बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
मामाघर अनि हजुरआमाको आँसु सम्झन्छु। समयले सबै कुरा बदलेको छ—म विदेशमा छु । त्यो मामाघर पनि छैन, त्यो रेडियो छैन, हजुरआमा पनि हुनुहुन्न। तर उहाँका ती आँसुहरू भने अझै मेरो स्मृतिमा ताजै छन्।
केही गीतहरू केवल कानले सुनिँदैनन्, तिनले हृदयको सबैभन्दा गहिरो कुनामा बसेका स्मृतिहरूलाई ब्युँझाउँछन्। विनायक शमशेरको "बोलिरहने हृदयको चरीलाई कुन्नि के भो " मेरो लागि त्यस्तै गीत हो। यो गीत सुन्नासाथ समय एकाएक पछाडि फर्किन्छ। मेरा आँखाअगाडि बाल्यकालको त्यो मामाघर त्यो मझेरी , माटोको गन्ध, भित्तामा झुन्डिएको पुरानो रेडियो र मामाघरकी मेरी प्रिय हजुरआमा एकपछि अर्को गर्दै जीवित भएर उभिन्छन्।
म त्यतिबेला निकै सानो थिएँ। रेडियोमा यो गीत बज्न थालेपछि हजुरआमाले भन्नुभएको थियो, "बाबु, अलिक ठूलो पार त।" मैले रेडियोको आवाज बढाइदिएँ। त्यसपछि उहाँ चुपचाप गीत सुन्न थाल्नुभयो। केहीबेरमै उहाँका आँखाबाट बलिन्द्रधारा आँसु बग्न थाले। म अचम्म मान्दै उहाँलाई हेरिरहेँ। किन रोएको हो, त्यो बेला मैले बुझिनँ। गीत पनि बुझिनँ। केवल हजुरआमाको रोदन मेरो स्मृतिमा कैद भएर बस्यो। अनन्त कालसम्म। सायद मेरो अन्तिम साससम्म । यो गीतसँगै हजुरआमाको स्मृति बाँचिरहन्छ।
जब म ठूलो भएँ, गीतका शब्दहरू बुझ्न थालेँ। त्यसबेला मात्रै थाहा भयो—यो त केवल गीत होइन रहेछ, जीवनको गहिरो दर्शन पो रहेछ। आहा कति बेजोड गीत। विरक्ति, अनित्यता, आत्मबोध र मानवीय संवेदनाको अद्भुत संगम रहेछ गीतमा। त्यसै दिन मैले हजुरआमाको आँसुको अर्थ पनि बुझ्न थालेँ। उहाँ अक्षर चिन्नुहुन्नथ्यो, तर जीवनका पानाहरू पढ्नुभएको थियो। दुःख, सुख, शोक, पीडा प्रेम र समयका कठोर पाठहरू उहाँले आफ्नै जीवनबाट सिक्नुभएको थियो। त्यसैले उहाँले त्यो गीतमा आफूलाई भेट्नुभएको रहेछ र पो त्यो अपहत्ते गर्नु भएको।
त्यस दिनदेखि मैले एउटा ठूलो सत्य बुझेँ—ज्ञान केवल विद्यालयको प्रमाणपत्रमा सीमित हुँदैन। जीवनलाई गहिराइमा बाँच्ने मानिसहरू, चाहे उनीहरू निरक्षर नै किन नहून्, कहिलेकाहीँ विश्वविद्यालयका पुस्तकभन्दा धेरै गहिरा ज्ञानी हुन्छन्। सिक्नेका लागि बृहत पुस्तकालय पनि।
आज पनि जब यो गीत सुन्छु, मेरो मन फेरि त्यही मझेरीमा पुग्छ। भित्तामा झुन्डिएको त्यो पुरानो रेडियो सम्झन्छु। मामाघर अनि हजुरआमाको आँसु सम्झन्छु। समयले सबै कुरा बदलेको छ—म विदेशमा छु । त्यो मामाघर पनि छैन, त्यो रेडियो छैन, हजुरआमा पनि हुनुहुन्न। तर उहाँका ती आँसुहरू भने अझै मेरो स्मृतिमा ताजै छन्।
त्यसैले यो गीत सुन्दा मेरा आँखा आफैँ रसाउँछन्। म धित मरुन्जेल रुन्छु। त्यो रुवाइ दुःखको मात्र हुँदैन; त्यो प्रेमको हुन्छ,ती सम्झनाको हुन्छ, र एउटा महान् हजुरआमाको आत्माप्रति श्रद्धाको हुन्छ। अनि मन हलुका हुन्छ। लाग्छ, कतैबाट हजुरआमा अझै पनि त्यो गीत सुन्दै हुनुहुन्छ, र म फेरि एकपटक उहाँको छेउमा बसेर रेडियोको आवाज अलिकति बढाइरहेको छु। हामी दुबै धित मरुन्जेल रुँदै छौँ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस