काठमाडौं घोषणापत्रको पहिलो बुँदामै समेटियो ‘नामको अन्त्यमा तामाङ लेखौँ’ अभियान

काठमाडौं । नेपाल तामाङ घेदुङको दशौँ संघीय महाधिवेशनबाट जारी “याम्बु का-लेङ्मो (काठमाडौं घोषणा)” मा तामाङ पहिचान, भाषा, लिपि, संस्कृति, राजनीतिक अधिकार तथा आर्थिक सशक्तीकरणका विषयलाई प्राथमिकताका साथ समेटिएको छ। घोषणापत्रको पहिलो बुँदामै तामाङ समुदायले आफ्नो नामको अन्त्यमा अनिवार्य रूपमा “तामाङ” लेख्ने र लेख्न लगाउने अभियानलाई अघि बढाउने उल्लेख  गर्दै समेटिएको हो।

विगतमा देश–विदेशका एक दर्जनभन्दा बढी संघ–संस्थाहरूको ऐक्यबद्ध समर्थन प्राप्त गर्दै आएको “नामको अन्त्यमा तामाङ लेखौँ” अभियानलाई नेपाल तामाङ घेदुङले आफ्नो आधिकारिक घोषणापत्रमा समेट्नुले अभियानको आवश्यकता, औचित्य र महत्वलाई थप पुष्टि गरेको छ। तामाङ पहिचानलाई स्पष्ट, सशक्त र संस्थागत रूपमा स्थापित गर्ने दिशामा यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यसैगरी तामाङ राष्ट्रिय पहिचान, भाषा, लिपि, संस्कृति र अधिकारका सवालमा विभिन्न राजनीतिक दलमा रहेका तामाङ नेताहरूबीच एकता र सहकार्यको आवश्यकता औँल्याइएको छ। साथै तामाङ समुदायको परम्परागत शासन प्रणाली, चौकी–चौधरी परम्परा तथा सांस्कृतिक अभ्यासहरूको संरक्षण र अध्ययनलाई समेत महत्व दिइएको छ।

आर्थिक सशक्तीकरणका लागि तामाङ समुदायका परम्परागत सीप, हस्तकला, स्वरोजगार तथा उत्पादनमूलक उद्योगहरूको विकास र प्रवर्द्धन गर्ने नीति घोषणापत्रले अघि सारेको छ। तामाङ हस्तकलाबाट निर्मित सामग्रीको संरक्षण र बजार विस्तारमा समेत जोड दिइएको छ।

प्रतिकृया दिनुहोस