बनेपामा छैटौँ ज्ञानकुञ्ज रोड रेस हुँदै

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको व्यापारिक केन्द्र बनेपामा अवस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा छैटौँ ज्ञानकुञ्ज रोड रेस २०८३ आयोजना हुने भएको छ। विगत ६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको उक्त रोड रेस यस वर्ष बैशाख २६ गते बिहान ५:३० बजे हुने भएको हो।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप बैद्यले एसईई २०८२ मा सहभागी भएका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

उनका अनुसार “सफल जीवनका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजना गरिने प्रतियोगिताले एसईई परीक्षापछि विद्यार्थीहरूको खाली समयलाई सदुपयोग गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताअन्तर्गत छात्रतर्फ ७ किलोमिटर दौड हुने छ। यो दौड पनौती बसपार्कदेखि बनेपा चारदोबाटो हुँदै विद्यालय प्राङ्गणसम्म सञ्चालन हुनेछ। त्यसैगरी छात्रातर्फ ३ दशमलव ६ किलोमिटर दौड बनेपा तीनदोबाटोदेखि चारदोबाटो, चण्डेश्वरी हुँदै विद्यालय प्राङ्गणसम्म हुने आयोजकले जनाएको छ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपानेले ग्यानकुञ्ज शैक्षिक प्रतिष्ठानने उत्कृष्ट शिक्षासहित विभिन्न समाजिक कार्य गर्दै आएको बताए । महासंघले सकारात्मक कामको लागि सदैव सहयोग रहने उनको भनाई छ ।

छात्र र छात्रा दुवै विधाका विजेताका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ र तृतीयले १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन प्रतिव्यक्ति १०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ। नाम दर्ताको अन्तिम मिति बैशाख २४ गते रहेको छ।

आयोजकका अनुसार सहभागी सबैलाई टिसर्ट वितरण गरिनेछ भने एक लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था समेत गरिएको छ। कार्यक्रमका लागि अनुमानित खर्च ६ लाख ३० हजार रुपैयाँ रहने बताइएको छ।

सहभागी हुन इच्छुक विद्यार्थीहरूले एसईई २०८२ को प्रवेशपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइज फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस