प्रिय श्रीमानज्यू,!

आज फेरि समयको नदीकिनारमा उभिएर विगततर्फ फर्केर हेर्दा अनुभूति हुन्छ—जीवन साँच्चै अनौठो यात्राको नाम रहेछ। बाल्यकालमा आमाबुबाको औँला समातेर हिँड्न सिकेको यो मन एक दिन अकस्मात् हजुरको हातमा आएर अडियो। त्यो दिन केवल दुई व्यक्तिको भेट मात्र थिएन,दुई फरक जीवन, दुई फरक सपना र दुई फरक यात्राको पवित्र संगम थियो।मलाई आज पनि नयाँ घरको त्यो पहिलो दिन स्पष्ट सम्झना छ। आँगन उही पृथ्वीको थियो, तर पाइला अपरिचित थिए। भित्ताहरू मौन थिए, तर तिनले नयाँ जिम्मेवारीका असंख्य आवाज बोकेका थिए। एउटा छोरी भएर हुर्किएकी म, कसैकी श्रीमती, बुहारी र जीवनसाथी बन्ने नयाँ यात्रामा निस्किएकी थिएँ। मनमा अलिकति डर थियो, केही लाज र अनगिन्ती प्रश्नहरू थिए। तर ती सबै प्रश्नहरू हजुरको शान्त मुस्कानले बिस्तारै उत्तरमा रूपान्तरण गर्दै लग्यो।
जीवन केवल रमाइला दिनहरूको फूलबारी मात्र रहेनछ। यहाँ त अनगिन्ती उकाली–ओराली छन। कहिले घामले पोल्ने दोबाटाहरू आएभने कहिले वर्षाले भिजाउने साँघुरा गल्लीहरू। तर यी सबै यात्रामा मैले एउटा अमूल्य सत्य अनुभूति गरेँ,साथ बलियो भए कठिन बाटाहरू पनि सहज बन्ने रहेछन्।हाम्रो समाजले प्रायः भन्छ “नारीको भाग्य श्रीमानको हातमा हुन्छ।” तर मैले जीवनले सिकाएको अर्को सत्य देखेँ,पुरुषको सफलताको आकाशमा पनि एउटी नारीको धैर्य, समर्पण र मौन प्रार्थनाको जून टल्किरहेको हुन्छ। हजुर मेरो आकाश बन्नुभयो भने, म त्यो आकाशको क्षितिज बन्ने प्रयासमा रहेँ। हजुरले संघर्षका पहाडहरू चढ्नुभयो भने, मैले थकानलाई मायाको छहारी दिएर थाम्ने प्रयास गरेँ।
हामी साँच्चै एउटै रथका दुई पाङ्ग्रा रहेछौँ। एउटा कमजोर भयो भने यात्राले आफ्नो गति गुमाउँदो रहेछ। त्यसैले कहिले हजुरले मेरा आँसु पुछ्नुभयो, कहिले मैले हजुरको मौनता बुझ्ने प्रयास गरेँ। प्रेम केवल शब्दहरूको उच्चारण मात्र होइन रहेछ, यो त कहिलेकाहीँ नबोली बुझिने गहिरो अनुभूति रहेछ।हजुर केवल मेरो श्रीमान मात्र नभै जीवनका कठिन मोडहरूमा असल साथी, अभिभावक र मार्गदर्शक पनि बन्नुभयो। जब म कमजोर भएँ, हजुरले ढाडस दिनुभयो। जब म अन्योलमा हराएँ, हजुरले हात समातेर सही दिशा देखाउनुभयो। हजुरको साथले मलाई कहिल्यै एक्लो हुन दिएन।
इँटा र सिमेन्टले मात्र घर बन्दैन।घरलाई विश्वास, सहनशीलता र पारस्परिक सम्मानले जीवन दिन्छ। मैले बारम्बार महसुस गरेकी छु,हजुरको मौन विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। संसारले हजार प्रश्न उठाउँदा पनि हजुरको आँखामा देखिने भरोसाले मलाई फेरि उठ्न र अघि बढ्न प्रेरणा दियो।
हाम्रो सम्बन्ध ठूलो प्रदर्शनको प्रेम होइन। यो त चियाको कपसँगै बाँडिएका थकानहरूमा लुकेको प्रेम हो। हजुर ढिलो घर फर्कँदा ढोकातिर बारम्बार हेर्ने प्रतीक्षामा लुकेको प्रेम हो। बिरामी हुँदा मन आत्तिने चिन्तामा लुकेको प्रेम हो।अनि हजुरको मुस्कानसँगै आफ्नै मनभित्र स्वतः फक्रिने आनन्दमा लुकेको प्रेम हो।३०औ  वर्षको यो सहयात्रामा समयले हाम्रो कपालमा केही फुस्रो रङ थपिदिएको होला, तर हाम्रो सम्बन्धको रङ झन् गाढा हुँदै गएको छ। पहिले प्रेमको भाषा आँखाले बुझ्थ्यो, अहिले मौनताले पनि बुझ्न थालेको छ।  
कहिलेकाहीँ लाग्छ, प्रेम नदीजस्तै रहेछ—आरम्भमा चञ्चल र वेगवान, तर समयसँगै गहिरिँदै जाने। सतहमा शान्त देखिए पनि भित्र अथाह भावनाहरू बगाइरहने। हाम्रो सम्बन्ध पनि समयले परिपक्व बनाएको, अनुभवले गहिर्याएको र विश्वासले बाँधिएको पवित्र बन्धन हो।
आज हाम्रो ३०औँ वैवाहिक वर्षगाँठको यस विशेष अवसरमा मन सबैभन्दा पहिले हाम्रा अग्रजहरूप्रति श्रद्धाले नतमस्तक हुन्छ। ती अभिभावकहरू, जसले हामीलाई सहनशीलता सिकाउनुभयो। ती संस्कारहरू, जसले सम्बन्धलाई केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो भनेर बुझाउनुभयो उहाँहरूको आशीर्वाद बिना यो यात्रा यति सुन्दर बन्न सम्भव हुने थिएन।
         जीवनको साँझसम्म पनि यही साथ निरन्तर रहिरहोस्। सुखमा मात्र होइन, दुःखका दिनहरूमा पनि हाम्रो हात कहिल्यै नछुटोन्। समयले अनुहार बदलोस्, उमेरले शरीर थकाओस्, तर हाम्रो विश्वास कहिल्यै नथाकोस किनकि अन्ततः जीवन ठूलो उपलब्धिहरूको नाम होइन रहेछ। साना साना खुशीले पनि जिवनको रंग भरिदिदो रेछ। संसारका भीडभाडबीच एउटै व्यक्तिको उपस्थितिले मन शान्त हुनु नै जीवन रहेछ।
हजुर मेरो जीवनमा केवल एउटा पात्रका रूपमा आउनुभएन;  मेरो यात्राको अर्थ बन्नुभयो, संघर्षको साहस बन्नुभयो, अनि मेरा हरेक प्रार्थनाको उत्तर।
आगामी दिनहरूमा पनि यही माया, यही समझदारी र यही आत्मीयता अझ गाढा हुँदै जाओस्। हाम्रो सम्बन्ध समयको आँधीले हल्लाउन नसक्ने बरको रूखझैँ दृढ, छायादार र जीवनदायी बनिरहोस्।

वैवाहिक वर्षगाँठको अनन्त शुभकामना ।।

प्रतिकृया दिनुहोस