पुष्पलालको ४८ स्मृति दिवस जमनाको नायक

जसले चना खाएर भोक टार्यो तर आफ्नो विश्वास डगमगाउन दिएन | सायद उ आफ्नो दाइको शहादतलाई स्मरण गर्दै भन्थ्यो, 'दाइ, यति जावो दुःखले मेरो रौं पनि झर्दैन | धन्दा न मान्नो'स तपाईको शहादत खेर जान दिने छैनौं |'

जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सुसंवद्ध विचार प्रणालीमा संगठित गर्यो, मरते दम तक लड्यो | नेताको करिश्मामा होइन सामाजिक बिकासको वास्तविकता सुहाउँदो नीतिको जीवन भर वकालत गर्यो - यसैको निम्ति जसले भनि रहन्थ्यो 'नेता होइन नीति प्रधान |' कुरो प्रष्ट थियो, संगठन बाबुसाहेवको अघिपछि हिड्ने लावालस्कर होइन | त्यो तुष्टीकरणले बन्ने पनि होइन त्यो त सामाजिक मिशन प्रतिको निष्ठाले बन्ने हो | त्यसो भए मात्रै त्यो दिगो र प्रभावकारी हुन्छ | उसको काल्पनिकी बेजोड थियो | उ दुर क्षितिज निहाल्थ्यो | उ आफ्नो क्यानभासमा भए भरका सामाजिक रंग पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थ्यो जहाँ दुर्बलहरू शिर ठाडो पारुन, सबै रंगहरु हासुन र संगतिमा हातेमालो गरुन | उ समाजलाई कसैको रैती मान्दैनथ्यो न त समाजलाई कागती निचोरे झैं निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गर्थ्यो |

 उ भन्थ्यो, 'हाम्रो घरको भद्रगोल हामीले मिलाउने हो, त्यो क्षमता हामी राख्छौं पनि | तिमि आफ्नै घर हेर | हामीलाई तिमि साथी भए पुग्छ, बाबु साहेब पल्टिनु पर्दैन |' स्वाभिमानको मूल्य उसलाई थाहा थियो | मित्रताको हैशियत पनि राख्दथ्यो |

भोग र विलासमा उसको रुंची छदै थिएन | उ अभावको पाशविकतालाई बुझ्दथ्यो र सामाजिक तहमा त्यसको उन्मुलनको निम्ति मरिहत्ते गरेर लागेको थियो | आफैलाई भने त्यसले कुनै दाल गलाउन सकेन | जसले चना खाएर भोक टार्यो तर आफ्नो विश्वास डगमगाउन दिएन | सायद उ आफ्नो दाइको शहादतलाई स्मरण गर्दै भन्थ्यो, 'दाइ, यति जावो दुःखले मेरो रौं पनि झर्दैन | धन्दा न मान्नो'स तपाईको शहादत खेर जान दिने छैनौं |' 

उसलाई प्रतिपक्ष समेत पनि बडो आदर भावले हेर्दथे, उसको निष्ठा र समर्पण देखेर पानी पानी हुन्थे | हकिकत ! आफ्नै शिष्यले भने उसलाई अभरमा घचेटे |  उ बेला शक्तिको रंगशालामा अर्कै खेल 'थ्यो | टप्पर-टुईया र उपबुज्रुक भन्थे उ प्राज्ञै छैन, कायर र कपटीहरु लान्छित गर्थे उसको गन्तव्य बत्तीमा होमिने पुतली हो | तिनले उनको खेदो गर्न कहिल्यै छोडेनन् | दक्षिणपन्थिले उनका उपर गरेको विरोध त बुझ्न सकिन्थ्यो, आफै भित्रका वामपन्थिहरु पनि उनले सोझ्याको रथको दिशा बदल्न के सम्म गरेनन् ?! तिनैले यस्तो पनि भन्न भ्याए  उ विधर्मी हो, विधर्मीको पुच्छर हो | यो बिनासित्ति थिएन, दक्षिणपन्थिहरुसंगको मिलेमतोमा क्रान्तिकारी आभुषणमा सजिएर गरिएको कुकर्म - यो पनि त हकिकत हो ! इतिहासको न्यायको इजलासमा अर्कै इन्साफ हुनु थियो, उ अद्वितीय जागृत थियो, एक कुशल रणनितीज्ञ थियो | उ आफै जलेर गयो तर हुँदा हुँदा उसैले प्रदीप्त गरेको मार्गमा अरु त अरु अन्ततः उनका आलोचक र विपक्षी समेत घिस्रिन पुगे, सिंगो मुलुक होमियो पनि | उसैले हो हामीकहाँ अघि सारेको नारा -  'राष्ट्रीयता, जनवाद र जनजीविका' | उ नै थियो 'संयुक्त जन आन्दोलन'को शिल्पकार | हाम्रो आन्दोलनको आकाश गंगाको अटल नक्षत्र | 
यस्तो थियो उ जमानाको नायक |

प्रतिकृया दिनुहोस