नमोबुद्धको ९१ करोड बजेटप्रस्ताव : कृषि, स्वास्थ्य र पूर्वाधारमा उच्च प्राथमिकता

भकुण्डेबेँसी । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । कृषि, पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट ल्याइएको हो।
नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले बजेट प्रस्तुत गरेका हुन्। नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ९ करोड २४ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। बाँकी स्रोत संघीय तथा बागमती प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड तथा अन्य आयबाट जुटाइने जनाइएको छ।
विनियोजित कुल बजेटमध्ये चालुतर्फ २० करोड २९ लाख ४४ हजार रुपैयाँ र पुँजीगततर्फ ७१ करोड ७ लाख ९९ हजार १ सय ८० रुपैयाँ छुट्याइएको छ। विभिन्न निकायसँगको लागत साझेदारीका कार्यक्रम सञ्चालनका लागि ९ करोड १५ लाख रुपैयाँ व्यवस्था गरिएको छ ।
नगर प्रमुख कुनसाङ लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, पशुपालन, सिँचाइ विस्तार तथा उद्यमशीलता प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ । दाहालचौरमा निर्माणाधीन कोल्ड स्टोर परियोजना सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने विस्तारित बजार क्षेत्रमा मानव मलमूत्र व्यवस्थापनका लागि ५० लाख रुपैयाँ लागतमा सक्सन मेसिन खरिद गरिने भएको छ।
सडक पूर्वाधार विकासअन्तर्गत वडा नं. ७ को नौबिसे–साउनेडाँडा सडकका लागि ३ करोड ५० लाख रुपैयाँ, वडा नं. ३ को दाहालचौर–तिमाल सडकका लागि २ करोड रुपैयाँ, वडा नं. १० को दलसिङ्गे–दाप्चा सडकका लागि २ करोड रुपैयाँ तथा वडा नं. १ को हिराको पसल–मथुरापाटी सडकका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै दाप्चा नमोबुद्ध नगर अस्पतालको सुदृढीकरण, मानसिक स्वास्थ्य तथा आयुर्वेद सेवाको विस्तार गरिने भएको छ। गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा सञ्चालन तथा डिजिटल स्वास्थ्य प्रणाली लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको मासिक १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ भने अवकाशपछि एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ।
शिक्षातर्फ बालमैत्री नगरपालिका घोषणा, विद्यार्थी छात्रवृत्ति, स्थानीय पाठ्यपुस्तक निर्माण, ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम तथा प्रविधिमैत्री विद्यालय विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
सामाजिक सुरक्षाअन्तर्गत बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राहीलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था निरन्तर रहने भएको छ। नगरलाई सडक मानवमुक्त बनाउने, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउने तथा ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ।
विपद् व्यवस्थापनका लागि नगरस्तरीय प्रकोप व्यवस्थापन कोषमा २ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै भू–सूचना प्रणाली र आपतकालीन सञ्चालन केन्द्र स्थापना गरिने भएको छ।
नगरपालिकाले वैज्ञानिक फोहोर व्यवस्थापन, स्रोतमै फोहोर वर्गीकरण, डिजिटल प्रशासन, साइबर सुरक्षा तथा शून्य बेरुजु नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ। आमसञ्चार क्षेत्रको प्रवर्द्धनका लागि नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखालाई २ लाख रुपैयाँ अनुदान समेत विनियोजन गरिएको छ।
नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख कुनसाङ लामाले विपद्पछिको पुनर्निर्माणलाई समेत सम्बोधन गर्दै नमोबुद्धको समग्र विकास र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस