सामाजिक सञ्जालको घोषणाले होइन, विधान र प्रमाणले TSA को वैधानिकता तय गर्छ
"दुवै पक्षले आ-आफ्ना दाबी र आरोप प्रस्तुत गरिरहेकाले विवादको वास्तविकता पत्ता लगाउन संस्थाको विधान, सदस्यता अभिलेख, हस्ताक्षर, बैठकका निर्णय, आर्थिक विवरण तथा बैंकसम्बन्धी कागजातको निष्पक्ष छानबिन आवश्यक देखिएको छ।"
तामाङ सोसाइटी अफ अमेरिका (TSA) मा देखिएको आन्तरिक विवाद अहिले सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा छताछुल्ल भएको छ।
संस्थाका दुई पक्षबीच एक-अर्कामाथि आरोप-प्रत्यारोप गर्ने कार्य रोकिएको छैन ।गत अगस्ट ८ गते महासचिव चाँदानी लामाको नेतृत्वमा विशेष साधारण सभाको आयोजना गरी समानान्तर अन्तरिम कार्यसमिति गठन गरेपछि झन विवाद थप उत्कर्षमा पुगेको हो।
आयोजित विशेष वार्षिक साधारण सभामा लामाको अध्यक्षतामा नौ सदस्यीय अन्तरिम कार्यसमिति गठन गरिएको थियो । उक्त कमिटीलाई अध्यक्ष तुलबहादुर तामाङ नेतृत्वको पक्षले विधान विपरीत गठन गरिएको भन्दै अस्वीकार गरेको छ। अर्कोतर्फ, चाँदनी लामा पक्षले आर्थिक अनियमितताको आरोप लगाउँदै संस्थाभित्र आवश्यक प्रक्रिया पूरा नभएको दाबी गरिएको छ । "दुवै पक्षले आ-आफ्ना दाबी र आरोप प्रस्तुत गरिरहेकाले विवादको वास्तविकता पत्ता लगाउन संस्थाको विधान, सदस्यता अभिलेख, हस्ताक्षर, बैठकका निर्णय, आर्थिक विवरण तथा बैंकसम्बन्धी कागजातको निष्पक्ष छानबिन आवश्यक देखिएको छ। सोसाइटीका अध्यक्ष तुलबहादुर तामाङलाई कसरी विवाद सुरु भयो ? आरोपप्रत्यारोप बिच संस्थाको वार्षिक साधारण सभा कसरी अगाडि बढ्न सकिन्छ ? विवाद समस्या समाधानको विकल्प के हो ? चाँदनी लामा पक्षले आर्थिक अनियमितताको संगीन आरोप लगाएको छ । के प्रमाणित भए कार्बाहि भोग्न तयार छ लगायत सामाजिक सञ्जाल फेसबुक म्यासेस मार्फत ११ प्रश्न सोधेका छन । प्रस्तुत छ उनै अध्यक्ष तामाङसँग ईपाना नेपालका लागि गरेको कुराकानीको अंश:
हिजोआज केमा व्यस्त हुनुहुन्छ?
हिजोआज म तामाङ सोसाइटी अफ अमेरिकाको संस्थागत काम, सामुदायिक गतिविधि तथा आगामी कार्यक्रमहरूको तयारीमा व्यस्त छु। विशेषगरी संस्थाभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गरी संस्थालाई एकताबद्ध राख्ने प्रयास गरिरहेको छु।
यसका साथै वार्षिक साधारणसभाको तयारी, सदस्यहरूसँगको समन्वय तथा समुदायको हितमा सञ्चालन गरिने कार्यक्रमहरूको व्यवस्थापनमा पनि सक्रिय छु।
तपाईं तामाङ सोसाइटी अफ अमेरिकाको १२औँ अधिवेशनबाट सन् २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको थियो। अगस्ट २२ को वार्षिक साधारणसभाअगावै अगस्ट ८ मा महासचिव चाँदनी लामाको नेतृत्वमा समानान्तर समिति गठन गर्ने अवस्था कसरी आयो? विवाद कसरी उत्पन्न भयो?
