पत्रकारसँग जिल्ला सहकारी संघ काभ्रेपलान्चोकको अन्तरक्रिया

आर्थिक बर्ष २०८२/०८३ मा एक करोड ३० लाख नाफा

बनेपा । जिल्ला सहकारी संघ काभ्रेपलान्चोकको आयोजनामा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार सहकारी र सञ्चार क्षेत्रविच समन्वय र सहकार्यका साथै सहकारी क्षेत्रका समसामयिक बिषयमा अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रियामा सहकारी क्षेत्रप्रतिको विश्वास कायम राख्ने साथै पछिल्ला सहकारी ऐनका व्यवस्था, परिमार्जनले सहकारी क्षेत्रमा पार्ने प्रभाव र जिल्ला सहकारी संघका कार्ययोजना र भूमिकाका बारेमा छलफल चलाइएको थियो ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी क्षेत्रमा आवश्यक सुधार र सुसाशनको लागि सञ्चार क्षेत्रले भूमिका खेल्न सक्ने बताउँदै काभ्रेली सञ्चार क्षेत्रसंग सहकार्य बढाएको बताए । संस्थाका गतिविधिलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पोटेले सञ्चार क्षेत्र र सहकारीकर्मीबीच अनुभव आदानप्रदान, तालिम, असल शासनका अभ्यास विस्तार गर्ने र सञ्चार क्षेत्रले औल्याए अनुरुप सुधार गर्दै जाने बताए ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले सहकारी क्षेत्र सुधारको लागि काभ्रेली सञ्चारकर्मीले सकारात्मक कुराको प्रचार गत्दै गलत कुराको खबरदारी गर्ने बताउँदै जिल्ला सहकारी संघले शुरु गरेको सहकार्य निरन्तरताको कामना गरे ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू इश्वरीप्रसाद ओझा, महेशराज पौड्याल र मोतिराम तिमल्सिनाले सहकारी र सञ्चार क्षेत्रबीचको अन्तरक्रियाले समन्वय र सहकार्य बृद्धि हुने अपेक्षा गरे ।

जिल्ला सहकारी संघका उपाध्यक्ष शान्ति लामा वाइवाले ३ बर्षभित्र आर्थिक कारोबार गर्न बन्द गर्ने गरी आएको सहकारी ऐनको व्यवस्थाले जिल्ला सहकारी संघलाई समस्या परेको बताइन् । अन्यौलताको स्थिती चिर्न सञ्चार क्षेत्रले सहयोग गर्नुपर्ने बताइन् । सचिव प्रकाश बञ्जाराले बचत तथा ऋणको कारोबार गर्न जिल्ला सहकारी संघलाई रोक लगाउने गरी कानून आएको भन्दै सहकारी क्षेत्रको सुशासन र पैरवीमा काम गर्ने बताए ।

संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले १३ वटै स्थानीय तहका ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध रहेको जानकारी दिँदै आर्थिक बर्ष २०८२/ ८३ को असार मसान्तसम्म १ अर्ब ४८ करोडको बासलात रहेको बताए । उक्त आर्थिक बर्षमा एक अर्ब २८ करोड ४३ लाख निक्षेप रहेको संघमा एक करोड ३० लाख नाफा कमाएको छ । 

गत आर्थिक बर्षमा ७० लाख ३४ हजार ८०८ सरकारलाई राजश्व तिरेको कायममुकायम प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

 

कार्यक्रममा कृयाशिल सञ्चारकर्मीका साथै जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, सञ्चालक सदस्य रोशनकुमार श्रेष्ठ, पूर्णसागर रञ्जित, लेखा तथा सुपरिवेक्षण समिति सदस्य कान्छी मैया कार्की थापा, कर्मचारीहरु उपस्थित थिए ।

प्रतिकृया दिनुहोस
↑