बेलर एकेडेमीले नयाँ विद्यार्थीलाई गरे स्वागत

धुलिखेल । बनेपा नगरपालिका - ७ मा अवस्थित बेलर  इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्नुका साथै डिजिटल सिर्जनशीलता विकास गतिविधिअन्तर्गत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो ।

 कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलाञ्चोककी प्रमुख सबिता दङ्गालले विद्यार्थीहरूलाई अध्ययनप्रति एकाग्र हुन आग्रह गर्दै “पढाइलाई अर्जुनदृष्टि बनाउनु पर्छ” भन्ने सन्देश दिइन्। उनले लक्ष्यप्रति केन्द्रित भएर मेहनत गरे सफलता हासिल गर्न सकिने बताइन्।

कार्यक्रममा प्याब्सन काभ्रेपलाञ्चोकका अध्यक्ष श्याम बहादुर भुजेलले सफलता प्राप्त गर्न निरन्तर प्रयास आवश्यक पर्ने बताए। उनले “अभिभावक र शिक्षकहरूले मात्र होइन, विद्यार्थीहरूले पनि आफ्नो कर्तव्य पालना गर्नुपर्छ” भन्दै जिम्मेवारीबोधका साथ अध्ययनमा लाग्न आग्रह गरे। उनले “सपना देख्न निदाउनुपर्छ तर सपना पूरा गर्न ब्युँझिनुपर्छ” भन्ने भनाइ उद्धृत गर्दै मेहनत र अनुशासनको महत्व औँल्याए। साथै, प्रविधिको प्रयोग सकारात्मक रूपमा गर्न सुझाव दिँदै “एआईभन्दा आफ्नो प्राकृतिक दिमाग प्रयोग गर्नुपर्छ, मोबाइल चलाउनुस् तर मोबाइलले तपाईंलाई नचलाओस्” भन्ने सन्देश पनि दिए।

कार्यक्रमकै अवसरमा आयोजित डिजिटल सिर्जनशीलता विकास गतिविधि (बुद्धिमता कार्यक्रम) प्रतियोगितामा भाग लिने  विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो।

प्रतियोगितामा पुजा  राय प्रथम, निशान दाहाल दोस्रो र श्रीष्टि वाइबा तेस्रो भएका थिए । प्रथम, द्वितीय र तेस्रो हुने विद्यार्थीहरूलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

एकेडेमीले विद्यार्थीहरूको सिर्जनशीलता, प्रविधिमैत्री सोच र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रम एकेडेमीका अध्यक्ष भोला थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रधानाध्यापक इन्दु थापाले सहभागी विद्यार्थी तथा अभिभावकलाई स्वागत गरेका थिए।

कार्यक्रममा बिभिन्न सङस्थाका व्यक्तित्वहरू, बिभिन्न विद्यालयका प्रधानाध्यापकहरू लगायतको उपस्थिति रहेका थिए । 

प्रतिकृया दिनुहोस