काभ्रे खानीखोला-५ का वडाअध्यक्ष बुद्विबहादुर:जो एसईई पास गर्न दिनभर वडामा,रातभर पुस्तकमा
जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै गर्दा पनि उनको मनको कुनामा एउटा अधुरो पीडाले भने सधैं झस्काइ रहन्थ्यो त्यो थियो बीचमै छुटेको पढाइ।
काभ्रे।डाँडापारिको विकट गाउँ साल्मेचाकलमा यतिबेला एउटा सफलताको विषयले चर्चा कमाएको छ । कारण हो— खानीखोला गाउँपालिका–५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले ४४ वर्षको उमेरमा एसईई उत्तीर्ण गरेका छन् । पढने चाहनालाई उमेरले छेक्दैन भन्ने भनाईलाई उनले व्यवहारमा उतारेका छन् । जुन सपना साकार पार्नका लागि उनमा संघर्ष, अधुरो सपना, जिम्मेवारी र कहिल्यै नहार्ने आत्मविश्वासको गहिरो कथा लुकेको छ।
२०३९ सालमा जन्मिएका बुद्धि बहादुर स्याङ्तानको बाल्यकाल सहज थिएन। सानै उमेरमा आमाको निधन भएपछि उनले अभिभावकीय माया गुमाउनुप¥यो। बुबा सेते स्याङ्तान र आमा साईली स्याङ्तानको छोराको पालनपोषण फूपू सन्सरी माया स्याङ्तानले गरिन्। तीन दिदीबहिनीका एक्ला भाइ बुद्धि बहादुर अभाव, संघर्ष र कठिन परिस्थितिबीच हुर्किए। गाउँको विकट भूगोल, कमजोर आर्थिक अवस्था र पारिवारिक पीडाले उनको बाल्यकाललाई सामान्य बन्न दिएन। तर यी सबै कठिनाइबीच पनि उनको मनमा पढेर केही बन्ने सपना भने जीवितै थियो।
तर समयले उनलाई किताब भन्दा पहिले संघर्ष थमायो । २०५७ सालतिर देश जनयुद्धको चपेटामा थियो। त्यसबेला उनी कक्षा ९ मा अध्ययनरत थिए। देशको राजनीतिक उथलपुथलले उनको जीवनको बाटो नै मोडिदियो। पढाइ बीचमै छोडेर उनी तत्कालीन माओवादी आन्दोलनमा सक्रिय भए। साल्मेचाकल गाउँ जनसरकार प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले पूर्णकालीन रूपमा जनयुद्धमा सहभागिता जनाए। युद्धकालीन जीवनले उनलाई नेतृत्व, अनुशासन, राजनीतिक चेत र व्यवहारिक ज्ञान त दियो, तर औपचारिक शिक्षा भने अधुरै रह्यो।
समयसँगै युद्ध समाप्त भयो। जनयुद्धको समयमा बुर्जुवा शिक्षाको उपमा पाए पनि व्यवहारगत रुपमा फरक वास्तविकता उनलाई महशुस भयो । यहीँ बिचमा उनीमाथि राजनीतिक जिम्मेवारीहरू थपिँदै गए। अन्ततः २०७९ सालमा उनी खानीखोला गाउँपालिका–५ को वडा अध्यक्षमा निर्वाचित भए। जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै गर्दा पनि उनको मनको कुनामा एउटा अधुरो पीडाले भने सधैं झस्काइ रहन्थ्यो त्यो थियो बीचमै छुटेको पढाइ।
त्यही अधुरो सपना फेरि ब्युँतियो, जब उनकी जेठी छोरी दिलसाले गत वर्ष एसईई उत्तीर्ण गरिन्। छोरीको सफलताले उनलाई भित्रैदेखि छोयो। उनले महसुस गरे । सपना पूरा गर्न उमेर बाधा हुँदैन। त्यसपछि सुरु भयो २५ वर्षपछि विद्यालय फर्किने साहसी निर्णय। उनले पुराना कापी–किताब खोजे, धुलोले ढाकिएको कक्षा ८ को मार्कसिट निकाले र पुनः स्थानीय जनविकास माध्यमिक विद्यालयमा भर्ना भए।
वडा अध्यक्ष फेरि विद्यार्थी बनेको खबर विद्यालयका प्रधानाध्यापक देशबहादुर वाइबाका लागि सुरुमा आश्चर्यको विषय बन्यो। तर त्यो आश्चर्य चाँडै सम्मानमा बदलियो। किनकि एउटा जिम्मेवार जनप्रतिनिधिले समाजलाई शिक्षाको महत्व व्यवहारमै देखाइरहेका थिए।
उनको दैनिकी सजिलो थिएन। दिनभर वडा कार्यालयमा जनताका समस्या सुन्ने, योजना र विकास निर्माणका काम सम्हाल्ने अनि राति घर फर्किएपछि किताब र कापीसँग बस्ने। उमेर, जिम्मेवारी र व्यस्तताबीच पनि उनले आफ्नो पढाइलाई निरन्तरता दिए। अन्ततः यस वर्षको एसईई परीक्षामा उनले २.५५ जीपीए ल्याएर सफलता हासिल गरे।
यतिखेर उनले अधुरो सपनामाथि विजय हासिल गरेका छन् । उनी चाहना हुनेहरुका लागि इच्छाशक्तिको जीवन्त उदाहरण बनेका छन् । ईपानासँगको टेलिफोन संवादमा उनले “अब जनताको सेवा गर्दै पढाइलाई निरन्तरता दिन्छु” भनेपछि उनको आत्मविश्वास अझ स्पष्ट देखिन्छ। उनको सफलताले गाउँमा मात्र होइन, समाजभर एउटा गहिरो सन्देश दिएको छ—शिक्षा हासिल गर्न कहिल्यै ढिलो हुँदैन। जीवनमा परिस्थिति जति कठिन भए पनि सपना मर्नु हुँदैन। सही समय कहिल्यै आउँदैन, समयलाई सही बनाउने साहस चाहिन्छ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस