अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
अस्ट्रेलियामा पानीभन्दा बियर सस्तो पर्दाेरहेछ। नेपालीहरुले त्यस्तो उखरमाउलो गर्मीमा चिसो र सस्तो बियरको साटो पानी मागेको विषय अस्ट्रेलियालीहरुका लागि आश्वर्यको विषय बनेछ।
८० वर्षअघि अष्ट्रेलियामा पहिलो पाइला हाल्ने नेपालीहरुलाई अर्कै ग्रहको प्राणीजस्तो व्यवहार गरिएको थियो । कस्तो थियो त त्यो बेला अष्ट्रेलिया ?
............
अष्ट्रलियामा पहिलो पाइला हाल्ने नेपाली टोलीबारे मैले चार वर्षअघि एउटा लामो स्टोरी लेखेको थिएँ। राहदानी विभागको संग्रहालयमा रहेको एउटा पुरानो पासपोर्टलाई आधार बनाएर मैले त्यो स्टोरी तयार पारेको थिएँ।
त्यो राहदानी पहिलो पाइला हाल्ने टोलीका सदस्य स्व. तारामान सिंह स्वारका परिवारले राहदानी विभागको संग्रहालयलाई २६ मंसिर २०७९ मा अष्ट्रेलियामा उपलब्ध गराएको थियो।
२६० नम्बरको त्यो राहदानी (पासपोर्ट) शिक्षाविद स्व् तारामान सिंह स्वारको थियो। उनी २०१६ को आम निर्वाचनमा सुदूरपश्चिम क्षेत्रको चुनाव कमिस्नर एवं चिनियाँ प्रधानमन्त्री चाउ एनलाइको पहिलो नेपाल भ्रमण (२०१३) तयारी समितिका सदस्य सचिव पनि थिए।
पूर्वपरराष्ट्रसचिव डा. मदन भट्टराईको रोहवरमा स्व. तारामान सिंह स्वारक छोरी ईश्वरी स्वार, बुहारी सुशीला स्वार र नाति सुब्रत स्वारले विभागका तत्कालिन महानिर्देशक सुरेन्द्र यादवलाई सो राहदानी हस्तान्तरण गरेका थिए। अस्ट्रेलिया र न्युजिल्यान्डको भिसा लागेको पहिलो नेपाली पासपोर्ट नै यही हो।
शताब्दी पुरुष स्व. सत्यमोहन जोशीले आफू न्युजिल्याण्ड पुग्ने पहिलो नेपाली भएको दावी गर्नुभएको थियो। तर जोशी न्युजिल्याण्ड पुग्नुअघि नै स्वारको पासपोर्टमा न्यूजिल्याण्डको भिषा लागिसकेको तथ्य उद्घाटन गरेपछि शताब्दी पुरुष स्व. जोशीको दावी स्वतः खण्डित हुन पुगेको थियो।
अस्ट्रेलियामा पहिलो नेपाली पाइला हाल्ने नेपाली टोलीको नेतृत्व मेजर जनरल मृगेन्द्र शमशेरले गरेका थिए। उनी अन्तिम राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेरका भतिजा (बबर शमशेरका छोरा) थिए। उनी तत्कालीन ‘पब्लिक इन्स्ट्रक्सन’ को ‘डाइरेक्टर जनरल’ थिए।
उनको टोलीमा शाम्बदेव पाण्डे र तारामान स्वार सदस्य थिए। अस्ट्रेलियाको ल्याप्स्टनमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको इकोनोमिक एन्ड सोसल कमिसन फर एसिया प्यासिफिक’ (इक्याफे) को दोस्रो अधिवेशनका लागि राणाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ गएको थियो। टोली नेता मेजर जनरल राणा तत्कालीन ‘पब्लिक इन्स्ट्रक्सन’ को ‘डाइरेक्टर जनरल’ थिए।
राणा नेतृत्वको नेपाली टोली कलकत्ता–थाइल्यान्ड–सिंगापुर–बाली (इन्डोनेसिया) हुँदै अस्ट्रेलिया पुगेको थियो।
स्वारको राहदानीमा अंकित भिसाले के देखाउँछ भने यो टोली १० मंसिर २००५ (२५ नोभेम्बर १९४८) मा अस्ट्रेलियाको सिड्नी पुगेको थियो। सिड्नीअघि उनीहरु चढेको जहाज डार्बिन (अस्ट्रेलिया) मा अवतरण भएको थियो।
सम्मेलनस्थल चाहिँ सिड्नीबाट ६२ किमी पर ल्याप्स्टन सहरमा थियो। ल्याप्स्टनमा उनीहरुको बसोबास ब्लु माउन्टेन इलाकाको रिज होटलमा थियो।
रिज होटलमा उनीहरु निकै ढिलो पुगेका थिए। समय गुज्रेकाले उनीहरु त्यसरात भोकै सुते। भोलिपल्ट बिहानसम्म उनीहरु भोकले आकुलव्याकुल भइसकेका थिए।
तर, पहिलो पटक नेपालीहरुलाई देखेका होटलका वेटरहरुले छुट्टै ग्रहबाट आएका प्राणीजस्तो व्यवहार गरे।
होटल पुग्न ढिलो भएका कारण राति खानै नखाई सुतेका उनीहरु भोकले आकुलव्याकुल थिए। उठ्नासाथ बिहानै उनीहरुले होटलका वेटरहरुलाई खाना ल्याइदिन आग्रह गरे।
तर, नेपाली टोलीले ‘अर्डर’ गरेको खाना वेटरले निकै ढिलो गरी ल्यायो।
स्वाँरले आफ्नो संस्मरणात्मक पुस्तक ‘केही शैक्षिक संस्मरण’ मा त्यो घटनाको चर्चा गर्दै लेखेका छन्, ‘हामी भोकले चुर थियौँ, खाना ल्याउन ढिलो हुँदा भित्रभित्रै रिसाइरहेका थियौँ, अरुले खाएको देख्दा मुखभरि थुक आउँथ्यो। घुटुघुटु थुक निलिरहेका थियौँ, अरुहरु मजासँग स्वाद लिई लिई खाइरहेका थिए। त्यसबेला हाम्रो बिजोग कसले हेरिदेओस्.......’
वरिपरि ओहोरदोहोर गरिरहेका वेटर नेपालीहरुलाई क्वारक्वार्ती हेर्थे, जान्थे। खाना ल्याउने छाँटकाँट देखाउँदैनथे।
खाना खाइसकेपछि मात्र आफूहरुका लागि खाना ल्याउन वेटरहरुले किन ढिलो गरेका रहेछन् भन्ने कुरा उनीहरुले थाहा पाए।
खासमा उनीहरुले लगाएको पोशाक (दौरा सुरुवाल) का कारण वेटरहरुले अर्कै ग्रहका प्राणी ठानेर खाना ल्याउन आनाकानी गरेका रहेछन्।
कहिल्यै नदेखेको अनौठो पोशाक लगाएका मानिसलाई खाना खान दिने कि नदिने भन्ने दोधारमा वेटरहरु परेका रहेछन्।
त्यसपछि उनीहरु मालिककहाँ गएर सोधेछन्, ‘कमिजको फेरो बाहिर निकालेर केही व्यक्तिहरु डाइनिङ टेबलमा बसेका छन्, उनीहरुलाई खाना दिऊँ कि नदिउँ !.’
‘होटल मालिकले हामीले लगाएको लुगा कमिज होइन, नेपाली दौरा हो र यो नेपालको राष्ट्रिय पोसाक हो भनी सौभाग्यवस बुझेछन् र खाना दिनु भनेका रहेछन्,’ स्वारले लेखेका छन्, ‘हाम्रो खाना आउन ढिला हुनुको कारण यही पो रहेछ।’
सम्मेलन सकियो, सबै मुलुकका प्रतिनिधि अस्ट्रेलियाको राजधानी क्यानबेरा प्रस्थान गरे। दिउँसोको खाना खान उनीहरु एक रेस्टुरेन्टमा रोकिए।
अस्ट्रेलियामा उखरमाउलो गर्मी थियो, नोभेम्बर महिना भएपनि। उनीहरु तिर्खाले आकुलब्याकुल थिए। रेस्टुरेन्ट पुग्नासाथ अरुले वियर खाए, उनीहरुले पानी मागे।
तर, यहाँपनि पानी ढिलो आइपुग्यो। यसको कारण उनीहरुले क्यानबेरा पुगेपछिमात्र थाहा पाए।
क्यानबेरा पुग्नासाथ उनीहरुको हातमा एउटा पत्रिका पर्यो, जसमा लेखिएको थियो, ‘नेपालीहरुले त पानी पो पिउँदा रहेछन्. !’
अस्ट्रेलियामा पानीभन्दा बियर सस्तो पर्दाेरहेछ। नेपालीहरुले त्यस्तो उखरमाउलो गर्मीमा चिसो र सस्तो बियरको साटो पानी मागेको विषय अस्ट्रेलियालीहरुका लागि आश्वर्यको विषय बनेछ।
‘अस्ट्रेलियालीहरु पानी पिउँदा रहेनछन्, बियर, खनिज पानी आदि पिउँदा रहेछन्। बियर आदि पेय वस्तु त्यहाँ निकै सस्तो रहेछ भन्ने हामीले पछि मात्र थाहा पायौँ’ स्वाँरले लेखेका छन्, ‘तर, त्यहाँ स–साना घटनाहरु पनि समाचारको रुपमा निस्केको देख्दा हामीलाई पनि आश्चर्य लाग्यो।’
जनरल राणा, पाण्डे र स्वारसहितको टोलीले यस्तै–यस्तै रोचक संस्मरणहरु बोकेर अस्ट्रेलिया छाड्यो। अष्ट्रेलियाबाट उनीहरु अस्ट्रेलिया महादेश अन्तर्गतकै एउटा सानो टापु मुलुक न्युजिल्याण्ड पुगे।
अस्ट्रेलियामा नेपाली पोशाकसहित तारामानसिंह स्वाँर, मृगेन्द्र शमशेर र साम्बदेव पाण्डे । (फोटो सौजन्य : ईश्वरी स्वार)
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस