भारतमा काभ्रे नमोबुद्धका २६ वर्षीय सागर नेपालको रहस्यमय मृत्यु, निष्पक्ष छानबिनको माग
काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मधु चौलागाईंले सोमबार प्रतिनिधिसभा बैठकमा सागर नेपालको मृत्युबारे गम्भीर छानबिन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । परिवारले पनि निष्पक्ष अनुसन्धानको माग गर्दै भारतस्थित नेपाली दूतावासमा निवेदन
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ घर भई रोजगारीका सिलसिलामा भारतको पञ्जाब राज्यस्थित राजपुरामा बस्दै आएका २६ वर्षीय सागर नेपालको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ । घटना भएको ६ दिनपछि मात्र परिवारले जानकारी पाएको र शव अत्यधिक गलिसकेकाले प्रवासी नेपाली एकता समाजको सहयोगमा भारतमै दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।
परिवारका अनुसार सागर आफ्ना दाइ नाता पर्ने उत्तम बोलखेसँग गत कात्तिक २० गते रोजगारीका लागि भारत गएका थिए । सुरुमा हिमाञ्चल प्रदेशको सिम्लामा करिब ७–८ दिन काम गरेपछि बढी तलबको आशामा पञ्जाब पुगेका उनी फ्रिजका पार्टपुर्जा उत्पादन गर्ने कम्पनीको मेसिन अपरेटरका रूपमा कार्यरत थिए । परिवारका सदस्यका अनुसार सागरले आउँदो दशैंमा घर आएर त्यसपछि वैदेशिक रोजगारीमा जाने योजना बनाएका थिए । तर अपेक्षाअनुसार कमाइ नभएको, कमाएको रकमसमेत हराएको भन्दै उनी यही असार २३ वा २४ गते नेपाल फर्किने तयारीमा थिए ।
सागरले अन्तिम पटक अघिल्लाे हप्ता शुक्रबार आफ्नी आमासँग फोनमा कुरा गरेका थिए । त्यसपछि शनिबार बिहान करिब ८ः३० बजे कम्पनीबाट “१५ मिनेटमै फर्कन्छु” भन्दै बाहिर निस्किएका उनी सम्पर्कविहीन भएका थिए । त्यसको भोलिपल्ट आइतबार दिउँसो करिब २ बजे कम्पनीबाट करिब पाँच मिनेटको दूरीमा रहेको क्षेत्रमा उनको शव भारतीय प्रहरीले फेला पारेको बताइएको छ । घटना भएको ६ दिनपछि मात्र परिवारले जानकारी पाएको र शव पूर्णरूपमा गलिसकेको अवस्थामा रहेकाले प्रवासी नेपाली एकता समाजको सहयोगमा शनिबार भारतमै अन्त्येष्टि गरिएको जनाइएको छ ।
परिवार तथा स्थानीयवासीले सागरको मृत्यु सामान्य नभई रहस्यमय हुनसक्ने आशंका गर्दै घटनाको निष्पक्ष, गहिरो र तथ्यपरक अनुसन्धानको माग गरेका छन् । उनीहरूले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय प्रहरीसँग समन्वय गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न आग्रह गरेका छन् ।
यसैबीच, काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मधु चौलागाईंले सोमबार प्रतिनिधिसभा बैठकमा सागर नेपालको मृत्युबारे गम्भीर छानबिन आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । परिवारले पनि निष्पक्ष अनुसन्धानको माग गर्दै भारतस्थित नेपाली दूतावासमा निवेदन दिएको जनाएको छ ।
सागरको निधनसँगै उनको परिवार गहिरो शोकमा डुबेको छ । ५७ वर्षीय क्यान्सरपीडित बुबा जीवनको अन्तिम अवस्थासँग संघर्ष गरिरहेका छन् भने सामान्य खेतीपाती गरेर परिवार धान्दै आएकी आमा केही दिनमै छोरा घर फर्किने आशामा थिइन् । तर अकालमै छोराको मृत्यु भएपछि परिवार भावनात्मक पीडासँगै चरम आर्थिक संकटमा समेत परेको छ । स्रोत कालोटोपी
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस