काभ्रेको बनेपामा आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपास्थित काभ्रे आईटिएफ तेक्वान्दो प्रतिष्ठानमा नियमित प्रशिक्षणरत खेलाडीहरूलाई रङ्गीन पेटी वितरण गरिएको छ । प्रतिष्ठानले गत शनिबार सञ्चालन गरेको रङ्गीन पेटी अपग्रेड परीक्षामा सफल भएका खेलाडीहरूलाई आईतवार मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पेटी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख वाईबाले खेलकुदले अनुशासित, स्वस्थ र आत्मविश्वासी नागरिक निर्माण गर्ने भएकाले अध्ययनसँगै खेलकुद क्षेत्रमा पनि निरन्तर लाग्न खेलाडीहरूलाई आग्रह गरे । खेलकुदमार्फत स्थापित भएका छोराछोरीले अभिभावकलाई सन्तुष्टि दिनुका साथै राष्ट्रका लागि समेत योगदान पु¥याउन सक्ने उनको भनाइ थियो ।
काभ्रे आईटिएफ तेक्वान्दो प्रतिष्ठानले नियमित प्रशिक्षणमा रहेका खेलाडीहरूलाई विभिन्न कार्यक्रममार्फत खेलकुदमा निरन्तर लाग्न उत्प्रेरित गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख वाईबाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मण्डनदेउपुर नगरपालिकामा नगरपालिकाको आयोजनामा खेलकुद कभर्ड हल निर्माण भइरहेको जानकारी दिँदै त्यसको उद्घाटनका अवसरमा राष्ट्रियस्तरको सम्भव नभए प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेर सञ्चालनमा ल्याउने बताए ।
कार्यक्रममा सामाजिक व्यक्तित्व तथा काभ्रे जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष रघुबर चौप्रधानले आफूले स्थापनाकालदेखि नै आईटिएफ तेक्वान्दो खेलको विकासमा सकेको सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।
अर्का अतिथि तथा खेलाडी सौरभ कायस्थले खेलकुदले कमजोर व्यक्तिलाई बलवान र अनुशासनहीन व्यक्तिलाई सज्जन बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । खेलाडी, अभिभावक र डोजाङबीचको समन्वयबाट मात्रै राम्रो खेलाडी उत्पादन गर्न सकिने उल्लेख गर्दै उनले खेलाडीहरूलाई ‘म गर्न सक्छु’ भन्ने आत्मविश्वासका साथ खेलजीवनलाई निरन्तरता दिन आग्रह गरे ।
काभ्रे आईटिएफ तेक्वान्दो प्रतिष्ठानका अध्यक्ष तथा नेपाल आईटिएफ तेक्वान्दो राष्ट्रिय रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठले काभ्रे आईटिएफले राष्ट्रियस्तरमा उदयमान खेलाडी उत्पादन गर्दै आएको बताए । फाइट, प्याट्रन र ग्रुप प्याट्रनलगायतका प्रतिस्पर्धामा काभ्रे आईटिएफका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आएको उनले उल्लेख गरे ।
कार्यक्रममा परीक्षामा सफल भएका खेलाडीहरूलाई पहेंलो पेटीदेखि रातो–कालो पेटीसम्म वितरण गरिएको थियो । जसअनुसार विभिन्न रङ्गिन पेटीतर्फका ११० जना जना खेलाडीलाई वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष, काभ्रे तेक्वान्दो आईटिएफ संघका संस्थापक तथा नेपाल आईटिएफ तेक्वान्दो राष्ट्रिय रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
भर्खरै
"अभावको आँगनमा फुलेको खुसी"
टीकाका लागि हजारौँ माइलको यात्रा: प्रवासमा नेपाली र विश्वभर फैलिएको दशैँ
यसपालि त यस्तै भो आमा…
खालि निधार र आँखामा घरको सपना
बोन संस्कारमा खेप्पा ह्सुङ छ्योइबा, गोठे पूजा र बाली संरक्षण
दशैँ मनाउन गाउँ जाँदै थियौँ, निङगाले भीरले मेरो संसार खोस्यो
वडा दशैः राज्यसत्ता माथि उभिएको प्रश्नै प्रश्न




प्रतिकृया दिनुहोस