धुलिखेलमा बास्केटबल प्रशिक्षण सुरु

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा बास्केटबल प्रशिक्षण सुरु भएको छ । डि- टाउन बास्केटबल एकेडेमीको आयोजनामा शुक्रवारदेखि वार्षिक बास्केटबल प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको हो ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्यञ्जुको प्रमुख आतिथ्यतामा तथा काभ्रे बास्केटबल संघका अध्यक्ष शिव थापा मगरको अध्यक्षतामा वार्षिक बास्केटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन बएको छ ।

काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, नव–प्रतिभाको पहिचान तथा युवाहरूको शारीरिक, मानसिक र नैतिक सशक्तीकरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रम काभ्रे बास्केटबल संघको सल्लाह र सहकार्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख व्यञ्जुले धुलिखेल नगरपालिकाले बास्केटबलजस्ता खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा धुलिखेलमै व्यवस्थित बास्केटबल कोर्ट निर्माण गर्ने र खेलकुद पूर्वाधार विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने व्यञ्जुले धारणा राखे ।

उद्घाटन समारोहमा नेपाल बास्केटबल संघका उपाध्यक्ष शपवन थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, पूर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायत विभिन्न जिल्लाबाट उपस्थित बास्केटबल खेलप्रेमी, प्रशिक्षक, खेलाडी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित वक्ताहरूले बास्केटबल खेलले युवालाई अनुशासन, नेतृत्व र सकारात्मक जीवन दृष्टिकोण प्रदान गर्ने माध्यम बनेको भन्दै यस्ता प्रशिक्षण कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा काभ्रे बास्केटबल संघका अध्यक्ष शिव थापा मगरले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम नभई जीवन निर्माणको विद्यालयका रूपमा अगाडि बढाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताए। स्थानीय तह, संघ–संस्था र खेलप्रेमीहरूको साथले काभ्रेलाई बास्केटबलको महत्वपूर्ण केन्द्र बनाउने थापा मगरले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका संयोजक बैभव कुँवरका अनुसार, प्रशिक्षण सत्रहरू छिट्टै बनेपा स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सञ्चालन हुनेछन् । अनुभवी प्रशिक्षकहरूको नेतृत्वमा नियमित र व्यवस्थित प्रशिक्षण प्रदान गरिने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस