काङ्ग्रेस काभ्रेको नयाँ क्रियाशील सदस्य वितरण अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

काभ्रे । नेपाली कांग्रेसले देशभर नयाँ क्रियाशील सदस्य वितरण तथा अध्यावधिक अभियानलाई तीव्र बनाएको छ। सोही अभियानअन्तर्गत बिहीबार नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले नयाँ क्रियाशील सदस्य वितरण अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला सभापति तिर्थ लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पाँच जिल्लाका केन्द्रीय प्रतिनिधि प्रतिमा गौतमले नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले अत्यधिक लचकता अपनाएपनि पुराना नेताहरू पार्टीमा एक ढिक्का हुन नचाएको बताए । 

विगतमा भ्रातृ संगठनहरूमा देखिएको ‘टिके प्रथा’ले संगठनलाई असर गरेको बताइन्। उनले नेपाल विद्यार्थी संघलाई प्लस टु तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै नयाँ पुस्तालाई पार्टीसँग जोड्ने अभियान प्रभावकारी बनाउन आग्रह गरिन्।

 

केन्द्रीय सदस्य तथा काभ्रेका लागि केन्द्रीय प्रतिनिधि शिव सुनारले बढीभन्दा बढी युवाहरूलाई क्रियाशील सदस्यमा आबद्ध गराउनुपर्ने बताए। कांग्रेसको नीतिअनुसार प्रत्येक इकाइबाट कम्तीमा २० जना नयाँ युवालाई क्रियाशील सदस्य बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले पार्टीलाई अझ समावेशी बनाउँदै लैजानुपर्नेमा जोड दिए। हालसम्म देशभर ६ लाख ८० हजारभन्दा बढी क्रियाशील सदस्यको अध्यावधिक सम्पन्न भइसकेको र १० लाख क्रियाशील सदस्य पुर्‍याउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको जानकारी दिए। प्रविधिमैत्री संगठन निर्माणका लागि पनि सदस्यता अध्यावधिकलाई डिजिटल प्रणालीसँग जोडिएको उनले बताए।

 

जिल्ला सभापति तिर्थ लामाले काभ्रेमा हालसम्म १४ हजारभन्दा बढी क्रियाशील सदस्यको अध्यावधिक सम्पन्न भइसकेको जानकारी दिँदै अभियानलाई वडा तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिए। उनले अभियानलाई तदारुकताका साथ अघि बढाउन पालिका, क्षेत्र र वडा नेतृत्वलाई सक्रिय गराउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

 

नेपाल महिला संघकी केन्द्रीय प्रतिनिधि विनिता अधिकारीले क्रियाशील सदस्यता अध्यावधिक अभियानमा महिलाको भूमिका महत्वपूर्ण रहने बताइन्। नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि प्रेम शाहीले युवाको सक्रिय सहभागिताले संगठन थप सशक्त बन्ने धारणा राखे।

 

दलिततर्फका केन्द्रीय प्रतिनिधि जीवन मग्रातीले पार्टी विस्तारमा दलित समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नयाँ सदस्यता अभियानमा दलित समुदायलाई प्राथमिकताका साथ सहभागी गराउनुपर्ने बताए।

 

नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर १ का सभापति दिनेश लामाले आफ्नो क्षेत्रमा हालसम्म ६ हजार ४६१ जनाको क्रियाशील सदस्यता अध्यावधिक भइसकेको र थप करिब ६ सय नयाँ सदस्य थपिएको जानकारी दिए। उनले क्षेत्रीय भेला आयोजना गर्दै अभियानलाई थप प्रभावकारी बनाइने बताए।

 

जिल्लाका अग्रज नेता अच्युतप्रसाद पौडेलले काभ्रेमा ६० प्रतिशतभन्दा बढी क्रियाशील सदस्यता अध्यावधिक भइसकेको जानकारी दिँदै पार्टीभित्र केही व्यक्तिले सिर्जना गरेका भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे। उनले विशेषगरी ३५ वर्षमुनिका युवाहरूलाई बढीभन्दा बढी नयाँ क्रियाशील सदस्यका रूपमा आबद्ध गराउन नेतृत्वलाई सक्रिय हुन आह्वान गरे।

 

कार्यक्रममा अभियानलाई सफल बनाउन पालिका, क्षेत्र, वडा तथा जनवर्गीय संगठनबीच प्रभावकारी समन्वय गर्दै संगठन विस्तारलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिकृया दिनुहोस