अमेरिकाको न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका

अमेरिका । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुगेका छन्। 
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन कतार एयरलायन्सको जहाजबाट प्रधानमन्त्री शाह दोहा हुँदै न्युयोर्क पुगेका हुन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क आइपुगेका हुन।  प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारीले स्वागत गरेका थिए।

प्रधानमन्त्री शाहले बिहीबार राष्ट्र्संघमा सम्बोधन गर्ने कार्यक्रम छ। जलवायु परिवर्तनले रसुवा बाढीलगायत नेपालले विपद्को सामना गर्नुपरिरहेको विषयलाई प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा उठान गर्ने बताइएको छ। त्यस क्रममा उनले संयुक्त राष्ट्रसंघको महासचिवसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। 

यस्तो छ अमेरिकामा प्रधानमन्त्री शाहको तालिका
प्रधानमन्त्री शाह आजै संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्ने कार्यक्रम छ। त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्ने कार्यतालिका छ। त्यसलगत्तै प्रधानमन्त्री शाह नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुनेछन्। 

प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता गर्नेछन्। त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किनेछन्। 

प्रतिकृया दिनुहोस
↑