"रत्नपार्कको बेञ्च"

"चन्द्रकुमारले रत्नपार्कको सडक तिर हेर्दै भने, "त्यो बेला हामी लोकतन्त्रका लागि सडकमा थियौँ। हामीले सोचेका थियौँ—व्यवस्था फेरिएपछि सबैको जीवन फेरिन्छ। तर पछि बुझियो, कुर्सी बदल्नुभन्दा गाह्रो कुरा त सोच बदल्नु रहेछ।" "बादलले आफ्नो लागि वर्षा गर्दैन।

रत्नपार्कको हरियो घाँसमाथि साँझ विस्तारै ओर्लिँदै थियो। बीस वर्षअघि लोकतन्त्रका लागि उठेका नाराहरूको प्रतिध्वनि अझै ती रूखहरूका पातमा अड्किएको जस्तो लाग्थ्यो।
मोहनलालले टिकट काटेर पार्कभित्र प्रवेश गर्‍यो। वर्षौँपछि ऊ फेरि त्यही ठाउँमा आएको थियो, जहाँ कहिल्यै आँसु, आशा र आन्दोलनले एउटै इतिहास लेखेका थिए।
एउटा पुरानो बेञ्चमा बसिरहेको परिचित अनुहारले उसको पाइला रोक्यो।
"चन्द्रकुमार...!"
चन्द्रकुमारले टाउको उठाए। केही क्षण दुवैका आँखाले एकअर्कालाई चिने। त्यसपछि उनीहरू मुस्कुराए। त्यो मुस्कानमा दुई दशकको दूरी पनि थियो र बाल्यकालको आत्मीयता पनि।
उनीहरू लाकुरी भञ्ज्याङका साथी थिए। गाउँको सरकारी विद्यालयमा कक्षा पाँचसम्म एउटै कक्षामा पढेका। त्यसपछि गरिबीले उनीहरूको बाटो छुट्याइदियो।
दुवै बेञ्चमा बसे। केहीबेर मौनता रह्यो। त्यसपछि चन्द्रकुमार आफैँ बोल्न थाले।
"मोहनलाल, तिमीले किताब धेरै पढ्यौ होला। मैले जीवन पढेँ। किताबका पाना सकिन्छन्, तर जीवनका पाठ कहिल्यै सकिँदैनन्।"
मोहनलाल चुपचाप सुनिरहे।
"हाम्रो लाकुरी भञ्ज्याङ अझै उस्तै छ। उकालो पनि उस्तै, ओरालो पनि उस्तै। बिहानको कुहिरो पनि उस्तै। तर मानिसका सपना भने फेरिएका छन्। अहिले गाउँका धेरै घरमा खेतभन्दा विदेशको टिकट ठूलो सपना बनेको छ।"
उनले लामो सास फेरे।
"म भने खेतवारि  छोड्न सकिनँ। हलो नै मेरो कलम बन्यो, माटो नै मेरो कापी। पसिना नै मेरो हस्ताक्षर।"
मोहनलालको नजर चन्द्रकुमारका कठोर हातमा गयो। ती हातमा वर्षौँको श्रम लेखिएको थियो।
"पढ्न नपाएको पीडा त छ। तर मैले कहिल्यै इमान बेचेर त्यो अभाव मेटाउने सोचिनँ।"चन्द्रकुमारले भावुक हुँदै भने।
उनको स्वर अझ गहिरियो।
"मोहनलाल, भोकले पेट पोल्छ, तर बेइमानीले आत्मा पोल्छ। पेटको आगो एकछिन सहन सकिन्छ, आत्माको आगो जीवनभर निभ्दैन।" पार्कमा खेलिरहेका बालबालिकाको हाँसो उनीहरूको मौनतामा मिसियो।
"मेरा दुई छोराछोरी गाउँकै सरकारी विद्यालयमा पढ्छन्। सबैले भन्छन,'निजी विद्यालयमा हाल।' तर म उनीहरूलाई पहिले राम्रो मानिस बन्न सिकाउन चाहन्छु। ठूलो विद्यालयले ठूलो पद दिन सक्छ, तर असल संस्कार त घरले दिन्छ।"
मोहनलाल केही बोलेनन्। उनी केवल सुन्दै थिए।
चन्द्रकुमारका शब्दहरू अनुभवबाट निस्किएका थिए, किताबबाट होइन।
"खेती गर्दा कहिलेकाहीँ वर्षभरि गरेको मेहनत असिनाले एक घण्टामै सखाप पारिदिन्छ। तर किसान फेरि अर्को वर्ष बीउ छर्छ। किनभने आशा कहिल्यै मरिहाल्दैन।" चन्द्रकुमार  हल्का मुस्कुराए।
"मानिस पनि बीउजस्तै हो। दुःखले गाड्छ, समयले छोप्छ, संघर्षले च्याप्छ। तर धैर्य भए फेरि उम्रिन्छ।"
रत्नपार्क बाहिर आन्दोलनकारीहरूको आवाज गुञ्जिरहेको थियो।
चन्द्रकुमारले रत्नपार्कको सडक तिर  हेर्दै भने,
"त्यो बेला हामी लोकतन्त्रका लागि सडकमा थियौँ। हामीले सोचेका थियौँ—व्यवस्था फेरिएपछि सबैको जीवन फेरिन्छ। तर पछि बुझियो, कुर्सी बदल्नुभन्दा गाह्रो कुरा त सोच बदल्नु रहेछ।"
मोहनलालले पहिलोपटक एउटा प्रश्न सोधे,
"त्यसो भए तिमीलाई अहिले के कुराको गर्व छ?"
चन्द्रकुमार मुस्कुराए।
"मेरो घरमा धनको दराज छैन। तर राति सुत्दा कसैको श्राप मेरो सिरानीमुनि आउँदैन। कसैको खेत मिचेको छैन। कसैको पसिना लुटेको छैन। मेरा छोराछोरीलाई म यही सम्पत्ति छोड्दै छु।"
उनले आकाशतिर हेरे।
"बादलले आफ्नो लागि वर्षा गर्दैन। नदीले आफ्नो लागि बग्दैन। रूखले आफ्नै फल खाँदैन। प्रकृतिले अरूका लागि बाँच्न सिकाउँछ। तर मानिसले अरूको हिस्सा खोसेर आफूलाई सफल ठान्न थालेको छ।"
मोहनलालका आँखा रसाए।
उनले महसुस गरे,आज उनी कुनै साथीसँग भेटेका थिएनन्; एउटा जीवन-दर्शनसँग भेटेका थिए।
चन्द्रकुमार उठे।
"अब म गाउँ फर्कन्छु। खेतले मलाई बोलाइरहेको छ।"
मोहनलालले उनको हात समात्दै बिस्तारै भने,
"आज तिमीले मलाई बीस वर्षअघि छुटेको पढाइ पूरा गराइदियौ।"
चन्द्रकुमार मुस्कुराए।
"जीवनले सिकाएको पाठको परीक्षा हुँदैन, मोहनलाल। त्यसको नतिजा मानिसको चरित्रमा देखिन्छ।" चन्द्रकुमार बिस्तारै पार्कबाट बाहिरिए।
मोहनलाल त्यही बेञ्चमा बसिरहे।
साँझको उज्यालो मधुरो हुँदै गयो। आन्दोलनका पुराना नाराहरू सम्झनामा फेरि गुञ्जिए। तर ती सबै आवाजभन्दा माथि एउटा वाक्य उनको मनमा अमिट अक्षरझैँ बस्यो! "गरिब हुनु दुर्भाग्य होइन, इमान गुमाउनु दुर्भाग्य हो। धनले घर बनाउन सक्छ, तर चरित्रले मात्र समाज बनाउँछ।"

प्रतिकृया दिनुहोस