म तामाङ सोसाइटी अफ अमेरिकाको १२औँ ऐतिहासिक अधिवेशनबाट सन् २०२५–२०२७ कार्यकालका लागि विधानसम्मत रूपमा अध्यक्ष निर्वाचित भएको हुँ। निर्वाचित कार्यसमितिले संस्थाको विधान, सामूहिक निर्णय र संस्थागत प्रक्रियाअनुसार काम गर्दै आएको थियो।
तर पछिल्लो समय तत्कालीन महासचिव चाँदनी लामाले कार्यसमितिको बहुमतको निर्णय, अध्यक्षको स्वीकृति र संस्थाको स्थापित प्रक्रियाभन्दा बाहिर गएर विभिन्न व्यक्तिगत गतिविधि अगाडि बढाएको विषय उठ्यो। त्यसपछि उहाँ र कार्यसमितिका बहुमत सदस्यहरूबीच असहमति उत्पन्न भई विवाद बढ्दै गयो।
हामीले विवाद समाधानका लागि पटक–पटक बैठक, छलफल र सहमतिको प्रयास गर्यौँ। तर संस्थाको आधिकारिक वार्षिक साधारणसभा अगस्ट २२ मा आयोजना हुनुअगावै अगस्ट ८ मा करिब १५–२० जना व्यक्तिको छुट्टै भेला गरी समानान्तर समिति घोषणा गरिएको जानकारी प्राप्त भयो।
हाम्रो बुझाइमा उक्त निर्णय संस्थाको पूर्ण कार्यसमिति, वैध सदस्यता अभिलेख तथा विधानले तोकेको प्रक्रिया पूरा गरेर गरिएको होइन।
त्यसैले यो विवाद व्यक्तिगत विषयभन्दा पनि संस्थाको विधान, अधिकार क्षेत्र, सदस्यताको वैधता र संस्थागत निर्णय प्रक्रियासँग सम्बन्धित छ। हामी कसैलाई संस्थाबाट अलग गर्न चाहँदैनौँ। हाम्रो प्राथमिकता संवाद, निष्पक्ष छानबिन र विधानसम्मत समाधान हो।
तपाईंलाई बहुमत सदस्यको हस्ताक्षर सहित अध्यक्ष पदबाट हटाइएको दाबी गरिएको छ नि?
मलाई बहुमत सदस्यको हस्ताक्षरबाट अध्यक्ष पदबाट हटाइएको भन्ने दाबी झुटो, अप्रमाणित र समुदायमा अन्योल तथा अराजकता सिर्जना गर्ने प्रकृतिको रहेको हाम्रो धारणा छ।
संस्थाको निर्वाचित अध्यक्षलाई केही व्यक्तिको हस्ताक्षर वा सीमित व्यक्तिहरूको भेलाबाट मात्र हटाउन मिल्दैन। त्यसका लागि विधानमा तोकिएको सूचना, प्रस्ताव, वैध सदस्यहरूको आवश्यक सहभागिता, प्रमाणित हस्ताक्षर, गणपूरक संख्या र आधिकारिक निर्णय प्रक्रिया पूरा भएको हुनुपर्छ।
हामीसँग रहेको अभिलेखअनुसार ११ सदस्यीय कार्यसमितिमध्ये आठ जना सदस्य वर्तमान कार्यसमितिको पक्षमा हुनुहुन्छ। यस आधारमा वर्तमान कार्यसमिति दुईतिहाइभन्दा बढी बहुमतमा छ। त्यसैले कुनै सदस्यले अध्यक्षलाई हटाएको भन्ने दाबी आफैँमा विरोधाभासपूर्ण र गम्भीर प्रश्नको विषय बनेको छ।
यदि अर्को पक्षसँग आवश्यक संख्यामा वैध सदस्यको हस्ताक्षर तथा विधानसम्मत निर्णय भएको प्रमाण छ भने त्यो स्वतन्त्र निकाय वा निष्पक्ष छानबिन समितिसमक्ष प्रस्तुत गर्नुपर्छ। हस्ताक्षरकर्ताहरूको सदस्यता, हस्ताक्षरको प्रामाणिकता, बैठकको गणपूरक संख्या र निर्णय प्रक्रियाको निष्पक्ष प्रमाणीकरण हुनुपर्छ।
विधानले तोकेको प्रक्रिया पूरा भएको प्रमाणित नभएसम्म म सन् २०२५–२०२७ कार्यकालका लागि निर्वाचित अध्यक्षको जिम्मेवारीमा कायम छु।
आरोप–प्रत्यारोपबीच दुवै पक्षले आ–आफ्नै दाबी गरिरहेका छन्। कसलाई वैधानिक मान्ने?
वैधानिकता सामाजिक सञ्जालको प्रचार, व्यक्तिगत घोषणा वा आरोप–प्रत्यारोपबाट निर्धारण हुँदैन। यो संस्थाको विधान, निर्वाचन अभिलेख, कार्यसमितिको बहुमत, वैध सदस्यता, बैठकको आधिकारिक सूचना, गणपूरक संख्या र निर्णय प्रक्रियाबाट निर्धारण हुन्छ।
सन् २०२५ मा सम्पन्न १२औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सन् २०२७ सम्म छ। उक्त कार्यसमितिलाई विधानसम्मत रूपमा विघटन गरिएको वा अध्यक्षलाई पदमुक्त गरिएको प्रमाणित नभएसम्म अध्यक्ष तुलबहादुर तामाङ नेतृत्वको निर्वाचित कार्यसमिति नै संस्थाको निरन्तर र आधिकारिक कार्यसमिति हो।
निष्पक्ष निष्कर्षका लागि संस्थाको आधिकारिक विधान, सदस्यता अभिलेख, निर्वाचनसम्बन्धी कागजात, बैठकका निर्णय तथा प्रस्तुत हस्ताक्षरहरूको स्वतन्त्र छानबिन गर्न सकिन्छ। सबै प्रमाणको प्रमाणीकरण भएपछि वास्तविक वैधानिकता अझ स्पष्ट हुनेछ।
हामी आरोपका आधारमा होइन, आधिकारिक कागजात, बहुमतको निर्णय र विधानसम्मत प्रक्रियाका आधारमा वैधानिकता निर्धारण हुनुपर्छ भन्ने पक्षमा छौँ।
चर्को विवादका कारण अहिले दुईवटा ‘तामाङ सोसाइटी अफ अमेरिका’ बनेको भनेर बुझ्ने हो अब ?
होइन, कानुनी र संस्थागत रूपमा एउटै नाममा दुईवटा आधिकारिक तामाङ सोसाइटी अफ अमेरिका हुन सक्दैनन्। केही व्यक्तिले छुट्टै भेला गरेर समानान्तर समिति घोषणा गर्दैमा मूल संस्था स्वतः विभाजित भएको वा एउटै नाममा दुईवटा वैधानिक संस्था बनेको मान्न मिल्दैन।
संस्थाको आधिकारिक दर्ता, विधान, कर तथा वित्तीय अभिलेख, बैंक खाता, सम्पत्ति, निर्वाचन अभिलेख र निर्वाचित कार्यसमितिको निरन्तरताले मूल तथा आधिकारिक संस्था कुन हो भन्ने निर्धारण गर्छ।
त्यसैले यसलाई दुईवटा वैधानिक TSA बनेको भन्दा पनि मूल संस्थाभित्र उत्पन्न विवाद र एउटा पक्षबाट गरिएको समानान्तर समिति घोषणाका रूपमा बुझ्नु उपयुक्त हुन्छ।
म तामाङ समुदाय, संस्थाका सदस्य तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जालका दाबीका आधारमा होइन, आधिकारिक कागजात र प्रमाणित सूचनाका आधारमा मात्र निष्कर्ष निकाल्न अनुरोध गर्दछु।
यो विवादको समाधान के देख्नुभएको छ यहाँले ?
यो विवादको समाधान आरोप–प्रत्यारोप, सामाजिक सञ्जालको प्रचार वा समानान्तर गतिविधिबाट हुन सक्दैन। समाधानका लागि निम्न कदम आवश्यक छन्:
क. संवाद र विवादित गतिविधि बन्द गर्नुपर्ने
दुवै पक्ष तत्काल संवादमा बस्नुपर्छ। एउटै संस्थाको नाम प्रयोग गरी आफूलाई मात्र वैधानिक घोषणा गर्ने, समुदायलाई भ्रमित पार्ने तथा विवाद बढाउने असामाजिक र अवैधानिक गतिविधि बन्द गर्नुपर्छ।
ख. निष्पक्ष मध्यस्थता वा छानबिन समिति गठन गर्नुपर्ने
संस्थाका निष्पक्ष पूर्वअध्यक्ष, वरिष्ठ सल्लाहकार, कानुनी जानकार तथा दुवै पक्षका प्रतिनिधि सम्मिलित स्वतन्त्र मध्यस्थता वा छानबिन समिति गठन गर्नुपर्छ।
ग. अभिलेख तथा हस्ताक्षर प्रमाणीकरण गर्नुपर्ने
सदस्यता सूची, प्रस्तुत हस्ताक्षर, बैठकका सूचना, निर्णय पुस्तिका, आर्थिक अभिलेख तथा निर्वाचनसम्बन्धी कागजात निष्पक्ष रूपमा छानबिन र प्रमाणीकरण गरिनुपर्छ।
