काभ्रेको बनेपामा बनेपा फुटबल एकेडेमीले विन्टर क्याम्प सञ्चालन गर्ने

काभ्रे / बनेपा फुटबल एकेडेमीले विन्टर क्याम्प सञ्चालन गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष निरोज शाक्यले दिएको जानकारी अनुसार माउण्ट एभरेष्ट फुटबल कलव र बनेपा फुटबल क्लवको सहकार्य र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित एकेडेमीले पौष १९ गते देखि १५ दिन सम्म १६ बर्ष मुनिका लागि फुटबलको विन्टर क्याम्प सञ्चालन गर्न लागेको हो । राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्य  राखेको छ ।फुटबल खेलको माध्यमबाट बालबालिकाहरुलाई कुलत तथा कुसंगतबाट बचाउन, स्वच्छ जीवन जिउन सिकाउन साथै सामाजिक क्रियाकलापहरुमा अनुशासित तथा राष्ट्रिय खेलाडीहरू उत्पादन गर्ने लक्ष्यका साथ क्याम्प सञ्चालन गर्न लागेको अध्यक्ष शाक्यले जानकारी दिए ।

बनेपा बनेपा बहुप्राविधिक महाविद्यालयको मैदानमा हुने प्रशिक्षण विहान ७ बजेदेखि ९ बजेसम्म गरिने आयोजकले जनाइएको छ । व्यवस्थापनको लागि प्रवेश शुल्क १ हजार ५ सय राखिएको छ ।

युथ लेभलका खेलाडीहरू उत्पादन गरी अखिल नेपालका फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सबै उमेर समूहका छनोट कार्यक्रममा धेरैभन्दा धेरै खेलाडीहरू छनोट गराउने, एन्फाले गर्ने राष्ट्रिय महिला लिग २०८३ सालमा सहभागी गराउने, काभ्रे जिल्लामा महिला खेलाडीहरू उत्पादन गर्ने, जेहेन्दार, मेहनती, आर्थिक स्थिति कमजोर भएका खेलाडीहरूलाई विद्यालयहरूमा पठनपाठन गर्न छात्रवृद्धि उपलव्ध गराउन पहल गर्नुका साथै एकेडेमीमा आबद्ध खेलाडी तथा प्रशिक्षकहरूलाई रोजगारको वातावरण बनाउने लक्ष्य रहेको उपाध्यक्ष मनिष भोछिभोयाले जानकारी दिए ।

२०८० सालमा स्थापित एकेडेमीले हाल पनि साँझ ४ बजे देखि ६ बजेसम्म ६० जना बालबालिकाहरुलाई प्रशिक्षण गराउदै आएको छ । एकेडेमीबाट उत्पादित खेलाडीहरूले २०८१ सालको जिल्ला लिगमा बनेपा माउन्ट एभरेस्ट फुटबल क्लव प्रथम र बनेपा फुटबल क्लव दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । २०८० सालमा अखिल नेपाल फुटबल संघमा अन्डर १४ खेलाडी छनोटमा ३ जना खेलाडी छनोट गराउन सफल भएको थियो । २०८१ सालमा एन्फाको अन्डर १६ खेलाडी छनोटमा ४ खेलाडी केन्द्रीय छनौट सम्म पुगेका थिए । एन्फाले आयोजना गरेको राष्ट्रिय अन्डर १६ प्रतियोगिता खुमलटार फुटबल क्लवमा २ जना खेलाडी अनुबन्धित भएका थिए । एकेडेमीका खेलाडीहरू माउन्ट एभरेस्ट फुटबल क्लवमा आबद्ध रही प्रदेश लिग खेल्न सफल भएका छन् ।एकेडेमीले २०८०÷८१ सालमा बनेपा नगरपालिकाको मेयर कप खेललाई कुशलतापूर्वक व्यवस्थापन गरेको थियो ।

कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकासनारायण श्रेष्ठले क्याम्पका लागि सहयोगको प्रतिवद्धता गर्दै जिल्लाको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडीहरुलाई पनि क्याम्पमा उपस्थित गराएर प्रशिक्षार्थीको हौसल बढाउन सुझाव दिए ।

प्रतिकृया दिनुहोस