उत्ताउला गीतले थला परेको छ गीत संगीत क्षेत्र

"जीवनका अनगिन्ती कठिनाइ र चुनौतीहरूको भीडबीच कहिल्यै हार नमान्ने व्यक्तित्व हुन् गीतकार नवराज रायमाझी ।"

नवराज रायमाझी ,गीतकार ,काभ्रे
जीवनका अनगिन्ती कठिनाइ र चुनौतीहरूको भीडबीच कहिल्यै हार नमान्ने व्यक्तित्व हुन्  गीतकार नवराज रायमाझी । काभ्रेको बनेपा नगरपालिका-१ स्थायी घर भई हाल बनेपा–८ मा बसोबास गर्दै आएका गीतकार रायमाझी अहिले गीत लेखनदेखि म्युजिक भिडियोमा अभियानको  यात्रासम्म आईपुगेका छन्। ।
उनी भन्छन-"नेपाली समाजमा गीत  संगित र कलाकारको स्थान निकै महत्वपूर्ण छ। गीत संगीत र कला संस्कृतिको हिस्सा हो, जसले हाम्रा भावनाहरू, चासो र संघर्षलाई साझा गर्छ।"

स्कुल जीवनदेखिनै कविता लेखनमा कलम चलाउँने उनी  सांगीतिक क्षेत्रमा पनि होमिएका छन । करिव डेढ बर्ष अघि अफिसियल्ली कामको सिलसिलामा बिदेश पनि हनिए उनी । विदेश बसाईको  क्रममा २० भन्दा बढी लोक तथा आधुनिक गीत, तीज गीत, तामाङसेलो, जनवादी गीत, भजन र पुस्तक पकाशनको लागि पर्याप्त कविताहरू लेख्ने काम गरेको स्मरण गर्छन रायमाझी । हालसम्म उनले आधुनिक गीत "पैसा" र "तीजमा ननाचे कहिले नाच्ने हो" बोलको तीज गीत बजारमा आईसकेको र "मनको तलाउ" नामक आधुनिक गीतको अडियो रेकर्डङ्गको काम सकि म्युजिक भिडियो बनाउने क्रमममा रहेको बताउँछन्  । कविता संग्रह प्रकाशनको तयारीमा समेत जुटिरहेको  छ रायमाझी  ।मौलिकता हराउँदै गीतमा उत्ताउलोपन र अश्लिलताले स्थान जमाउँदै गएको रायमाझीको  बुझाइ छ । प्रस्तुत छ गीतकार नवराज रायमाझीसँग ईपाना नेपालले विविध विषयमा गरेको संक्षिप्त कुराकानीको अंश:आज भोलि के गर्दै हुनु हुन्छ ?
गीतको अतिरिक्त म कविता पनि लेख्छु । त्यही हुनाले हाल कविता संग्रह प्रकाशनतिर लागेको छु ।
किन लाग्नु भयो गीत लेखन कार्यमा ? 
समाजमा व्याप्त बिकृति- बिसंगति, प्रेममा स्वार्थको गन्ध, पारिवारिक सम्बन्धमा देखिएका समस्याहरू,  बुबा आमाहरू प्रति आजका पुस्ताले गर्ने अपहेलना जस्ता कुराहरूले मनमा गहिरो छाप बस्यो, यी र यीनै अन्य बिषयवस्तुहरूलाई गीतको माध्यमबाट जनमानसमा ल्याई सकारात्मक सन्देश दिने हेतुले गीत लेखन कार्यमा लागें।
कस्को प्रेरणाले गर्दा यो क्षेत्रमा लाग्नुभएको  हो ? 
मेरी स्वर्गीय आमा भगवती रायमाझी, बुबा नेत्र बहादुर रायमाझी र जीवन संगिनी सुशिला रायमाझीको प्रेरणाले गर्दा यो क्षेत्रमा लागेको हुं । 
अहिलेसम्म कति वटा गीत लेख्नु भयो ? 
लोक तथा आधुनिक गीत, तीज गीत,तामाङ्ग सेलो, जनवादी गीत तथा हिन्दी गीत गरि करिव २० भन्दा बढी गीतहरू लेखी सकेको छु ।
ति गितहरु कस्ता खालका थिए ?
समाजका विविध आयामहरूलाई मैले गीतमा समेटेको छु । समाजमा देखिएका बिकृति-बिसंगति, माया, प्रेम र भावनात्मक सम्बन्ध, पारिवारिक सम्बन्धमा देखिएको खटपटि, सन्तानद्वारा अभिभावकको भावनामा ठेस पुर्याएका कुरा, जनचेतनामूलक,सामाजिक सन्देशमूलकदेखि देशमा बिध्यमान बिकृति र बिसंगति उपर गरिने खबरदारी जस्ता विषयवस्तुहरू मेरो गीतमा समेटिएका छन्। 
पहिले र अहिलेको गीत लेखन शैलीमा  के परिवर्तन र फरक पाउनुभयो ?
पहिलेका गीतहरूमा आफ्नोपन, मौलिकता र जीवन्तता थियो भने अहिलेका गीतहरू घरपरिवारमा बसेर हेर्न पनि असहज हुने अलि अश्लिल र छाडा प्रबृत्तिका तथा पश्चिमा संस्कृतिले ढाक्दै गएको जस्तो देखिन्छ ।
केका लागि लेख्छन गित ?
मनमा उव्जिएका कुरा शव्द र संगीतको माध्यमद्वारा स्रोतालाई सुनाउन गीत लेखिन्छ।
यो क्षेत्रमा लागेर बिर्सिनै नसकिने कुनै त्यस्तो क्षण छ ? 
मैले "सोचाई र भोगाईमा फरक पर्दो रहेछ, यहीनै मानिसको जीवन कथा रहेछ" स्थायी भावको गीत लेखेको थिएँ । यसैभित्र "पैसा भन्ने चिजै कस्तो स्वार्थ बीच फुल्ने, ईमान जमान नैतिकता सबै चिज भुल्ने" भन्ने बोल पनि थियो । संगितकारले सोचाई र भोगाई भन्ने शव्दनै छुटाएर "पैसा" शीर्षकमा गीत तयार गरेछन् । मेरो मूल स्थायी भावनै हराय पछि यो गीतनै भएन भनेर मैले भनें, त्यसपछि सो लाईन पुनः थप्न लगाएँ ।
जिन्दगीमा के बन्ने सपना थियो गीतकार भएछु ?
ठूलो मान्छे बनेर समाजमा नाम राख्ने मन थियो । समय चक्रले गीतकार बनाई दियो । 
जिन्दगीमा के पाउनु भो के गुमाउनु भो ?
जीन्दगीमा कठोर मेहनत र संघर्ष गरियो प्राप्त उपलव्धिमा आत्मसन्तुष्टी पनि लिईयो । खुशीका क्षणहरू सुनाउन जन्मदिने आमा नहुंदा ठूलो दु:ख र पीडाको अनुभूति भएको छ । समयमै आमा गुमाउंदाको असैह्य बेदनाले मन मुटु खाई रहन्छ । 
कुनै गीतको पहिलो पंक्ति वा विचार कसरी फुर्छ? यसको सृजनात्मक यात्रा कस्तो हुन्छ?
समाजमा दैनिक देखिएका र भोगिएका अनुभव र अनुभूतिहरू मनमा जागृत हुन्छन् र त्यसैलाई शव्दको माध्यमद्वारा स्थायी भावको रूपमा गीतमा उतार्छु । सृजनात्मक यात्रा आत्मसन्तुष्टिपरक र सन्देशमूलक  हुन्छ । तपाईंको जीवनको कुन घटना, अनुभव वा व्यक्तिले तपाईंलाई सबैभन्दा बढी शब्द लेख्न प्रेरित गर्छ?
म काम विशेषले १ बर्षको लागि विदेशमा थिएं, त्यो बेला भिडियो कल गर्ने अवस्था थिएन । मेरी आमा मेरो तस्विर हेर्दै बोल्न छोरा, किन बोल्दैनस् भन्दै रूनु हुँदो रहेछ । आमाको असामयिक निधनले म मर्माहत भएँ र "आमा तिम्रो याद आउँछ छिनका छिन, फोटो हेरी रोई रहन्छु दिनका दिन" भन्ने स्थायी भावको "आमाको सम्झना"  नामक गीत लेखें । मेरो बुबा बिबिध रोगले ग्रसित भएर लामो समयदेखि थला पर्नु भएको छ । बुबाको दु:खद हाल देखेर "जीवन पनि पराई बन्यो हेर" शीर्षकमा "कोठाको दिवार भित्र बन्दी भाछ जीवन, मुडासरि लड्यो शरीर जीवन भयो बन्धन" भनेर गीत लेखें । यी र यस्तै घटनाक्रमले गर्दा मलाई गीती शब्द लेख्न प्रेरित गर्छ । 
सङ्गीत र शब्द: शब्द पहिले आउँछ कि सङ्गीत? 
शव्दले सङ्गीत जन्माउँछ ।  
सङ्गीतकारसँगको सहकार्यमा शब्दहरू समायोजन गर्दा कस्तो चुनौती हुन्छ?
श्रष्टाको शव्दलाई सङ्गीतकारले सङ्गीतको माध्यमद्वारा गीतमा उतार्ने क्रममा केही शव्दहरू मिलाउनु पर्ने हुन्छ । गीतकार र सङ्गीतकारको समन्वयमा समायोजन गरिन्छ, खासै चुनौती हुन्न । 
तपाईंले लेखेका थुप्रै गीतहरूमध्ये तपाईंको मुटुको सबैभन्दा नजिक रहेको र आत्मसन्तुष्टि दिएको गीत कुन हो?
आमाको सम्झना
आजको डिजिटल युग र दर्शकको फेरिएको रुचिले गीत लेखनको शैलीमा कस्तो असर पारेको छ जस्तो लाग्छ?
मौलिकता हराउँदै गीतमा उत्ताउलोपन र अश्लिलताले स्थान जमाउँदै गएको छ ।

प्रतिकृया दिनुहोस
↑