घ. विधान, बहुमतको निर्णय र संस्थागत पद्धति स्वीकार गर्नुपर्ने
संस्थाको विधान स्पष्ट हुँदाहुँदै आफूखुसी अपव्याख्या गर्ने तथा महासचिव नै संस्थाको सर्वेसर्वा हो भन्ने किसिमको अनैतिक र संस्थागत मर्यादाविपरीत तर्क त्याग्नुपर्छ।
संस्था कुनै एक पदाधिकारीको व्यक्तिगत अधिकारबाट होइन, विधान, कार्यसमितिको बहुमतको निर्णय तथा संस्थागत पद्धतिबाट सञ्चालन हुन्छ। त्यसैले विधानको सही व्याख्या, कार्यसमितिको बहुमतको निर्णय र संस्थागत प्रक्रियालाई सबै पक्षले स्वीकार गरेर अगाडि बढ्नुपर्छ।
ङ. आवश्यक परे कानुनी मार्गदर्शन लिनुपर्ने
संस्थाभित्रको मध्यस्थता र संवादबाट समाधान नभए सम्बन्धित राज्यको कानुन तथा संस्थाका कानुनी सल्लाहकारको मार्गदर्शन लिनुपर्छ।
म व्यक्तिगत प्रतिष्ठा वा पदभन्दा संस्थाको एकता, मर्यादा र समुदायको हितलाई प्राथमिकता दिन्छु। अर्को पक्षले पनि पूर्वाग्रह त्यागेर विधानसम्मत संवादमा आउन चाहेमा म समाधानका लागि जुनसुकै बेला छलफल गर्न तयार छु।
सत्यतथ्य, बहुमतको निर्णय र वैधानिक प्रक्रियाबाट आएको निष्कर्षलाई स्वीकार गर्दै संस्थालाई थप एकताबद्ध र बलियो बनाएर अगाडि बढ्नु नै यस विवादको सबैभन्दा उचित समाधान हो।
चाँदनी लामा नेतृत्वको पक्षले संस्थाभित्र आर्थिक हिनामिनालगायतका विषयमा गम्भीर प्रश्न उठाउँदै विधानअनुसार विशेष साधारणसभा आयोजना गरेको दाबी गरेको छ। तपाईंमाथि लगाइएका आरोप पुष्टि भए के कारबाही भोग्न तयार हुनुहुन्छ?
ममाथि लगाइएका आर्थिक हिनामिनासम्बन्धी आरोप पूर्ण रूपमा झुटा, आधारहीन र भ्रामक छन्। यस विषयमा यसअघि नै कार्यसमितिमा छलफल भई आवश्यक समाधानसमेत भइसकेको थियो। तर पछि व्यक्तिगत रिसइबी र असन्तुष्टिका कारण सोही विषयलाई पुनः उचालेर संस्थाभित्र अनावश्यक विवाद सिर्जना गर्ने प्रयास गरियो।
आफ्नो पदीय मर्यादा र जिम्मेवारी बिर्सेर कार्यसमितिको बैठकमा समेत अमर्यादित ढङ्गले प्रस्तुत हुने तथा अन्य कुनै ठोस आधार नभेटिएपछि आर्थिक हिनामिनाको आरोप लगाएर विवाद सिर्जना गर्ने काम भएको हो भन्ने मेरो बुझाइ छ।
संस्थाको आर्थिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने अधिकार प्रत्येक सदस्यलाई छ। तर आरोप लगाउँदैमा त्यो प्रमाणित हुँदैन। आरोप पुष्टि गर्न आधिकारिक कागजात, बैंक विवरण, बिल–भौचर तथा अन्य विश्वसनीय प्रमाण आवश्यक हुन्छ।
मेरो नेतृत्वमा कुनै आर्थिक हिनामिना भएको छैन भन्नेमा म पूर्ण रूपमा स्पष्ट र विश्वस्त छु। संस्थाको आय–व्ययसम्बन्धी सम्पूर्ण विवरण विधानअनुसार सम्बन्धित निकाय र सदस्यहरूसमक्ष प्रस्तुत गर्न हामी तयार छौँ। निष्पक्ष लेखापरीक्षण वा अधिकारप्राप्त निकायबाट छानबिन गराउन पनि हामीलाई कुनै आपत्ति छैन।
यदि निष्पक्ष छानबिनबाट ममाथि लगाइएका आरोप प्रमाणित भएमा विधान र कानुनअनुसार हुने कारबाही स्वीकार गर्न म तयार छु। त्यसैगरी, आरोप प्रमाणित नभएमा आधारहीन आरोप लगाएर व्यक्ति तथा संस्थाको प्रतिष्ठामा क्षति पुर्याउने पक्षले पनि नैतिक र संस्थागत जिम्मेवारी लिनुपर्छ।
बैंक खाताको बारेमा पनि सामाजिक सञ्जाल फेसबुकमा छताछुल्ल छन खासमा के हो बाहिर आएको कुरा ?
संस्थाको बैंक खाता कुनै व्यक्ति वा पदाधिकारीको निजी सम्पत्ति होइन; यो संस्थाको आधिकारिक सम्पत्ति तथा वित्तीय संरचनाको अभिन्न हिस्सा हो। त्यसैले उक्त खाताको सञ्चालन, आधिकारिक हस्ताक्षरकर्ताको नियुक्ति वा परिवर्तन तथा रकमको प्रयोग संस्थाको विधान, कार्यसमितिको वैधानिक निर्णय र सम्बन्धित बैंकको प्रचलित नियम तथा प्रक्रियाअनुसार मात्र हुनुपर्छ।
संस्थामा विधानसम्मत रूपमा निर्वाचित तथा कार्यसमितिको दुईतिहाइ बहुमतको समर्थनप्राप्त आधिकारिक कार्यसमिति कायम रहेको अवस्थामा कुनै व्यक्ति आफू अध्यक्ष वा अन्य पदाधिकारी भएको दाबी वा कुनै प्रमाणपत्र प्रस्तुत गर्दैमा संस्थाको बैंक खातामाथि एकतर्फी रूपमा नियन्त्रण कायम गर्न, विद्यमान आधिकारिक हस्ताक्षरकर्ताहरू हटाउन वा संस्थाको रकम सञ्चालन गर्न स्वतः अधिकारप्राप्त हुँदैन। त्यस्तो परिवर्तनका लागि संस्थाको विधानबमोजिम भएको वैधानिक निर्णय, त्यसलाई पुष्टि गर्ने आधिकारिक कागजात तथा बैंकले तोकेको आवश्यक प्रक्रिया पूरा भएको हुनुपर्छ।
यसै सन्दर्भमा, तामाङ सोसाइटी अफ अमेरिकाको नाममा रहेको बैंक खाताबाट संस्थाका आधिकारिक अध्यक्ष र कोषाध्यक्षको नाम तथा हस्ताक्षर हटाई संस्थाकी पूर्व महासचिव चाँदनी लामा र पूर्व सह–कोषाध्यक्ष निरु तारा योन्जनको नाम तथा हस्ताक्षर परिवर्तन गरिएको सम्बन्धित बैंकमा गएर बुझ्दा थाहा भएको छ। संस्थाको आधिकारिक कार्यसमितिको जानकारी, स्वीकृति वा वैधानिक निर्णयबिना यस्तो परिवर्तन गरिएको हुनाले यस विषयमा गम्भीरताका साथ कानुनी प्रक्रिया अगाडि बढाइएको छ। कुन कागजात कसले, कुन अधिकार र निर्णयका आधारमा बैंकमा प्रस्तुत गरेको थियो भन्ने तथ्य सम्बन्धित बैंकको अभिलेख, प्रस्तुत कागजात तथा अन्य प्रमाणको परीक्षणबाट स्पष्ट हुनेछ।
संस्थाको सम्पत्ति र बैंक खाताको सुरक्षा गर्नु तथा कुनै पनि अनधिकृत कारोबार हुन नदिनु वर्तमान आधिकारिक कार्यसमितिको संस्थागत जिम्मेवारी हो। यस उद्देश्यले चालिएका आवश्यक प्रशासनिक वा कानुनी कदमलाई व्यक्तिगत प्रतिशोध वा कुनै व्यक्तिविशेषलाई लक्षित गरिएको कार्यका रूपमा नभई संस्थाको सम्पत्ति, सदस्यहरूको हित र वित्तीय उत्तरदायित्वको संरक्षणका लागि अपनाइएको प्रक्रियाका रूपमा बुझ्न अनुरोध गर्दछौँ।
संस्थाको बैंक खातासम्बन्धी आम्दानी, खर्च, मौज्दात तथा कारोबारको विवरण आवश्यक संस्थागत प्रक्रियाअनुसार पारदर्शी रूपमा प्रस्तुत गर्न हामी तयार छौँ। अतः यस संवेदनशील विषयमा अनुमान, अपुष्ट आरोप वा भ्रम फैलाउनुभन्दा संस्थाको विधान, कार्यसमितिका आधिकारिक निर्णय, बैंक अभिलेख तथा प्रमाणित कागजातका आधारमा सत्यतथ्य बुझ्न र जिम्मेवार ढंगले प्रस्तुत गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौँ।
अब अगस्ट २२ मा हुने वार्षिक साधारणसभाबाट के निष्कर्ष निस्किन्छ—फुट्ने कि जुट्ने?
अगस्ट २२ मा हुने वार्षिक साधारणसभाको मुख्य उद्देश्य संस्था फुटाउनु होइन, जुटाउनु हो। उक्त सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक प्रतिवेदन, वर्तमान विवाद तथा भावी कार्ययोजनाबारे खुला र पारदर्शी रूपमा छलफल गरिनेछ।
हामी सबै पक्षलाई व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर संस्थाको हितमा संवाद गर्न आह्वान गर्छौँ। असहमति लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा हो, तर त्यसको समाधान विधान, प्रमाण, संवाद र सहमतिबाट खोजिनुपर्छ।
मलाई विश्वास छ, वार्षिक साधारणसभाले विद्यमान भ्रम हटाउँदै संस्थागत एकता, पारदर्शिता र सहकार्यको स्पष्ट मार्ग तय गर्नेछ। हाम्रो प्रयास संस्था फुटाउने होइन, सबैलाई समेटेर अझ सुदृढ र एकताबद्ध बनाउने हो।
यसरी आरोप–प्रत्यारोपसँगै विवादका बीच संस्थालाई कसरी अगाडि बढाउनुहुन्छ?
संस्थालाई व्यक्तिगत आरोप–प्रत्यारोपका आधारमा होइन, विधान, सामूहिक निर्णय, पारदर्शिता र जवाफदेहिताका आधारमा अगाडि बढाउनुपर्छ। त्यसका लागि सबैभन्दा पहिले तथ्य र भ्रमलाई छुट्याउँदै संस्थाका आधिकारिक अभिलेख, बैठकका निर्णय तथा आर्थिक विवरण सदस्यहरूसमक्ष स्पष्ट रूपमा प्रस्तुत गरिनेछ।
सबै पक्षसँग संवाद गर्ने, आवश्यक परे निष्पक्ष लेखापरीक्षण, छानबिन वा मध्यस्थताको प्रक्रिया स्वीकार गर्ने तथा सदस्यहरूको लोकतान्त्रिक अधिकारको सम्मान गर्ने हाम्रो नीति हुनेछ।
हाम्रो प्राथमिकता संस्थाको प्रतिष्ठा जोगाउनु, सदस्यहरूको विश्वास अझ बलियो बनाउनु तथा समुदायको हितमा सञ्चालन हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिनु हो।
व्यक्तिभन्दा संस्था ठूलो हुन्छ। त्यसैले म सबै पक्षलाई संयमित, जिम्मेवार र मर्यादित भएर संस्थाको एकता तथा दीर्घकालीन हितका लागि अगाडि बढ्न आग्रह गर्दछु।
अन्त्यमा केही भन्नु छ कि?
तामाङ सोसाइटी अफ अमेरिका हामी सबैको साझा संस्था हो। यसको स्थापना, निर्माण र विकासमा अग्रजहरू, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, पदाधिकारीहरू तथा सदस्यहरूले लामो समयदेखि महत्त्वपूर्ण योगदान दिनुभएको छ। क्षणिक विवाद वा व्यक्तिगत असहमतिका कारण संस्थाको इतिहास, प्रतिष्ठा र भविष्यलाई कमजोर बनाउनु हुँदैन।
म सम्पूर्ण सदस्य तथा समुदायलाई सामाजिक सञ्जालमा प्रसारित अपुष्ट सूचना र आधारहीन आरोपको पछि नलागी आधिकारिक तथ्य तथा प्रमाणका आधारमा धारणा बनाउन अनुरोध गर्दछु। साथै, अगस्ट २२ मा हुने वार्षिक साधारणसभामा सहभागी भएर आफ्ना प्रश्न, सुझाव तथा असहमति लोकतान्त्रिक र मर्यादित ढङ्गले राख्न हार्दिक आह्वान गर्दछु।
संवाद, सहमति र विधानसम्मत प्रक्रियाबाट विद्यमान विवाद समाधान गर्दै संस्थालाई अझ एकताबद्ध, पारदर्शी, जवाफदेही र सशक्त बनाऔँ।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस