सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ

बनेपा । काभ्रेपलाञ्चोक प्रहरीले सार्वजनिक बसमा यात्रुको पाकेटमारी गर्ने चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना यसअघि कारागारबाट फरार रहेका कैदीसमेत रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन ६ गते बिहान करिब ९ः४० बजे बनेपा नगरपालिका–८ चाँदनीचोक नजिक पनौतीबाट काठमाडौं जाँदै गरेको सार्वजनिक बसमा सवार ७४ वर्षीय तीर्थबहादुर तामाङको ज्याकेटको खल्तीबाट नगद २६ हजार चोरी भएको थियो।

घटनापछि प्रहरीले अनुसन्धानका क्रममा सोही दिन अपराह्न करिब ३ः३० बजे बनेपा–८ तिनदोबाटोबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा चढ्न लागेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो। उनीहरूमाथि चोरी तथा डाँका मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बेथानचोक-६ का ३० बर्षिय बोनोद आले मगर, सोही स्थानका ३१ बर्षीय  रिक्सन तामाङ भन्ने स्याम तामाङ, जेनजी आन्दोलनका क्रममा कारगारबाट फरार रहेका ३० बर्षीय  सोनाम लामा र मकवानपुर जिल्ला फापरबारी गाउँपालिका-७ का ३५ बर्षीय बालकृष्ण मगर रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू यसअघि पनि पाकेटमारी तथा अन्य आपराधिक घटनामा संलग्न रहेको खुलेको छ। साथै उनीहरूले यसअघि साउन ३० गते नमोबुद्ध नगरपालिका–४ का एक व्यक्तिको पाकेटबाट नगद २० हजार चोरी गरेको आरोपसमेत रहेको प्रहरीले जनाएको छ।

त्यसरी नै पकक्राउ परेका व्यक्तिहरू बिरुद्ध अभद्र व्यवहार, लागूऔषध तथा चोरीसम्बन्धी गरी विभिन्न मुद्दा दर्ता रहेको प्रहरीको विवरणमा उल्लेख छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस