"म्हेनिङ र दशैँको अन्योल: इतिहास, आन्दोलन र सत्यको खोजी"

"म्हेनिङ कसैको पछाडि लागेर मनाइने चाड होइन, यो तामाङ जातिको प्रकृति, पितृ र भूमिसँग जोडिएको मौलिक सांस्कृतिक उत्सव हो । भ्रमको तुवाँलो हटाएर आफ्नो वास्तविक इतिहास र संस्कृतिलाई पछ्याउनु नै आजको आवश्यकता हो ।"

​हाम्रो समाजमा बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक विशेषताहरू छन । तर लामो समयसम्म राज्यको एकध्रुवीय नीतिका कारण धेरै आदिवासी जनजातिहरूले आफ्नै मौलिक संस्कृति र चाडपर्वहरूलाई पहिचान गर्न सकेनन वा तिनलाई अन्य धर्म-संस्कृतिसँग मिसाएर बुझ्न बाध्य भए । यसैको एउटा ज्वलन्त उदाहरण हो— तामाङ समुदायमा ‘म्हेनिङ’ र ‘दशैँ’ बीचको अलमल र भ्रम ।

​१. म्हेनिङ र दशैँ कसरी एउटै ठाने सम्झिए? (भ्रमको सुरुवात)
​विगतमा तामाङ समुदायले म्हेनिङलाई दशैँकै रूपमा बुझ्नुका पछाडि मुख्य दुईवटा कारणहरू थिए:
१.​एउटै समयमा पर्नु: तामाङहरूको म्हेनिङ र हिन्दुहरूको दशैँ मनाउने समय (असोज/कार्तिक) लगभग एउटै पर्थ्यो ।
२.​राज्य र सञ्चारमाध्यमको एकपक्षीय प्रभाव: राज्य नियन्त्रित रेडियो तथा सञ्चारमाध्यमहरूबाट ‘दशैँ’ लाई मात्रै “हिन्दुहरूको एक मात्र महान् चाड” भनेर प्रचार गरियो । अहिले चाहिँ (नेपालीहरुको महानचाड भन्न थालेको छ ) ।  दुर्गा भवानीले महिषासुरको बध गरेको, रामले रावणमाथि विजय प्राप्त गरेको जस्ता पौराणिक हिन्दु कथाहरू निरन्तर वाचन गरिए ।
​यसको परिणाम स्वरूप, तामाङहरूले आफ्नै बोन विधिबाट पितृ पूजा (खेप्पास्हुङ) र भूमे/गाउँ पूजा (छ्योरे पुजा) गर्दै मनाउने म्हेनिङलाई नै ‘हिन्दुको दशैँ’ सम्झन थाले । राज्यले म्हेनिङको अस्तित्व र मौलिकताबारे कहिल्यै चर्चा गरेन, जसले गर्दा आफ्नै मौलिक चाड पनि अर्कैको चाडको रूपमा ग्रहण हुन पुग्यो ।

​२. दशैँ बहिष्कार आन्दोलन र सिर्जित अर्को अन्योल
​विक्रम संवत २०५०/५१ तिर आदिवासी जनजातिहरूले पहिचान र अधिकारका लागि "दशैँ बहिष्कार आन्दोलन" चलाए । राज्यको सास्कृतिक थिचोमिचो विरुद्ध त्यो आन्दोलन आवश्यक र जायज थियो । तामाङहरू पनि उक्त आन्दोलनमा व्यापक रूपमा सहभागी भए ।
​तर, यहाँ अर्को जटिलता पैदा भयो— आफ्नै म्हेनिङलाई दशैँ सम्झिरहेका तामाङहरूले दशैँ बहिष्कार गर्दा म्हेनिङलाई नै बहिष्कार गर्न पुगे । "म्हेनिङ भनेको हिन्दुको चाड हो" भन्ने बुझाइका कारण धेरैले म्हेनिङ मान्न छाडे । म स्वयम् पनि यस आन्दोलनबाट प्रभावित भएर वि.सं. २०५६ सालदेखि म्हेनिङ मान्न छाडेर "यो हाम्रो होइन, हिन्दुको हो" भन्दै हिँडेको अनुभव छ ।

​३. पुनर्जागरण र सत्यको खोजी
​करिब ८–९ वर्ष अगाडि खोजराज गोले लगायतका तामाङ बौद्धिक एवं सांस्कृतिक शोधकर्ताहरूले "म्हेनिङ र दशैँ एउटै होइनन्, यी फरक हुन्" भन्ने बहस अगाडि ल्याए । यस बहसले धेरैलाई झल्यास्स ब्युँझाउने काम गर्‍यो ।
​जब म्हेनिङबारे गहिरो अध्ययन र समाजशास्त्रीय खोज भयो, वास्तविकता स्पष्ट भयो:
​‘म्हेनिङ’ शब्द तामाङ भाषाको आफ्नै मौलिक शब्द हो ।
​म्हेनिङमा गरिने ‘खेप्पास्हुङ’ (पितृ पूजा) र ‘छ्योरे पुजा’ (भूमि/प्रकृति पूजा) पूर्ण रूपमा तामाङ बोन संस्कृति र परम्परासँग सम्बन्धित छन । यसको हिन्दु धर्मग्रन्थका दुर्गा, राम वा महिषासुरका कथाहरूसँग कुनै सम्बन्ध छैन ।

​४. तामाङ समाजमा अझै पनि भ्रम कायम हुनुका मुख्य ६ कारणहरू
​अहिले पनि तामाङ समुदायभित्र म्हेनिङलाई लिएर स्पष्टता आउन नसक्नुका पछाडि समाजशास्त्रीय एवं सांस्कृतिक कारणहरू छन्:
१. ​भाषा लोप हुनु: 
कतिपय क्षेत्रका तामाङहरूले मातृभाषा बिर्सिए । जसले गर्दा उनीहरूले ‘म्हेनिङ’ शब्द नै सुन्न पाएनन । अहिले म्हेनिङको बहस चल्दा उनीहरूलाई यो शब्द भर्खरै सिर्जना गरिएको नयाँ शब्द जस्तो लाग्छ ।
२. ​दशै बहिष्कार आन्दोलनको प्रभाव: 
दशै बहिष्कार आन्दोलनका क्रममा "म्हेनिङ हिन्दुको दशैँ हो" भनेर बुझेको जमात मध्ये ठूलो हिस्सा अझै पनि पुरानै बुझाइमा अड्किएका छन ।
३.​मिडियाको एकपक्षीय कभरेज: 
अझै पनि सञ्चार माध्यमहरूले बडादशैँ र हिन्दु पौराणिक कथालाई मात्र प्राथमिकता दिँदा आम मानिसमा दुवै पर्व एउटै हो भन्ने भ्रम दोहोरिइरहन्छ ।
४.​बोन र बौद्ध परम्पराबीचको द्वन्द्व: 
तामाङ समाजमा बोन र बौद्ध (तिब्बती बौद्ध/लामावाद) दुवै परम्पराको अभ्यास हुन्छ । बोन विधिबाट म्हेनिङमा खेप्पास्हुङ गर्दा पशु बलि दिने/चढाउने परम्परा रहेकाले अहिंसावादी बौद्ध मार्गी तामाङहरूले यसलाई अस्वीकार गरे र तिब्बती बौद्ध संस्कृतिर्फ बढी झुकाव राखे ।
५.​अहंकार र अडान: 
३०-३२ वर्षअघि "दशैँ/म्हेनिङ बहिष्कार" भनेर हिँडेका कतिपय नेतृत्वदायी व्यक्तिहरू अब पछाडि फर्किन र आफ्नो गल्ती स्वीकार्न तयार छैनन ।
६.​ इगो र अहम्:
 "अमुक व्यक्ति वा समूहले ल्याएको बहसमा हामी किन सहभागी हुने ?" भन्ने सामाजिक तथा वैचारिक अहमका कारण पनि धेरैले सत्यलाई स्वीकार्न सकिरहेका छैनन ।

​५. भावी दिशा: अब के गर्ने?
​यदि निष्पक्ष समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययन गर्ने हो भने म्हेनिङ तामाङ जातिको प्राचीन र मौलिक पर्व हो भन्ने अकाट्य प्रमाणहरू भेटिन्छन । त्यसैले अबको बाटो विभाजनको होइन, संयोजन र जागरणको हुनुपर्छ ।
​बोन र बौद्ध परम्पराको सुन्दर संयोजन: तामाङ समाजमा बोन र बौद्ध दुवै धारा सक्रिय रहेकाले दुवैलाई सम्मान गर्दै लैजानुपर्छ । बोन परम्परा मान्नेहरूले खेप्पास्हुङ (पितृ पूजा) गरेर म्हेनिङ मनाउन सक्छन् भने बौद्ध परम्परा मान्नेहरूले बलि प्रथा छाडेर ङ्युङने (मौन व्रत/उपवास एवं करुणाको पूजा) बसेर यसलाई मनाउन सक्छन ।
​सञ्चारमाध्यम र सचेतना: मिडिया तथा सामाजिक संघ-संस्थाहरूले म्हेनिङको ऐतिहासिकता, यसको मौलिक विधि र विशेषताहरूबारे व्यापकीकरण गर्नुपर्छ ।
​संस्कृति संरक्षण: पश्चात्ताप वा पूर्वाग्रह त्यागेर आफ्नो इतिहास, भाषा र मौलिक पर्वलाई पुनर्जागरण गर्नु नै तामाङ जातिको पहिचानलाई समृद्ध बनाउने एकमात्र मार्ग हो ।

​निष्कर्षमा, 
म्हेनिङ कसैको पछाडि लागेर मनाइने चाड होइन, यो तामाङ जातिको प्रकृति, पितृ र भूमिसँग जोडिएको मौलिक सांस्कृतिक उत्सव हो । भ्रमको तुवाँलो हटाएर आफ्नो वास्तविक इतिहास र संस्कृतिलाई पछ्याउनु नै आजको आवश्यकता हो ।

(जिम्बा खानीखोला-३ का वडाअध्यक्ष हुन ।)

प्रतिकृया दिनुहोस
↑