पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र

काभ्रे। पनौती नगरपालिका–७ मा बसोबास गर्दै आएका सुकुम्बासी नागरिकलाई वैकल्पिक व्यवस्थाविना हटाउन नगरपालिकाले जारी गरेको सूचनाको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) काभ्रेले मंगलबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा पनौती नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

पनौती नगरपालिकाले साउन २६ गते वडा नं. ७ का सुकुम्बासीलाई १५ दिनभित्र स्थान खाली गर्न निर्देशनसहित सूचना जारी गरेको थियो । उक्त सूचना संविधानले प्रत्याभूत गरेको नागरिकको मौलिक अधिकारविपरीत भएको ती दुई पार्टीले ठहर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक र पनौती नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

दुवै पार्टीले नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार, देशभित्र आवतजावत र बसोबास गर्ने स्वतन्त्रता तथा आवासको अधिकार सुनिश्चित गरेको भन्दै वैकल्पिक व्यवस्थाविना नागरिकलाई हटाउने सूचना अमानवीय र असंवैधानिक भएको उल्लेख गरेका छन्।

ज्ञापनपत्रमार्फत नगरपालिकालाई तत्काल उक्त सूचना फिर्ता लिन, सम्बन्धित पक्षसँग संवाद र छलफलको वातावरण बनाउन तथा समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरिएको छ। साथै नागरिकमाथि बल प्रयोग वा जबर्जस्ती हस्तक्षेप गरिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी राज्य पक्षले नै वहन गर्नुपर्ने चेतावनीसमेत दिइएको छ।

जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाको निर्णयबारे आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएको छ। त्यस्तै पनौती नगरपालिकामा बुझाइएको ज्ञापनपत्रमा ४८ घण्टाभित्र उक्त अमानवीय कार्य सच्याउन माग गरिएको छ।

दुवै पार्टीले नागरिकको न्यायपूर्ण आवाजमा आफ्नो ऐक्यबद्धता रहने जनाउँदै सुकुम्बासी नागरिकको उचित व्यवस्थापन र सम्मानजनक पुनर्स्थापनाको माग गरेका छन्।

प्रतिकृया दिनुहोस