बेलरका ६६५ विद्यार्थीलाई बिदाइ, उच्च शिक्षाका लागि नेपालमै अवसर खोज्न सुझाव

धुलिखेल। बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण गरेका ६ सय ६५ विद्यार्थीलाई एक विशेष समारोहबीच बिदाइ गरेको छ।विद्यालयले विज्ञान संकायतर्फ फिजिक्स, बायोलोजी र कम्प्युटर साइन्स तथा व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम र कम्प्युटर साइन्स विषयमा अध्ययन गराउँदै आएको जनाएको छ।

बिदाइ समारोहमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने, नियमित उपस्थित हुने विद्यार्थी तथा विद्यालयमा अनवरत रूपमा योगदान पुर्‍याउँदै आएका शिक्षकहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा व्याच टपर नम्रता तिवारी, साइन्स टपर आशिका सुवाल तथा कक्षा ११ र १२ मा शतप्रतिशत उपस्थित हुने विद्यार्थी बीरबल पोटे रहेका थिए। उनीहरूलाई नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य होमप्रसाद घिमिरे, विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापा र प्रिन्सिपल इन्दु थापालगायतले सम्मान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य घिमिरेले प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै नेपालमै अध्ययन र अवसर खोज्न आग्रह गरे। सफलता निरन्तर मेहनत, अनुशासन र लगनशीलताबाट प्राप्त हुने उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहन प्रेरित गरे।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बनेपाका अध्यक्ष महेन्द्र विष्ट, पनौती नगर अध्यक्ष रामचन्द्र देउजा, डीभाइनलाइट सेकेन्डरी बोर्डिङ इङ्लिस स्कुलका प्रिन्सिपल गोपालबहादुर कार्की तथा कक्षा १२ उत्तीर्ण विद्यार्थी रजिता श्रेष्ठ र आशिका सुवालले बेलर इन्टरनेशनल एकेडेमीले काभ्रेपलाञ्चोकको शैक्षिक विकासमा पुर्‍याएको योगदान र उच्च शिक्षाको महत्वबारे धारणा राखेका थिए।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले करिब दुई दशकअघि काभ्रेपलाञ्चोकलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ गुणस्तरीय शिक्षा प्रदान गर्न बेलर इन्टरनेशनल एकेडेमी स्थापना गरिएको स्मरण गरे।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत तथा कलात्मक प्रस्तुति प्रस्तुत गर्दै बिदाइ समारोहलाई उत्साहपूर्ण बनाएका थिए।

प्रतिकृया दिनुहोस