिम्मेवारी परिवार र व्यक्तिको मात्र होइन, समुदाय तथा राज्यको पनि हो ।
यसर्थ दशैँले व्यक्तिगत आत्मीयतालाई सामाजिक उत्तरदायित्वसँग जोड्न सक्यो भने यसको अर्थ चाडपर्वको सीमाभन्दा पर पुग्न सक्छ ।
हामीलाई कस्तो दशैँ चाहिन्छ ?
हामीलाई त्यस्तो दशैँ चाहिन्छ, जहाँ विदेशमा रहेको छोराको पैसा मात्र होइन, उसको अभाव र पीडा पनि बुझियोस्; जहाँ घरमा बसेकी वृद्ध आमाको प्रतीक्षालाई पारिवारिक जिम्मेवारीका रूपमा चिनियोस्; जहाँ नयाँ लुगाको मूल्य भन्दा आत्मसम्मानको मूल्य ठूलो होस् र टीकाको रातो रङसँगै सम्बन्धको न्यानोपन पनि टिकिरहोस् ।
हामीलाई त्यस्तो दशैँ चाहिन्छ, जहाँ आर्थिक अभावका कारण उत्सवबाट वञ्चित हुन सक्ने बालबालिकाको खुसी पनि सम्झिइयोस्; जहाँ घरभित्रको श्रम र जिम्मेवारी न्यायपूर्ण रूपमा बाँडियोस्; जहाँ धार्मिक आस्थालाई सम्मान गरियोस् र त्यस आस्थाले प्रेरित गर्ने करुणा, न्याय तथा समानतालाई व्यवहारमा उतारियोस् ।
हामीलाई त्यस्तो दशैँ पनि चाहिन्छ, जहाँ विगतका सुन्दर परम्परा जोगाउँदा नयाँ पुस्ताको स्वतन्त्रता र छनोटको सम्मान गरियोस्; जहाँ संस्कृतिको नाममा अन्यायपूर्ण व्यवहारलाई निरन्तरता नदिइयोस्; जहाँ परम्परा र परिवर्तन एकअर्काका शत्रु होइनन्, बरु मानव जीवनलाई अझ सुन्दर बनाउने सहयात्री बनून् ।
बहुसांस्कृतिक समाजमा दशैँको महत्त्व यसको आफ्नै सांस्कृतिक पहिचानमा छ । यसको सामाजिक सन्देशलाई करुणा, सद्भाव, न्याय र पारस्परिक सम्मानका साझा मूल्यसँग जोड्न सकिन्छ । यसो गर्दा दशैँको विशिष्टता मेटिँदैन, बरु विविधताबीच सहअस्तित्वको सम्भावना थप उजागर हुन्छ ।
कुनै पर्वको सम्मान गर्न अर्को समुदायको आस्थालाई सानो ठान्नुपर्दैन । आफ्नो परम्परालाई माया गर्न अरूको परम्पराप्रति उदासीन हुनुपर्दैन । विविधताको सम्मान गर्दै आफ्ना सांस्कृतिक मूल्यलाई जीवन्त राख्नु नै समावेशी समाजको सुन्दर पक्ष हो ।
यस्तो दशैँको निर्माण कुनै एक व्यक्ति वा संस्थाले मात्र गर्न सक्दैन । परिवार, समुदाय, राज्य र प्रत्येक नागरिकको व्यवहारले यसको रूप निर्धारण गर्छ । आफ्नो घरमा संवादको वातावरण सिर्जना गरेर, श्रमिकको श्रमको सम्मान गरेर, कमजोरप्रति संवेदनशील बनेर र सार्वजनिक जीवनमा इमानदारीलाई प्राथमिकता दिएर हामी दशैँको अर्थलाई चाडपर्वको सीमा भन्दा पर लैजान सक्छौँ ।
यसर्थ, दशैँको संस्कृति जीवित राख्नु भनेको केवल विधि र परम्पराको निरन्तरता कायम गर्नु होइन; त्यसको मानवीय आत्मालाई पनि जीवित राख्नु हो ।
अन्त्यमा, टीकाको उज्यालो निधारबाट व्यवहारसम्म:
हरेक वर्ष दशैँ आउँछ र जान्छ । जमरा पहेँलिँदै जान्छन्, टीकाको रङ धोइन्छ, पाहुनाहरू आआफ्नो बाटो लाग्छन् र बजारको भीड फेरि सामान्य लयमा फर्कन्छ । केही दिनअघि उत्सवले भरिएका घरहरू दैनिक जीवनको व्यस्ततामा प्रवेश गर्छन् । तर दशैँले छोडेर गएको अर्थ के रहन्छ ?
