“पदका लागि होइन, परिवर्तनका लागि उम्मेदवारी”

मेरो प्रतिस्पर्धा बेतिथि, गरिबी, बेरोजगारी, कमजोर शिक्षा प्रणाली, स्वास्थ्य सेवाको अभाव र भाषण गर्ने तर काम नगर्ने पुरानो राजनीतिक संस्कारसँग हो।'

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट उज्यालो नेपाल  पार्टीका तर्फबाट पदम गोले तामाङ  उम्मेदवार बनेका छन्। 
दक्षिण ललितपुरको ग्रामिण भेगमा पर्ने महाङ्काल गाउँपालिका –६ ठुलादुर्लुङमा बि.सं. २०४१ सालमा जन्मेका पदम निम्न वर्गीय परिवारमा हुर्किएका हुन्। उनी शिक्षित, प्रविधि–मैत्री र समाजप्रति जिम्मेवार व्यक्तित्व  समेत हुन्। 
पेशाले उनी एक कुशल व्यवसायी हुन् । आउँदो निर्वाचनमा उनी उज्यालो नेपाल पार्टीबाट ललितपुर क्षेत्र नं. १ मा प्रत्यक्ष उम्मेदवारको रुपमा उठेका छन् । लामो समयदेखि समाज सेवामा सक्रिय रहँदै आउनुभएका पदमले जनताको विश्वास र साथले मात्र मुलुकलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ । उहाँले जनताको विश्वासलाई कहिल्यै धोका नदिने प्रतिबद्धता दोहोर्याउनुभयो।
आगामी निर्वाचनमार्फत ललितपुर-१ को समग्र विकास र देशको समृद्धिमा योगदान पु¥याउने लक्ष्यसहित उम्मेदवार पदम जनताको घरदैलोमा पुगेर आफ्नो एजेन्डा प्रस्तुत गरिरहनुभएको छ । 
उम्मेदवार पदम युवाहरु माझ कुनै नाैलो नाम होइन । त्रिभुवन विश्वविद्यालयबाट बी.सी.ए. (ब्याचलर अफ कम्प्युटर एप्लिकेशन) अध्ययन गरेका उहाँ व्यवसाय क्षेत्रमा सक्रिय रहँदै स्थानीय समस्या समाधान र विकासमा चासो राख्दै आउनुभएको छ। आफ्नै भूगोल र समाजलाई बुझेको नेतृत्वमार्फत इमानदार र व्यवहारिक परिवर्तन ल्याउने उहाँको प्रतिबद्धता रहेको छ। प्रस्तुत छ ईपाना नेपालका लागि कार्यकारी सम्पादक राजकुमार गोले तामाङले उम्मेदवार पदमसँग गरिएको कुराकानीको अंशःतपाईंको उम्मेदवारी नै किन ?
मेरो उम्मेदवारी पदका लागि होइन, ललितपुर क्षेत्र नं. १ का वास्तविक समस्या समाधानका लागि हो। यो क्षेत्र विशेषतः शिक्षा, स्वास्थ्य र रोजगारीका हिसाबले अझै पछाडि छ। वर्षौंदेखि विकासका नाममा भाषण भए, तर काम भएन। अब भूगोल बुझेको, यही माटोमा हुर्केको मान्छेले नै नेतृत्व गर्नुपर्छ भन्ने विश्वासका साथ म उम्मेदवारीमा आएको हुँ।
व्यवसायी मान्छे किन एक्कासि राजनीतिमा आउनुभएको हो ?
आज राजनीति बोल्ने तर काम नगर्ने पेशा जस्तो देखिन थालेको छ। म जनताको आवाज संसदमा पुर्‍याउन, विकासलाई कागजबाट जमिनमा उतार्न र जवाफदेही नेतृत्व दिन राजनीतिमा आएको हुँ। राजनीति बदल्न नयाँ विकासवादी सोच र इमानदारी आवश्यक छ।यहाँ तपाईंको प्रतिस्पर्धा कोसँग हुन्छ ?
मेरो प्रतिस्पर्धा कुनै व्यक्ति वा दलसँग होइन। मेरो प्रतिस्पर्धा बेतिथि, गरिबी, बेरोजगारी, कमजोर शिक्षा प्रणाली, स्वास्थ्य सेवाको अभाव र भाषण गर्ने तर काम नगर्ने पुरानो राजनीतिक संस्कारसँग हो। त्यसैले यी सबै विरुद्ध म जनताको पक्षमा उभिएको छु।
चुनाव जितेपछि के गर्ने योजना छ ?
हामीले गर्नुपर्ने धेरै काम छन्।
शिक्षा: सरकारी विद्यालय सुधार, सीपमूलक तथा व्यवहारिक शिक्षा
स्वास्थ्य: आधारभूत उपचार गाउँमै, स्वास्थ्य केन्द्र सुदृढीकरण
रोजगारी: युवाका लागि सीपमूलक तालिम, स्थानीय रोजगारी सिर्जना
यी सबै काम स्थानीय तहसँग समन्वय गरेर छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ।
जनताले तपाईंलाई किन मतदान गर्ने ?
मलाई मतदान गर्नु भनेको वाचा होइन, काम रोज्नु हो; पहुँच होइन, योग्यता रोज्नु हो; पुरानो राजनीति होइन, नयाँ भविष्य रोज्नु हो। म चुनावपछि हराउने नेता होइन, सधैं जनतामाझ रहेर जनताका दुःख–सुख बुझ्ने प्रतिनिधि बन्न चाहन्छु।
तपाईंको जित्ने आधार के हो ?
मेरो जितको आधारः
जनताको समस्या बुझ्ने क्षमता
भूगोल बुझेको, यही माटोमा हुर्किएको अनुभव
स्पष्ट र व्यवहारिक योजना
युवाको विश्वास
परिवर्तन चाहने आम नागरिकको साथ
ललितपुर क्षेत्र नं. १ अब परिवर्तन चाहन्छ, र त्यो परिवर्तन जनताकै बलमा सम्भव छ।प्रसङ्ग बदलौं-जातीय पहिचानको विषयमा तपाईंको धारणा के छ ?
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। जातीय पहिचान हाम्रो पहिचान हो, विभाजन होइन। सबै समुदायको भाषा, संस्कृति र पहिचानको सम्मान हुनुपर्छ। तर राजनीति जातको आधारमा होइन, समान अधिकार र अवसरको आधारमा हुनुपर्छ। सबै नागरिक कानुनअगाडि बराबर छन् भन्ने मान्यतामा म दृढ छु।संघीयताको विषयमा तपाईंको धारणा के छ ?
संघीयता संविधानले तय गरेको व्यवस्था हो, जसको उद्देश्य सत्ता जनताको नजिक पुर्‍याउनु हो। समस्या संघीयतामा होइन, यसको कमजोर कार्यान्वयनमा छ। म संघीयतालाई सुधार गर्दै जिम्मेवारी स्पष्ट गर्ने, दोहोरो खर्च घटाउने र स्थानीय सरकारलाई सक्षम बनाउने पक्षमा छु।
धर्मनिरपेक्षताको विषयमा तपाईंको धारणा के छ ?
धर्मनिरपेक्षता भनेको धर्मविरोध होइन, सबै धर्मप्रति समान सम्मान हो। राज्यले कुनै एक धर्मलाई प्राथमिकता नदिई सबै नागरिकलाई आफ्ना आस्थाअनुसार बाँच्ने स्वतन्त्रता दिनुपर्छ। धर्म व्यक्तिगत आस्था हो, र राज्य सबै नागरिकको साझा संरक्षक हुनुपर्छ।अन्तिम सन्देश के दिन चाहनुहुन्छ ?
म ठूलादुर्लुङ–कपिराममा जन्मेको तामाङको छोरो हुँ। कालेश्वरको शिरबाट बग्ने लास्योङ (देउता खोला)को पानी खाएर, हेलटार–नागटारमा गोरु जोत्दै, घाँस–दाउरा गर्दै पढेर यहाँसम्म आइपुगेको हुँ। राज्यको शैक्षिक पाठ्यक्रममा कक्षा १२ सम्म पढाइने कम्प्युटर विषयको कोर्स बनाउँदा म आफैं कम्प्युटरमा की–बोर्ड चलाउने व्यक्ति हुँ।

यो चुनाव व्यक्ति होइन, भविष्य रोज्ने अवसर हो। एकपटक नयाँ सोच र इमानदार नेतृत्वलाई मौका दिनुहोस्। म तपाईंहरूको भरोसा तोड्ने छैन। चुनाव जिते पनि हारे पनि, म सधैं जनताको सेवामा समर्पित रहनेछु।

प्रतिकृया दिनुहोस