नेपाल प्रवासी तामाङ समाज कतारको एघारौँ अधिवेशन ९ अक्टोबरमा हुँदै

कतार।‘पहिचान जोगाऔँ, आफ्नो नामको अन्त्यमा ‘तामाङ’ लेखौँ’ भन्ने मूल नारासहित नेपाल प्रवासी तामाङ समाज, कतारको एघारौँ अधिवेशन-२०२६ तथा सांस्कृतिक कार्यक्रम आगामी ९ अक्टोबर, शुक्रबार आयोजना हुने भएको छ।

समाजको नयाँ कार्यसमिति (२०२६–२०२८) चयन गर्ने उद्देश्यले आयोजना हुन लागेको अधिवेशन कतारको सनैयास्थित वेलफेयर रेस्टुरेन्ट, प्लाजा मलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

‘तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण’लाई मूल उद्देश्य बनाउँदै सन् २००५ मा स्थापना भएको समाजले प्रवासमा रहेर तामाङ समुदायको जातीय पहिचान, मौलिक भाषा, लिपि, कला, संस्कृति, धर्म, परम्परा तथा रीतिरिवाजको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि निरन्तर काम गर्दै आएको जनाएको छ।

कतारमा कार्यरत तामाङ समुदायको मानवीय हकहितको संरक्षण तथा विभिन्न समस्याको समाधानका लागि सम्बन्धित निकायसँग संस्थागत पहल गर्दै आएको समाजले नेपालमा आवश्यक परेका क्षेत्रमा आर्थिक, भौतिक, शैक्षिक तथा नैतिक सहयोगसमेत प्रदान गर्दै आएको छ।

समाजको विधान-२००५ (सातौँ संशोधनसहित) को परिच्छेद-१४ (ख) मा व्यवस्था भएबमोजिम आयोजना हुन लागेको अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशा तय गर्नेछ।

समाजका अनुसार अधिवेशन नेतृत्व चयनको औपचारिक प्रक्रिया मात्र नभई तामाङ समुदायको एकता, पहिचान, संस्थागत निरन्तरता र भावी पुस्ताप्रतिको जिम्मेवारीलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरसमेत हो।

अधिवेशनसँगै विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने भएकाले समाजले सम्पूर्ण सदस्य तथा कतारवासी तामाङ समुदायलाई सक्रिय सहभागिता र गरिमामय उपस्थितिका लागि आह्वान गरेको छ। साथै, कार्यक्रमलाई सभ्य, भव्य, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक सहयोग, समन्वय र सहभागिताका लागि समाजले अपिल गरेको छ।

कार्यक्रम विवरण

कार्यक्रम: नेपाल प्रवासी तामाङ समाज कतारको एघारौँ अधिवेशन–२०२६ तथा सांस्कृतिक कार्यक्रम
मिति: ९ अक्टोबर २०२६, शुक्रबार
समय: बिहान ११:०० बजेबाट
स्थान: वेलफेयर रेस्टुरेन्ट, प्लाजा मल, सनैया, कतार

प्रतिकृया दिनुहोस
↑