यदि चाड सकिएपछि पनि आमाबुबाको एक्लोपन उस्तै रह्यो, परिवारको मनमुटाव उस्तै रह्यो, सामाजिक विभेद उस्तै रह्यो र हाम्रो व्यवहारमा करुणा तथा इमानदारीको कुनै नयाँ अभ्यास सुरु भएन भने हामीले उत्सव मनायौँ, तर त्यसको सम्भावनालाई पूर्ण रूपमा आत्मसात् गर्न सकेनौँ कि ?
दशैँको वास्तविकता टीकाको दिनमा मात्र परीक्षण हुँदैन । त्यो त टीका पुछिएपछि सुरु हुन्छ—जब हामी फेरि आफ्नो काममा फर्कन्छौँ, परिवारसँग बस्छौँ, समाजका मानिससँग व्यवहार गर्छौँ र सही तथा गलतबीच निर्णय लिनुपर्ने अवस्थामा पुग्छौँ ।
त्यसैले यसपालिको दशैँमा निधारमा टीका लगाउँदा मनमा केही प्रश्न पनि राखौँ—मैले आफ्नो जीवनमा कुन अन्यायलाई अस्वीकार गर्नेछु ? कुन सम्बन्धलाई इमानदारी पूर्वक सुधार्ने प्रयास गर्नेछु ? कसको एक्लोपनमा साथ दिनेछु ? र आफ्नो व्यवहारमा कुन परिवर्तन ल्याउनेछु ? देवी दुर्गाको विजयगाथा हाम्रो आस्थाको धरोहर हो । त्यसको मानवीय सन्देशलाई दैनिक जीवनमा उतार्नु हाम्रो समयको आवश्यकता हो ।
विजयादशमीको विजय केवल एउटा पौराणिक युद्धको स्मरणमा सीमित नरहोस्; त्यो हाम्रो अहंकारमाथि विवेकको, घृणामाथि करुणाको, विभेदमाथि समानताको र बेइमानीमाथि इमानदारीको विजय पनि बनोस् । किनकि दशैँको वास्तविक उज्यालो निधारमा लगाइएको रातो टीकामा मात्र हुँदैन; त्यो त हाम्रो व्यवहारले अरूको जीवनमा कति उज्यालो थप्न सक्यो भन्ने कुरामा हुन्छ ।
जमराको हरियाली केही दिनमै ओइलाउन सक्छ, टीकाको रङ समयसँगै मेटिन सक्छ र उत्सवका आवाजहरू विस्तारै शान्त हुन सक्छन् । तर यदि दशैँले हाम्रो मनमा करुणा, सम्बन्धमा आत्मीयता र समाजमा न्यायको बीउ रोप्न सक्यो भने त्यसको अर्थ पात्रोको एउटा मितिमा सीमित रहनेछैन ।
त्यतिबेला मात्र दशैँ हाम्रो घरमा आउने चाडबाट अघि बढेर हाम्रो चरित्रमा बस्ने संस्कृति बन्नेछ । र सायद त्यस दिन हामीले साँच्चिकै भन्न सक्नेछौँ—दशैँ आयो, टीका लाग्यो, जमरा उम्रियो, तर यसपालि उत्सवसँगै हाम्रो चेतना पनि केही नयाँ गरी उम्रियो ।
अन्त्यमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव र पारिवारिक आत्मीयताले भरिएको विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना !
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस