नामको अन्त्यमा तामाङ लेखौँ: पहिचान, अस्तित्व र गौरवको अभियान हो

"यति लामो ईतिहास बोकेको नेपालको सबै भन्दा पुरानो आदिवासी समुदाय तामाङ जातिको आफ्नो छुट्टै ईतिहास, भाषा, सस्कार,संस्कृति र पहिचान रहेको छ।"


नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यस विविधताभित्र तामाङ समुदायको आफ्नै विशिष्ट इतिहास छ।
डा.कमल मादेन “चोभारको गल्छीः मञ्जुश्रीको मिथकलाई विज्ञानको चुनौती” शिर्षकमा लेख्छन् “संसारभर, अन्तिम हिमयुग करिब ११ हजार ७०० वर्षअघि अन्त्य भयो । त्यसपछि संसारभर खेतीपाती तथा पशुपालन शुरु भयो । यही क्रममा उपत्यकाको उत्तरी पहाडतर्फ तिब्बततिरबाट घुम्दैफिर्दै मानिस आइपुगे । उनीहरू उपत्यकामा सुकेको कतै दलदल भएको ठाउँमा बस्न रुचाएनन् । उनीहरू अग्लै ठाउँमा बसे । शायद उनीहरू तामाङका पूर्वजहरू थिए ।
पुरातत्वविद जनकलाल शर्माले “हाम्रो समाज एक अध्ययन” नामक पुस्तकमा उल्लेख गर्नु भएको छ । ईसापुर्व ३०,०००बर्ष पहिले देखि नै मंगोलहरु काठमाडौं उपत्यकामा उत्तरतिरबाट आएर आबाद भए । हामी सब भन्दा पुराना बासिन्दा हौं भन्ने तामाङहरूको धारणालाई पनि यसले निकै पुष्टि गर्दछ । 
यति लामो ईतिहास बोकेको नेपालको सबै भन्दा पुरानो आदिवासी समुदाय तामाङ जातिको आफ्नो छुट्टै ईतिहास,
भाषा, सस्कार,संस्कृति र पहिचान रहेको छ। तर समयक्रमसँगै विभिन्न कारणहरूले मध्ये मुख्यतः राज्यको दमनको कारण तामाङ लेखे जरिवाना तिर्नुपर्ने सम्मको ज्यादतीले  तामाङहरूले अर्कै अर्कै लेख्न थाले, आफ्नो नामको अन्त्यमा तामाङ लेख्नुको सट्टा लामा,भोटे,घले,थकाली आदि लेख्ने क्रम बढ्दै गएको देखिन्छ। यसका कारण तामाङ समुदायको वास्तविक जनसंख्याको तथ्याङ्क समेत कम देखिने अवस्था सिर्जना भएको छ, जसले समुदायको पहिचान र प्रतिनिधित्वमा असर पार्न सक्छ। यही अवस्थालाई सम्बोधन गर्न नामको अन्त्यमा तामाङ लेखौ तामाङ जागरण अभियान सुरु गरिएको हो।

यस अभियानको मुख्य उद्देश्य तामाङ समुदायको स्पष्ट पहिचान स्थापित गर्नु हो। नामको अन्त्यमा तामाङ लेख्नु एउटा शब्द थप्नु मात्र होइन, यो आफ्नो इतिहास, संस्कृति र अस्तित्वप्रति गर्व व्यक्त गर्ने कार्य हो। यसले आगामी पुस्तालाई आफ्नो मूल पहिचान बुझ्न र जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ। यो अभियान जातीय राजनीति वा भेदभावका लागि नभई, सम्पूर्ण जातजातिको सम्मान गर्दै आफ्नो वास्तविक पहिचानलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने उद्देश्यले अघि बढाइएको हो। यसको लक्ष्य आफ्नो समुदायको पहिचान संरक्षण गर्दै त्यसलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु हो।आजको विश्वमा पहिचानको सवाल अत्यन्त महत्वपूर्ण बनेको छ। धेरै समुदायहरूले आफ्नो भाषा, संस्कृति र नामलाई संरक्षण गर्दै आएका छन्। तर तामाङ समुदायका केही सदस्यहरू आफ्नो थर वा पहिचान प्रयोग नगर्ने अवस्थामा पुगेका छन्, जसले दीर्घकालीन रूपमा समुदायको अस्तित्वमै असर पार्न सक्छ। त्यसैले नामको अन्त्यमा तामाङ जोड्नु पहिचान संरक्षणको पहिलो र महत्वपूर्ण पाइला हो।

सामाजिक सञ्जालबाट सुरु भएको यस अभियानले फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता माध्यममार्फत व्यापक रूप लिएको छ। विशेष गरी युवाहरूले आफ्नो प्रोफाइल नाम परिवर्तन गरी तामाङ जोड्न थालेका छन जसले अभियानलाई अझ प्रभावकारी र सशक्त बनाएको छ।हामी प्रत्येक तामाङको कर्तव्य हो आफ्नो नामको अन्त्यमा तामाङ लेखेर आफ्नो पहिचानलाई सम्मान गर्नु। यो केवल व्यक्तिगत निर्णय मात्र होइन, सामूहिक अभियान हो। जब हामी सबै एउटै स्वरमा आफ्नो पहिचान प्रस्तुत गर्छौ तब हाम्रो आवाज अझ सशक्त बन्छ।

“नामको अन्त्यमा तामाङ लेखौ अभियान” केवल नाममा  तामाङ शब्द थप्ने कुरा मात्र होइन, यो हाम्रो पहिचान, अस्तित्व र गौरवसँग जोडिएको महत्वपूर्ण अभियान हो। आफ्नो नामसँग तामाङ जोड्नु भनेको आफ्नो इतिहासलाई सम्मान गर्नु र आफ्नो संस्कृतिलाई जोगाउनु हो। यो अभियान विभाजनका लागि होइन, बरु जातीय पहिचानको संरक्षण, सम्मान र सुदृढीकरणका लागि समर्पित एक सशक्त पहल हो।आउनुहोस हामी सबै मिलेर आफ्नो नामको अन्त्यमा तामाङ लेखौ र आफ्नो पहिचानलाई गर्वका साथ स्थापित गरौ। 

[सागर नामको अन्त्यमा तामाङ लेखौ अभियानका संयोजक हुन ।]

प्रतिकृया दिनुहोस