"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
"बेलायत आउँदा सुरु–सुरुमा सुनिने केही कुराहरू अझै पनि मानसपटलमा खेलिरहन्छन्। विदेशको जीवन, कामको सङ्घर्ष, आर्थिक व्यवस्थापन र मानिसको सोच्ने तरिकाबारे अनुभवबाट धेरै कुरा सिक्न पाइन्छ।"
बेलायत आउँदा सुरु–सुरुमा सुनिने केही कुराहरू अझै पनि मानसपटलमा खेलिरहन्छन्। विदेशको जीवन, कामको सङ्घर्ष, आर्थिक व्यवस्थापन र मानिसको सोच्ने तरिकाबारे अनुभवबाट धेरै कुरा सिक्न पाइन्छ। मैले दोस्रो पटक काम गरेको ठाउँमा साहुजीले मलाई हप्ताको ७० पाउन्ड दिने निर्णय गर्नुभयो र एउटा निकै घतलाग्दो कुरा भन्नुभयो। उहाँले भन्नुभयो, "अहिले व्यवसाय त्यति राम्रो छैन, बिस्तारै सुधार हुँदै जानेछ। अहिलेलाई यति मात्र दिन सकियो, नराम्रो नमान्नुहोला। तर एउटा कुरा सधैं याद राख्नुहोस्, तपाईंले कति कमाउनुहुन्छ भन्ने भन्दा पनि कति बचाउनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।"
मैले त्यो समयमा सँगै काम गर्ने एकजना वेटरको जीवनशैलीबाट यो कुरालाई प्रत्यक्ष रूपमा बुझिरहेको थिएँ, जसले हप्ताको २५० पाउन्ड कमाउँथे। आम्दानी राम्रो भए पनि उनको आर्थिक अवस्था सधैं कमजोर देखिन्थ्यो। उनी सधैं अर्को हप्ताको प्रतीक्षामा मात्र हुन्थे र कहिलेकाहीँ त अरूसँग पैसा सापट लिन समेत बाध्य हुन्थे। जहिले पनि "पैसा छैन" भन्ने गुनासो सुनिन्थ्यो। त्यो घटनाले मलाई एउटा ठूलो पाठ सिकायो। अहिलेसम्म पनि मैले यो वास्तविकतालाई सम्झिरहेको छु।
कुराकानीकै क्रममा ती साहुजीले बेलायतमा विश्वास गर्न नहुने चारवटा 'डब्ल्यु' (Four W) का बारेमा रमाइलो शैलीमा व्याख्या गर्नुभएको थियो। पहिलो 'Weather' अर्थात् मौसम! बेलायतको मौसमको कुनै भर हुँदैन, एकै दिनमा घाम, पानी, हावा र चिसो सबै अनुभव गर्न सकिन्छ। दोस्रो 'Work' अर्थात् काम! व्यवसाय कहिले राम्रो हुन्छ, कहिले समस्या आउँछ वा कहिले काम नै परिवर्तन गर्नुपर्ने हुन्छ भन्ने कुरा अनिश्चित छ। तेस्रो 'Wife/Woman' अर्थात् सम्बन्ध! मानवीय सम्बन्धहरू पनि कहिलेकाहीँ अनपेक्षित रूपमा बदलिन्छन्। र चौथो 'Wine/Whisky' अर्थात् मदिरा! जसको समस्या संसारका धेरै समाजमा देखिन्छ।
तर आज मैले चर्चा गर्न खोजेको 'W' भने यीभन्दा फरक छन्। यो जीवनका अनिश्चिततासँग सम्बन्धित नभई संसारलाई बुझ्ने, विश्लेषण गर्ने र सही निर्णय लिन मद्दत गर्ने एउटा वैज्ञानिक सोच हो,पाँच डब्ल्यु, एक एच।
मानव जीवन र समाजलाई गहिराइमा बुझ्न, कुनै पनि घटनाको वास्तविकता पत्ता लगाउन र जटिल समस्यालाई सजिलै समाधान गर्न ‘पाँच डब्ल्यु, एक एच’ एउटा निकै प्रभावकारी विधि हो। यसमा के (What), किन (Why), कहाँ (Where), कहिले (When), कसले (Who) र कसरी (How) भन्ने छवटा आधारभूत प्रश्नहरू समेटिएका हुन्छन्। यी प्रश्नहरू केवल सामान्य जिज्ञासा मात्र होइनन्, बरु संसारभरका पत्रकार, अनुसन्धानकर्ता, वैज्ञानिक, नीति निर्माता, प्रहरी र व्यवस्थापकहरूले प्रयोग गर्ने विश्लेषणका मुख्य आधार हुन्।
वास्तवमा ‘पाँच डब्ल्यु, एक एच’को सबैभन्दा बढी प्रयोग पत्रकारितामा हुन्छ। एउटा राम्रो समाचार भनेको केवल सूचना मात्र होइन, तथ्यमा आधारित सत्यको प्रस्तुति हो। पत्रकारको पहिलो जिम्मेवारी कुनै घटनालाई रोचक बनाउनु मात्र नभई त्यसको वास्तविक स्वरूप पत्ता लगाउनु हो। त्यसका लागि पत्रकारले सबैभन्दा पहिले केही आधारभूत प्रश्नहरू सोध्नुपर्छ: के भयो? कसलाई भयो? कहाँ भयो? कहिले भयो? किन भयो? र कसरी भयो?
आधुनिक पत्रकारितामा ‘पाँच डब्ल्यु, एक एच’लाई समाचार लेखनको मेरुदण्ड मानिन्छ। विशेष गरी टेलिग्राफको युगमा समाचार छोटो, स्पष्ट र छिटो पुर्याउनुपर्ने आवश्यकताले पत्रकारहरूलाई सबैभन्दा महत्त्वपूर्ण तथ्य सुरुमै राख्ने अभ्यास गरायो।
तर ‘पाँच डब्ल्यु, एक एच’ पत्रकारितामा मात्र सीमित छैन। यो अनुसन्धान, अपराध अनुसन्धान, नीति निर्माण, व्यापार रणनीति, चिकित्सा, शिक्षा र हाम्रो दैनिक निर्णय प्रक्रियामा समेत उत्तिकै उपयोगी छ। आजको सूचनाको युगमा सत्य र असत्य छुट्याउन झन् कठिन हुँदै गएको छ। यस्तो अवस्थामा कुनै पनि समाचार, राजनीतिक चर्चा वा सामाजिक घटनालाई आँखा चिम्लेर विश्वास गर्नुभन्दा यी छवटा प्रश्न सोध्ने बानीले हामीलाई सही निष्कर्षमा पुग्न मद्दत गर्छ।
सबैभन्दा पहिले ‘के’ (What) भन्ने प्रश्नले कुनै पनि विषयको वास्तविक पहिचान दिन्छ। कुनै पनि कुरा बुझ्न त्यो वास्तवमा के हो भन्ने जान्नु जरुरी छ। जस्तै, कोभिड–१९ महामारी सुरु हुँदा संसारले यही प्रश्न गर्यो,के यो सामान्य रुघाखोकी हो वा कुनै नयाँ भाइरस? अनुसन्धानपछि मात्र यो सार्स–कोभ–२ नामक नयाँ कोरोनाभाइरस भएको पुष्टि भयो। त्यसैगरी बिटकोइनको चर्चा हुँदा पनि मानिसहरूले प्रश्न गरे, के यो पैसा हो, डिजिटल सम्पत्ति हो वा लगानी गर्ने माध्यम?
त्यसपछि ‘किन’ (Why) भन्ने प्रश्नको पालो आउँछ, जसले कुनै पनि घटनाको जड र त्यसको पछाडिको कारण पत्ता लगाउन मद्दत गर्छ। उदाहरणका लागि, सन् २००८ को विश्व आर्थिक संकट किन आयो भनेर खोज्दा कमजोर वित्तीय प्रणाली, अत्यधिक ऋण र नियमनको अभाव जस्ता मुख्य कारणहरू बाहिर आए। त्यसैगरी, जलवायु परिवर्तन किन भइरहेको छ भन्ने प्रश्नले कार्बन उत्सर्जन, वन विनाश र अव्यवस्थित विकासलाई जिम्मेवार ठहर्याउँछ। स्पष्ट कारण नबुझी समस्याको वास्तविक समाधान खोज्न असम्भव छ।
‘कहाँ’ (Where) भन्ने प्रश्नले घटना घट्ने स्थान र त्यसको परिवेशलाई स्पष्ट पार्छ, किनकि एउटै समस्या फरक ठाउँमा फरक स्वरूपमा देखिन सक्छ। ‘कहिले’ (When) ले समय र घटनाको सम्बन्ध बुझाउँछ भने ‘कसले’ (Who) ले जिम्मेवारी, नेतृत्व र जवाफदेहिताको कुरा गर्छ। अन्ततः, ‘कसरी’ (How) ले प्रक्रिया र समस्या समाधान गर्ने उपायहरू देखाउँछ।
हाम्रो दैनिक जीवनमा पनि ‘पाँच डब्ल्यु, एक एच’को भूमिका निकै ठूलो छ। यदि कुनै विद्यार्थी परीक्षामा असफल भयो भने, केवल "ऊ असफल भयो" भन्नु मात्रै काफी हुँदैन। वास्तवमा के भयो, किन भयो, कहाँ कमजोरी रह्यो, समस्या कहिलेदेखि सुरु भयो, कसले सहयोग गर्न सक्छ र सुधारको बाटो कसरी तय गर्ने भन्ने प्रश्नहरूको जवाफ खोज्दा मात्र वास्तविक समाधान निस्कन्छ।
निष्कर्षमा भन्नुपर्दा, ‘पाँच डब्ल्यु, एक एच’ केवल छवटा प्रश्नहरूको समूह मात्र होइन, यो सोच्ने, बुझ्ने र सही निर्णय लिने एउटा पूर्ण पद्धति हो। पत्रकारिताबाट सुरु भएको यो सिद्धान्त आज अनुसन्धान, विज्ञान, राजनीति, व्यापार र व्यक्तिगत जीवनका हरेक क्षेत्रमा उत्तिकै सान्दर्भिक छ। कुनै पनि जटिल समस्यालाई सरल बनाउने पहिलो खुड्किलो नै सही प्रश्न सोध्नु हो। जब हामी कुनै पनि विषयलाई के, किन, कहाँ, कहिले, कसले र कसरी भन्ने दृष्टिकोणले हेर्न थाल्छौँ, तब हामी हल्ला र अनुमानभन्दा माथि उठेर तथ्य र प्रमाणतर्फ लाग्छौँ। सही प्रश्न सोध्न सक्ने क्षमता नै सही निर्णयको आधार हो, र यही नै पाँच डब्ल्यु, एक एचको वास्तविक शक्ति हो।
(लेखक श्रेष्ठ तीन दशकदेखि बेलायतमा बसोवास गर्दै आउनुभएको छ।)
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस