पुष्पलालको सास जानु अघि ,अन्तिम क्षण

"बीपीको निधनभन्दा ४ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको पहिलो पार्थिव शरीर देख्ने पहिलो नेपाली नेतापनि सम्भवतः गिरिजाप्रसाद कोइराला नै थिए। "

पुष्पलालको अन्तिम क्षण : सहानालाई के भन्न सके, के भन्न सकेनन्?  

...
आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवस ! 

७ साउन २०३७ मा नयाँदिल्लीस्थित गोविन्दबल्लभ मेमोरियल अस्पतालमा पुष्पलालको निधन भएको थियो। 

जसरी ६ साउन २०३९ मा जयबागेश्वरीस्थित निवासमा दाजु बीपी कोइरालाको निधनको सूचना निवास बाहिर जम्मा भएका नेता–कार्यकर्तालाई दिने पहिलो व्यक्ति बीपीका कान्छा भाई गिरिजाप्रसाद कोइराला थिए। 

बीपीको निधनभन्दा ४ वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको पहिलो पार्थिव शरीर देख्ने पहिलो नेपाली नेतापनि सम्भवतः गिरिजाप्रसाद कोइराला नै थिए। 

स्वास्थ्यअवस्था नाजुक बन्दै गएपछि पुष्पलाललाई नयाँदिल्लीस्थित गोविन्दबल्लभ मेमोरियल अस्पतालको नाजुक बन्दै गएपछि पुष्पलाललाई जनरल वार्डबाट आईसीयूमा स्थानान्तरण गरिएको थियो। 

पुष्पलालको यस्तो अवस्थाबारे जानकारी पाएपछि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला गोविन्दवल्लभ अस्पताल पुगेका थिए। त्यो बेला उनी नयाँदिल्लीमै थिए। 

पुष्पलाल स्मृति प्रतिष्ठानले २०५२ मा प्रकाशित गरेको ‘पुष्पलाल स्मृति अंक’ शीर्षकको पुस्तकमा कोइरालाले भनेका छन्, ‘सन् १९७८ जुलाईमा दिल्ली पुग्दा हामीले थाहा पायौँ– पुष्पलाल निकै अस्वस्थ हुनुभएको छ, हामी उहाँलाई हेर्न गयौँ। त्यो क्षण हामी सबैका लागि अत्यन्त वेदनापूर्ण र मार्मिक थियो।’  

पुष्पलालकी जीवनसंगिनी सहाना प्रधानआईसीयू कक्षबाहिर थिइन्। 

पुष्पलालको अन्तिम अवस्था आइसक्यो भन्ने जानकारी डाक्टरहरुले सहानालाई दिएका थिएनन्। 

कोइरालाले पुष्पलाललाई हेरेर फर्केका कोइराला सहानासँग बोल्नपनि सकेनन्। कोइरालाका आँखाभरि आँसु थिए। 

अश्रुमिश्रित आँखाका साथ उनले सहानालाई हेरेमात्र, बोल्दै नबोली त्यहाँबाट निस्किए। 

सायद पुष्पलालको निधन भइसकेको थियो, कोइरालाले त्यो कुरा सहानालाई भन्न सकेनन्। 

सहानाले आफ्नो आत्मकथा ‘स्मृतिका आँखीझ्यालबाट’ मा सहानाले भनेकी छन्, ‘गिरिजाप्रसादले मलाई बाहिर यसो हेरेर जानुभयो, उहाँहरु जानेबित्तिकै म र भाञ्जा भित्र पस्यौँ, उहाँको मुख छोपिसकेको रहेछ, डाक्टरले हामीलाई ‘हि इज् नो मोर’ भने।   

पुष्पलाल भारत प्रवासमै रहेका बेला २०२९ मा पहिलो पटक हृदयाघात भएको थियो। त्यसको ६ वर्षपछि उनलाई दोस्रो पटक २०३५ जेठमा हृदयाघात भयो। त्यही हृदयघातले उनको जीवन पनि हरण गरेर लग्यो।  

सहाना विद्यावारिधिका लागि २०३५ वैशाख–जेठताका नयाँदिल्लीमा थिइन्। अक्सर बनारस–दरभंगामा निर्वासित जीवन बिताइरहेका पुष्पलाल सहाना नयाँदिल्लीमा भएकाले त्यहाँ पुगेका थिए। 

नयाँदिल्ली जानुअघि पुष्पलाललाई सास फेर्दा अस्वाभाविक रुपमा स्वाँ–स्वाँ हुन थालिसकेको थियो।  

त्यो बेला उनी राम्रोसँग हिँड्न पनि सक्दैनथे।  खुट्टा खोच्याउँदै हिँड्थे। स्वास्थ्यअवस्था यस्तो प्रतिकूल भएपनि पार्टी काममा भने निकै सक्रिय थिए।    

त्यसैक्रममा पुष्पलाल नेतृत्वको नेकपाले २०३५ जेठमा दरभङ्गामा प्रशिक्षण कार्यक्रम आयोजना गर्यो। 

स्वास्थ्य अवस्था राम्रो नभएकाले सहानाले दरभङ्गा नजान भनिन्। 

तर, पुष्पलालले मानेनन्। प्रशिक्षणका लागि उनी दरभङ्गा प्रस्थान गरे। 

प्रशिक्षण कार्यक्रम सम्पन्न नहुँदै पुष्पलाललाई दोस्रो पटक हृदयाघात भयो। उनलाई दरभङ्गाको स्थानीय अस्पतालमा भर्ना गरियो। 

त्यहाँ उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि नयाँदिल्ली पुर्याइयो। नयाँदिल्ली पुर्याउने जिम्मा ज्ञवालीले पाए।

सुरुमा पुष्पलाललाई नयाँदिल्लीस्थित राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ धेरै दिन राखिएन, ३–४ दिनपछि गोविन्दवल्लभ अस्पतालमा स्थानान्तरण गरियो।

त्यहाँ उहाँको करिब एक महिना उपचार भयो। तर, उपचार सफल हुन सकेन। त्यहीँ पुष्पलालको  असामयिक निधन हुन पुग्यो।

२०३५ असारको अन्तिम सातातिर पुग्दा पुष्पलालको अवस्था नाजुक हुन थालिसकेको थियो। खराब स्वास्थ्य अवस्थाका कारण राम्रोसँग खाना खान छाडेका थिए। 

२०३५ साउन पहिलो हप्ताकै सुरुवातदेखि पुष्पलालको स्वास्थ्यस्थिति थप गम्भीर भयो, उनलाई आईसीयूमा स्थानान्तरण गरियो। स्थिति गम्भीर हुँदै गएकाले अक्सिजन लगाइएको थियो। 

आईसीयूमा स्थानान्तरण गरिएपछि जनरल वार्डमा जस्तो सहाना पुष्पलालको छेउमा बस्न पाउन्नथिन्। मौका मिलेका बेला यसो भित्र पसेर पुष्पलाललाई हेर्थिन्। 

आईसीयूमा पस्दा नर्सहरुले गाली गर्ने भएकाले शहाना झ्यालबाट पुष्पलालको अवस्था चियाउँथिन्। 

सहानाले आफ्नो आत्मकथामा भनेकी छन्,  ‘पुष्पलालजीलाई अक्सिजन लगाएको थियो, उहाँ ‘हँ....हँ....’ गरिरहनु भएको थियो, उहाँको श्वास बढेको थियो र अनुहार पनि फुङ्ग उडेको थियो।’ 

यो ७ साउन २०३५ को दिनको कुरा थियो। सहानाले आईसीयूमा पुष्पलालको यस्तो अवस्था विहानको ७–८ बजे देखेकी थिइन्।  

पुष्पलालको यस्तो अवस्था देखेपछि सहानाले आईसीयूभित्र जान जोड गरिन्। सहाना भित्र पुग्दा पुष्पलाललाई बोल्न कठिन भइसकेको थियो।  

सहानालाई आफूतिर आउँदै गरेको देखेपछि पुष्पलालले अक्सिजनको मास्क खोले। ‘स्वाँ..स्वाँ..’ बढिरहेको थियो, उनी बोल्न सकिरहेका थिएनन्। 

तैपनि सकिनसकी उनले सहानालाई भने, ‘सहाना, ति...मी...लाई मैले दुःख.....मात्र....दिएँ, तिम्रो.....निमित्त केही....गर्न....सकिनँ....अब....अगाडिका...कामहरु...पक्कै पनि...तिमीले गर्छ्यौ होला।’

सहानाका भनाईमा, पुष्पलालको स्वास धेरै बढेको देखेपछि उनले हतार–अक्सिजन मास्क लगाइदिइन्। उनलाई साह्रै नमिठो लाग्यो। रुन मन लाग्यो। उनी कोठामा बस्नै सकिनन्, बाहिर निस्किइन्।  

बिहान १० बजे सहाना दोस्रो पटक आईसीयू कक्षमा प्रवेश गरिन्। यसपटक पनि पुष्पलाल केही भन्ने प्रयास गरिरहेका थिए। 

त्यसका लागि उनले अक्सिजनको मास्क खोल्न खोजे। तर, सहानाले खोल्न दिइनन्। 

‘तर, कसोकसो पुष्पपालले मास्क खोले भने– ‘सहाना....अब.... गर्नु...है ...! ’ 

पुष्पलालले के भन्न खोजेका थिए भन्ने कुराको अनुमान गर्दै सहानाले भनेकी छन्, ‘सायद ‘पार्टीको काम गर्नु है!’ भन्न खोज्नुभएको थियो, तर पुरा वाक्य भन्न पाउनु भएन।’ 

त्यसको केही समयपछि गिरिजाप्रसाद कोइराला पुष्पलाललाई भेट्न आइसियु पुगेका थिए। कोइरालाले भेट्दा भने सम्भवतः पुष्पलालको स्वर्गारोहण भइसकेको थियो। 

त्यसैले, अश्रुमिश्रित नयनका साथ कोइराला बाहिर निस्के र चुपचाप अगाडि बढे। त्यो भावुक क्षण ‘पुष्पलाल अब जीवित हुनुहुन्न’ भन्न जोकोहीलाई कठिन थियो।

प्रतिकृया दिनुहोस