"माइतीघर" को विशेष च्यारिटी शो अमेरिकाको टेक्ससमा हुने

तामाङ सोसाइटी अफ टेक्सास र मोक्तान डिजिटल को सहकार्यमा आगामी आइतबार, फेब्रुअरी १५, २०२६ मा नेपाली चलचित्र माइतीघर को विशेष च्यारिटी शो आयोजना गरिने भएको हो।


इरभिङ, टेक्सास  । अमेरिकाको टेक्ससमा नेपाली चलचित्र "माइतीघर"को विशेष च्यारिटी शो आयोजना गरिने भएको छ। तामाङ सोसाइटी अफ टेक्सास (Tamang Society of Texas – TSTX) र मोक्तान डिजिटल को सहकार्यमा आगामी आइतबार, फेब्रुअरी १५, २०२६ मा नेपाली चलचित्र माइतीघर को विशेष च्यारिटी शो आयोजना गरिने भएको हो। यस कार्यक्रमबाट संकलित सम्पूर्ण रकम तामाङ समुदाय केन्द्र (Tamang Community Center) परियोजना का लागि प्रयोग गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

आयोजकका अनुसार, परदेशमा बसोबास गर्ने तामाङ तथा नेपाली समुदायको साझा आवश्यकता र दीर्घकालीन सोचलाई ध्यानमा राख्दै समुदाय केन्द्र निर्माणको अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले यो च्यारिटी शो आयोजना गरिएको हो। समुदाय केन्द्र निर्माण भएपछि यो स्थान भाषा, संस्कृति, सामाजिक कार्यक्रम, चाडपर्व, युवा तथा जेष्ठ नागरिकका गतिविधिहरूका लागि महत्वपूर्ण केन्द्र बन्ने विश्वास आयोजकको रहेको छ।

चलचित्र माइतीघर लाई यस च्यारिटी शोका लागि चयन गर्नुको कारणबारे आयोजकले भनेका छन् कि यो चलचित्र केवल मनोरञ्जनात्मक मात्र नभई, जरा, परिवार, सम्बन्ध, संघर्ष, बिछोड र आशाका कथालाई समेटेको सशक्त सामाजिक सन्देश बोकेको चलचित्र हो। परदेशमा बसेर आफ्नो पहिचान र संस्कृति जोगाइराख्न संघर्ष गरिरहेका धेरै समुदाय सदस्यहरूको जीवनसँग चलचित्रको कथावस्तु नजिकबाट जोडिने भएकाले यसलाई च्यारिटी शोका लागि उपयुक्त मानिएको हो।

कार्यक्रम दिउँसो २:०० बजे इरभिङस्थित Bhetghat Restaurant Bar & Banquet (1800 Valley View Ln #104, Irving, TX 75061) मा आयोजना गरिनेछ। चलचित्र प्रदर्शन सुरु हुनुभन्दा अगाडि नै कार्यक्रम स्थलमै दान संकलन गरिने जानकारी पनि आयोजकले दिएका छन्। सम्पूर्ण कार्यक्रम हेर्न नसक्ने तर सहयोग गर्न चाहने समुदाय सदस्यहरूलाई पनि कार्यक्रममा उपस्थित भई दान गर्न आग्रह गरिएको छ।

तामाङ सोसाइटी अफ टेक्सासले टेक्सास तथा आसपासका राज्यहरूमा बसोबास गर्ने सम्पूर्ण तामाङ तथा नेपाली समुदायलाई परिवार, साथीभाइ सहित कार्यक्रममा सहभागी भई यो सामूहिक अभियानलाई सफल बनाउन अनुरोध गरेको छ। आयोजकका अनुसार, यस च्यारिटी शोमा सहभागिता जनाउनु भनेको केवल चलचित्र हेर्नु मात्र नभई, भविष्यका पुस्ताका लागि सुरक्षित र स्थायी समुदाय केन्द्र निर्माणतर्फको एक महत्वपूर्ण कदम हो।

कार्यक्रम सम्बन्धी थप जानकारी वा सहयोगका लागि आयोजक समितिका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिकृया दिनुहोस